२ असार २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङ समाज र कपन बौद्ध गुम्बाले दिए अग्नि पीडितलाई राहत

अग्नि पीडितलाई दिईने राहत एकमुष्ट रुपमा फुङ्लिङ नगरपालिकालाई हस्तान्तरण गर्दै ताप्लेजुङ समाज नेपाल काठमाडौका पदाधिकारी । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- ताप्लेजुङका अग्नि पीडित परिवारलाई राहत स्वरुप शुक्रबार नगद तथा जिन्सी सामग्री प्रदान गरिएको छ । ताप्लेजुङ समाज नेपाल काठमाडौले नगद तथा नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले जिन्सी सामग्री प्रदान गरेका छन् । एकद्धार प्रणालीमार्फत मात्रै राहत वितरण गर्न पाइने भएकोले दुबै संस्थाले फुङ्लिङ नगरपालिकाको समन्वयमा राहत वितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

ताप्लेजुङ समाज काठमाडौले गत शुक्रबार फुङ्लिङमा भएको आगलागीका ३० पीडित परिवार र मैवाखोला गाउँपालिका वडा नं ३ साँघुका १ र आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका थप एक गरी ३२ पीडित परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको छ । समाजका महासचिव अग्नि पौडेलका अनुसार आपतकालिन राहत स्वरुप यो रकम वितरण गरिएको हो भने पीडित परिवारको दीर्घकालिन पुर्नस्थापना तथा पुर्नबासका लागि समेत समाजले योजना बनाई रहेको छ ।

समाजले बिपद् पीडित जिल्लाबासीको सहयोगका लागि कुम्भकर्ण आपतकालिन राहत कोष बनाएको छ । कोषले पीडित परिवारलाई आपतकालिन राहत स्वरुप सबै पीडित परिवारलाई एउटै दरको राहत सहयोग गरेको र पछि पुर्नस्थापना तथा पुर्नवासका लागि क्षतिको आधारमा सहयोग गर्ने कोष संयोजक युवराज गुरुङले जानकारी दिए । यस्तै नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले पीडित ३२ घर परिवारलाई भाडा वर्तन, लत्ताकपडा र खाद्य सामग्री वितरण गरेको छ ।

केन्द्रका अभियन्ता भिक्षु थुप्तेन जिग्डोल लामाका अनुसार केन्द्रमार्फत प्रति परिवार डबल बेडको डसना १ थान, चाईनिज सिरक १ थान, डबल बेडको तन्ना १ थान, २–२ वटा सिरानी, ३ लिटरको प्रेशर कुकर १ थान, कराई, डाडु, पन्यु र कित्ली १–१ थान तथा ३० किलोग्रामको जुनेली चामल १–१ बोरा वितरण गरिएको छ ।

अग्नि पीडित परिवारको परार्मश तथा फुङ्लिङ नगरपालिका र जिल्ला बिपद् व्यवस्थापन समितिको अनुरोधमा पीडितहरुको तात्कालिक आवश्यकताको आधारमा जिन्सी सामग्री वितरण गरिएको नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौको तर्फबाट स्थानीय रुपमा संयोजन गर्ने दावा शेर्पाले जानकारी दिए । यसअघि जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले आगलागी पीडितहरुलाई जिन्सी सहयोग गर्नेहरुले उनीहरुको परार्मश र तात्कालिक आवश्यकताको आधारमा सहयोग गर्नुपर्ने निश्कर्ष समत निकालेको थियो ।

प्रकाशित: २६ वैशाख २०७७ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App