१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

भारतसहित तेस्रो मुलुक गएका नागरिकको बिवरण तयार पार्न स्थानीय तहलाई ७ दिनको समय (अपडेट)

ताप्लेजुङ- अब ताप्लेजुङका स्थानीय तहले आ–आफ्ना पालिकाभित्रबाट रोजगार, अध्ययन, भ्रमण र उपचारसहितको कार्यका लागि भारतसहित तेस्रो मुलुक गएका नागरिकहरुको अभिलेख तयार गर्नुपर्ने भएको छ ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यहाँका सबै पालिकाहरुलाई वडासमितिमार्फत भारतसहित तेस्रो मुलुक गएका नागरिकको बिवरण तयार पारी मंगलबारका मितिले ७ दिन भित्र कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति वा जिल्ला प्रशासन कार्यालयमा पठाईदिन अनुरोध गर्ने निर्णय गरेको छ । समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनका अनुसार सम्बन्धित स्थानीय तह वा अन्य संघसंस्थाको सिफारिसमा अब सामूहिक रुपमा हुने जिल्ला प्रबेश कार्यलाई निरुत्साहित गरिने छ ।  

नेपाल सरकारले लक डाउन गरेको अवस्थामा स्थानीय तह र अन्य संघसंस्थाको सिफारिसमा सामूहिक रुपमा जिल्ला भित्र आउन चाहने नागरिकको प्रबेश कार्य तत्कालका लागि निरुत्साहित गर्ने निर्णय भएको समेत मादेनले जानकारी दिए । सरकारले रोजगार, अध्ययन, भ्रमण र उपचारसहितको कार्यका लागि भारतसहित तेस्रो मुलुक गएका नागरिकहरुलाई नेपाल भित्र्याउने तयारी गरिरहेको अवस्थामा देशभित्रका नागरिकलाई तत्काल जुन ठाउँमा रहेको हो, त्यहिँ राख्ने प्रयोजनमा यस्तो निर्णय गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

व्यवस्थापन समितिका सदस्य सचिव एमव् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अब यहाँका सबै पालिकाहरुले थप क्वारेन्टाइन स्थलको पहिचान समेत गर्नुपर्ने भएको छ । विदेशमा रहेका नागरिकहरु निकट भबिष्यमा गाउँघर फर्कने सक्ने सम्भावना भएकोले त्यो अवस्था आईहाले सरकारले तोकेको मापदण्ड अनुसारको क्वारेन्टाइन निर्माण गर्न सकिने गरी क्वारेन्टाइन स्थलको खोजी र पहिचान गरिराख्न यहाँका सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको समेत प्रजिअ निरौलाले बताए ।

यहाँ १ नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । बैठकले लकडाउनका कारण वन पैदावार ढुवानी तथा ओसारपसारका लागि लागेको प्रतिवन्ध फुकुवा गर्ने समेत निर्णय गरेको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा एवम् भौतिक दुरीसहितका मापदण्ड पालना गर्नेगरी वन पैवादार गन्तब्यसम्म ढुवानी गर्न खुल्ला गर्ने निर्णय गरेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङले काटिएका गोलिया प्रयोगविहीन हुँदा सड्ने तथा औद्योगिक कच्चा पर्दाथको अभावमा उद्योग सञ्चालनमा कठिनाई सृजना हुने भन्दै वन पैदावार ढुवानी तथा ओसारपसार खुल्ला गरिदिन कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका लिखित आग्रह गरेको थियो ।  

 

प्रकाशित: ३० वैशाख २०७७ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App