१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेरी नगरका प्रमुख घर्तीमाथि आक्रमणका आरोपित शाहीद्वारा प्रहरी समक्ष आत्मसमर्पण

जाजरकोट- गत वैशाख १३ गते  भेरी नगरपालिकाका मेयर एवम सत्तारुढ नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य सिपी घर्तीमाथि भौतिक आक्रमण गरेको आरोप लागेका राष्ट्रिय युवा संघ जाजरकोटका पूर्व संयोजक दिपेन्द्र शाहीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले मेयर आक्रमणका मुख्य आरोपित शाहीसहित चार जनाले प्रहरी सामु आत्मसमर्पण गरेको बताए । उनले शाही र उनको समूहका अन्य तीन युवाहरु विरुद्ध दर्ता भएको मुद्दाको प्रक्रिया अघि बढ्ने बताए ।

मेयर आक्रमणको घटनामा आफूमाथि झुटा आरोप लगाएर मुद्दा दर्ता गरिएको भन्दै शाहीले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न आफूले प्रहरी समक्ष स्वेच्छिक रुपमा आत्मसमर्पण गरेको बताए । नेकपाका एक नेताको मलामी गएको बेला भेरी नगरपालिका वडा नम्वर १० फेराखोलास्थित भेरी नदीको किनारमा मेयर घर्तीमाथि भौतिक आक्रमण हुँदा उनी घाइते भएका थिए । आफूमाथि आक्रमण गर्ने दिपेन्द्र शाही र उनका भाइहरु भएको मेयर घर्तीले बताएका छन् ।

घटनाबारे निष्पक्ष र सत्यतथ्य छानवीन होस भनेर प्रहरी सामु आत्मसमर्पण गरेको आरोपित शाहीको भनाइ छ । उनले  आफूलाई मेयर आक्रमणको दोषी बनाएर विधि नपुर्‍याइ संगठनबाट निस्काषण गरिनु विधान विपरीत भएको र छ सदस्यीय समितिको संयोजक चयन नियोजित भएको समेत बताए । छानवीन समितिको संयोजक कनिष्ठ व्यक्ति रहेको र संगठनको जिम्मेवार व्यक्ति र पार्टीको निर्णय अनुसार गठन हुने कुनै पनि छानवीन प्रकियालाई आफूले सहयोग गर्ने उनले बताए ।

मेयर आक्रमणको घटनामा स्थानीय युवाहरु र मेयर घर्तीका बीचमा भएको विवाद र असमझदारीका कारण झगडा भएको र त्यसमा आफूले विवाद मिलाउने काम गरेको उनले बताए । आइतबार प्रहरी सामु आत्मसमर्पण गर्नु अघि फेसवुकमा स्टाटस लेख्दै शाहीले घटनामा आफूलाई नियोजित ढंगले फसाउन लागेको उल्लेख गरेका छन् ।

उता मेयर घर्तीले भने शाहीलाई लक्षित गर्दै सामाजिक अराजकता र विभिन्न विकृतिमा संलग्न भएकाहरुले आफूमाथि नियजित रुपमा आक्रमण गरेको बताएका छन् । मेयर घर्तीलाई आक्रमण गरेको भन्दै शाही लगाएतका स्थानीय युवाहरु विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।

यसअघि आफ्नो पार्टीका नेतालाई भौतिक आक्रमण गरेको भन्दै नेकपा जाजरकोट, युवा संघ भेरी नगर समिति, नेकपा कर्णाली प्रदेश समिति र राष्ट्रिय युवा संघ केन्द्रिय समितिले आरोपित शाहीलाई कारवाहीको लागि सरकार र सम्बन्धित निकायहरुलाई आग्रह गरेका थिए । 

प्रकाशित: २८ वैशाख २०७७ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App