१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किरा ब्यवस्थापन गर्न जुनारको बोटमा प्रोटिनबेट

जुनार बगैचामा किरा मार्न प्रोटिनबेट विषादी छर्दै एक स्प्रकर्ता । तस्बिर अनिल/नागरिक

सिन्धुली- लकडाउनकै बीचमा सिन्धुलीका जुनारको बगैचामा वर्षौदेखि देखा परेको किरा ब्यवस्थापन गर्न प्रोटिनबेट छर्न सुरु गरिएको छ । जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गत वर्ष प्रभावकारी देखिएपछि यस वर्ष जुनारको बगैचामा प्रोटिनबेट (औषधि) छर्न सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयले जनाएको छ । 

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि मुलुक लकडाउन भइरहेकै समयमा सिन्धुलीका जुनार बगैचामा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम सुरु गरिएको हो । जिल्लाकै मुख्य नगदे बालिको रुपमा रहेको जुनारमा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले आक्रमण गर्न थालेपछि उक्त किरा नियन्त्रणका लागि जुनार बगैचामा प्रोटिन बेट छर्नका लागि स्प्रे कर्ता खटाइएको छ । जुनार तथा सुन्तलाजात फलफूलको औसा किरा व्यवस्थापनका लागि क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्र्तगत प्रोटिनबेट छर्न सुरु भएको छ, जुनार सुपरजोन कार्यालयका प्रमुख देबराज अधिकारीले भने, सुनकोसी गाउँपालिका ७ मझुवाबाट जुनारको किरा व्यवस्थापन गर्न स्प्रे सुरु भएको छ ।  

लकडाउनकै बीचमा प्रोटिनबेट खरिद गरि बगैचामा छर्न सुरु भएको हो । प्रोटिनबेट कमलामाई नगरपालिका ३ जलकन्या, गोलञ्जोर गाउँपालिका विभिन्न वडाहरुमा वितरण गरि स्प्रे गर्न सुरु भएको छ । कोरोना भाइरसका कारण बैशाखको दोस्रो साताबाटै प्रोटिनबेट स्प्रे गर्नुपर्ने भएपनि ढिलो गरि स्प्रे गर्न सुरु भएको किसान बताउछन् । किरा व्यवस्थापनका लागि स्प्रे विगतका बर्षमा बैशाखकको दोस्रो हप्ताबाटै सुरु गर्नुपर्ने भएपनि यस वर्ष ढिलो सुरु गरिएको जुनार किसान लोकबहादुर आलेले बताए । ५० प्रतिशत किसानको रकम र बाकी ५० प्रतिशत नेपाल सरकारको अनुदानमा प्रोटिनबेट खरिद गरि जुनार बगैचामा स्प्रे गरिदै आएको छ ।

क्षेत्रगत किरा नियन्त्रण कार्यक्रमको विधि अनुसार फलेका ३ बोट मध्ये १ बोटमको निश्चित ठाँउमा चिन्हो लगाई एक भागमा प्रोटिन बेटमा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन विधि अनुसार हप्ताको १ पटकका दरले जम्मा १० पटक स्प्रे गर्नुपर्ने कार्यालय प्रमुख अधिकारीले जनाए । उनका अनुसार स्प्रे गर्नका लागि जुनार बगैचामा ३० जना स्प्रेकर्ता खटाइएको छ ।

जुनारको फल कुहाउने औषा पार्ने किराको पोथी झिगाले फूल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट फल दिने जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक जहानसिंह कार्कीले बताउँछन् ।  

यो सस्तो र भरपर्दा विषादी हो, उनले भने–‘स्प्रेकर्ताले औषधि स्प्रे गरेको ठाँउमा किराहरु झुम्मिएर आउछन्, र मर्छन् । जुनारको फल लाग्ने सिजनमा किराले जुनारमा आक्रमण गर्ने र फल भित्र औषा पारेपछि फलमा गुलियो पस्दै जाँदा किराले खोक्रो पार्ने समस्या जुनारमा २०७२ सालबाटै सुरु भएको थियो । कोरोना भाइरसका कारण जुनार किसानहरु सेवा लिन कार्यालयमा आउन नपाएकाले यस वर्ष समस्या भएको किसानहरु बताउँछन् । उत्पादित कृषिजन्य सामाग्रीको बजारीकरणमा समेत समस्या भएको उनीहरुको भनाई छ ।  

 

 

 

प्रकाशित: ३० वैशाख २०७७ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App