१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चोरी सिकारी बढेको गुनासो

लकडाउनको अवधिमा खोटाङमा वन्यजन्तु चोरी सिकारी बढेको गुनासो आउन थालेको छ । स्थानीय सरकार, प्रशासन र प्रहरीको ध्यान कोरोना भाइरसविरुद्धको लकडाउनको पालनामा केन्द्रित भएको अवस्थामा जिल्लाका विभिन्न वनमा मृग, कालिज, मयूरलगायतका वन्यजन्तुको चोरी सिकारी बढेको सामुदायिक वन उपभोक्ताकर्मीको भनाइ छ ।  

सधैंजसो लुकिछिपी वन्यजन्तुको चोरी सिकारी हुने गरेको भए पनि लकडाउनको अवधिमा यसको मात्रा बढेको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।  

लकडाउनको अवधिमा जन्तेढुंगा गाउँपालिकाको विभिन्न स्थानमा मृग र कालिजको चोरी सिकारी बढेको भन्दै एक स्थानीय युवाले सामाजिक सञ्जालमै लेखेका थिए । यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको रुबुङ, दम्कु र नुनथलाबीचको जंगलमा हुल बाँधेर चोरी सिकारी हुने गरेको सामुदायिक वनका अभियन्ताको भनाइ छ । 

लकडाउनको अवधिमा वनपैदावार तथा वन्यजन्तुको चोरी सिकारी बढ्ने सम्भावनालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय खोटाङले गत वैशाख १५ गते सूचना जारी गर्दै वनमा प्रवेश नगर्न र अवैध क्रियाकलाप नियन्त्रणका लागि सहयोग गर्न आह्वान गरेको थियो । कतिपय जंगलमा सिकारीले दिउँसै पड्काएको बन्दुकको आवाज सुनिने गरेको महासंघका अध्यक्ष राईले बताए । रातका समयमा पनि चोरी सिकारी हुने गरेको छ ।

रातको समयमा बास बसेको कालिज र मयूरलाई बन्दुक हान्ने गरिएको स्थानीय बताउँछन् । ‘लकडाउनले मान्छे गाउँमा भेला भएका छन् । फुर्सद भएपछि टाइम पास गर्ने भन्दै वनमा जाने गरेको गुनासो आएको छ,’ अध्यक्ष राईले भने, ‘यसतर्फ पनि स्थानीय सरकार र प्रशासनले चासो दिनुपर्छ ।’  

लकडाउनको अवधिमा चोरी शिकारी बाहेक विभिन्न खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम पनि बढेको छ । तर, यस विषयमा स्थानीयले मुख खोल्दैनन् । प्रत्यक्षदर्शी समेत चोरी सिकारीका विषयमा प्रहरी वा प्रशासनलाई जानकारी दिन हच्किने गरेका छन् । चोरी सिकारी नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिया बनाइनुपर्ने सामुदायिक वनका अभियानकर्मी मोहन गुरुङले बताए ।  

लकडाउनको अवधिमा वन्यजन्तुको चोरी सिकारी भएको विषयमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण चिमोरियाले बताए । ‘बरु छिमेकी जिल्ला सोलुखुम्बुमा चोरी सिकारी भएको खबर आएको थियो,’ डिएसपी चिमोरियाले भने, ‘तर खोटाङमा चोरी सिकारी भएको भन्ने जानकारी आएको छैन ।’ 

प्रकाशित: १ जेष्ठ २०७७ १७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App