१९ मंसिर २०७९ सोमबार
समाज

अध्ययन/अध्यापन पद्धतिको विज्ञान

पढ्नु/पढाउनु, सिक्नु/सिकाउनु मानव सभ्यतासँग जोडिएको विषय हो। बालक जन्मेदेखि नै हरेक क्षण केही न केही सिकिरहेको हुन्छ भने हामी उसलाई केही न केही सिकाइरहेका हुन्छौँ। सिक्ने विषय र सिकाउने प्रविधिमा भने धेरै उतारचढाव आएको पाइन्छ। पढेर कहिल्यै पनि सकिन्न भन्ने विश्वास बनिसकेको छ। तर पनि हामी सिक्न र सिकाउन तड्पिरहेका हुन्छौँ। बालकहरू बिहानैदेखि गरुङ्गा झोला बोकेर दौडिरहेका हुन्छन् भने अभिभावक र शिक्षकहरू सकेसम्म नयाँनयाँ विषय सिकाएर बच्चा र विद्यार्थीलाई जान्ने बनाउन उत्सुक हुन्छौँ। 

सिक्ने विषय के हो ? यो जिज्ञासा स्वयंमा अमूर्त र अस्पष्ट छ। सिकेर कुनै पनि विषयकोृ टुङ्गोमा पुग्न सकिन्न भन्ने जग जाहेर हुँदाहुँदै पनि शिक्षक र अभिभावक धेरै सिकाउन व्यग्र देखिन्छन् भने विद्यार्थीहरू उनीहरूकै निर्देशन मानेर गरुङ्गा झोला बोकी ज्ञान–सागर तर्ने अन्तहीन यात्रामा जुटेका हुन्छन्। ‘कसले कति सिकाउन सक्छ र कसले कति सिक्न सक्छ’ को अस्वस्थ प्रतिस्पर्धामा सिङ्गो शिक्षा क्षेत्र उत्रने गरेको यथार्थ अहिलेको संसारको शिक्षण परिपाटीले देखाएको छ। तर अल्बर्ट आइन्स्टाइन जस्ता विश्वविख्यात शिक्षाविद् एवं वैज्ञानिक भन्छन्– म कहिल्यै पनि विद्यार्थीलाई सिकाउँदिन तर विद्यार्थीले सिक्ने वातावरण बनाइदिन सधैँ प्रयास गर्छु। 

स्कुल/कलेजका डिग्री र ज्ञानार्जन नितान्त भिन्न विषय हुन्। तर हाम्रो समाजमा त्यसलाई एकाकार गर्ने ढंगबाट यी दुई भिन्न विषयलाई बुझिने गरेको छ। कुनै एउटा विद्यार्थी वा एउटै पुस्तकले पनि संसारमा नयाँ प्रणाली र गतिदिन सक्ने भएकाले उपाधि र ज्ञानका विषयमा अस्पष्टता रहने गरेको बुझिन्छ। इतिहास अध्ययन गर्ने र केलाउने हो भने प्राच्यशिक्षा परम्परामा गुरु केन्द्रित प्रणाली प्रमुख भएको पाइन्छ। ब्रह्मचर्यमा रहेर गुरुको सान्निध्यवा गुरुकूलमा बसेका विद्यार्थीहरू गुरु केन्द्रित (टिचर सेन्टर्ड) अध्ययन प्रणालीमा आबद्ध हुन्थे। ‘गुरुर्बह्मा गुरुर्विष्णुु’ को आदर्श अवलम्बन गर्ने त्यो प्रणालीमा गुरु र गुरुकोे शिक्षण अभ्यासभन्दा बाहिर जाने सम्भावना हुँदैनथ्यो। अनुशासन, विद्याको गहिराइ, नीति र नैतिकताको आर्जन, गुरु समाज र अभिभावक प्रतिको श्रद्धा त्यसबेलाका शिक्षाका देन वा उपलब्धि थिए। 

भारतमा अंग्रेजको शासन हुँदा बेलायतको र सदपानीमा भारतीय शिक्षा प्रणाली बुझ्न आएका मेकालेले दक्षिण एसियामा पश्चिमी शिक्षाको वीजारोपण गरे। त्यसबेला बेलायतको साम्राज्य लगभग विश्वव्यापी नै थियो। सूर्यास्त नहुने देश भनेर बेलायतलाई बुझिन्थ्यो। त्यसबेलाको विश्वव्यापी पकडलाई बेलायतले अंग्रेजी शिक्षा प्रणालीमा लर्ड मेकाले जस्ता इमान्दार अनुयायीका माध्यमबाट फैलाउन सफल भयो। फलतः भारत (अहिलेको पाकिस्तान, बङ्गलादेश, म्यान्मार, भुटान, श्रीलंका) भर बेलायतमा बोलिने अंग्रेजी भाषाको प्रचार तीव्र भयो। एकातिर औरङ्गजेव लगायतका मुसलमान सनातन वैदिक हिन्दुशास्त्रका कट्टर विरोधी थिए भने अर्कातिर बेलायती अंंग्रेजी शिक्षण प्रविधिको व्यापकता बढ्दो थियो। 

त्यत्ति नै समय र विषय पढाउने अंग्रेजी शिक्षकले पाउने पारिश्रमिकको एक चौथाइपनि भारतीय संंस्कृति र संस्कृत पढाउने गुरुले पाउँदैनथे। नयाँ रोजगारी दिनुपर्दा पनि अंग्रेजी पढेकालाई ग्राह्यता दिने गरेकाले प्राचीन संस्कृत र सांस्कृतिक गुरुकूलीय पठनपाठन प्रणालीमा राम्रोसँग धक्का लाग्यो। पूर्वीय दर्शन र सनातन हिन्दुशास्त्रलाई उछित्तो खन्ने मुसलमानहरूको समेत आड पाएकाले भारतका प्रचलित गुरुकूलीय संस्कृत अध्ययन/अध्यापनमा अवरोध सिर्जना भयोे। संस्कृतका पुस्तक जलाउने, संस्कृत पठनपाठन गर्नेहरूलाई तिरस्कृत गर्ने, उनीहरूको आजीविका नै बन्द गरिदिने जस्ता औपनिवेशिक धर्महरू फैलिएपछि र रोजगारीमा प्रभाव पर्न थालेपछि गुरुकूलीय गुरुकेन्द्रित पठनपाठन पद्धतिमा बादल लाग्न थाल्यो।

गुरु केन्द्रित अवस्थाको अनुशासन, नैतिकता, मर्यादा, विश्वासलाई विद्यार्थी केन्द्रित प्रणालीबाट भोग्नुपरेका अविश्वास, हत्या, कुण्ठा, अनुशासनहीनताले आत्मसात गरेका विषयलाई भने ज्ञान र शिक्षाका विज्ञहरूले जरैदेखि बुझेर उचित कदम चालिहाल्नु आवश्यक भएको छ।

 
त्यसैबेलादेखि गुरुकेन्द्रित प्रणालीबाट विद्यार्थी केन्द्रित अध्ययन प्रणालीबारे वकालत हुनथाल्यो। ज्ञान स्वस्फूर्त हुन्छ, विद्यागुरुले दिने भएपनि ज्ञान विद्यार्थीले नै लिने भएकाले प्रणालीको छनोटको अधिकार विद्यार्थीलाई नै दिनुपर्ने तर्क अघि सार्न थालियो। ‘निम्न क्षमताका शिक्षक गफ गर्छ, असल शिक्षकले बताउँछ, त्यो भन्दा योग्य शिक्षकले ज्ञान प्रदर्शन गर्छ र सबैभन्दा उत्कृष्ट शिक्षकले विद्याआर्जनको निमित्त प्रोत्साहित गर्छ’ भन्ने विद्वान् अर्थर वार्डको भनाइअनुसार असल शिक्षकले अध्ययनको वातावरण सम्भव बनाइदिन्छ तर शिक्षा विषयक छनोटका वस्तुहरू विषयवस्तु, प्रणाली, घण्टा, विद्यालय, शिक्षक आदिको निर्णय विद्यार्थीले नै गर्छन् भन्ने पद्धतिको स्थापना गरियो। ग्यालिलियोले भन्नुभएअनुसार ‘कसैलाई पनि केही सिकाउन सकिँदैन तर गुरुले विद्यार्थीमा रहेको क्षमता उजागर मात्र गरिदिन्छन्।’त्यही सोच, प्रणाली र पद्धतिले गर्दा गुरुकेन्द्रित अध्ययन/अध्यापन विद्यार्थी केन्द्रित मागएर अडियो। 

विद्या, शिक्षा र ज्ञानका बीचमा सामीप्य र पृथकता धेरै छन्। शिक्षा प्रणाली गुरुकेन्द्रित र विद्यार्थीकेन्द्रित कुन ठीक हो भन्ने बहसको पनि लामो इतिहास छ। आधुनिक गुरुकेन्द्रित प्रणालीबाट विद्यार्थीकेन्द्रित प्रणाली शिक्षामा अवलम्बन गरिँदै आएको विषयलाई आधुनिक शास्त्रीय मतबाट हेर्नेहो भने ह्युमेन रिसोर्स डेभलपमेन्टमा उपयोग गरिएका म्याचिङ मोडेलले समयको माग र आवश्यकताअनुसार वस्तु (जनशक्ति वा अन्य) उत्पादन हुन्छ भन्छ भने हर्वर्ड मोडेलकाअनुसार वस्तु उपयोग गर्नेको मागअनुसार उत्पादन अघि बढाउनुपर्छ। शिक्षा पद्धति छनोटमा पनि यो सिद्धान्त लागु हुँदैन भन्न सकिँदैन। यद्यपि विद्यालय, शिक्षक र ज्ञानका बीचमा निकै ठूलो भिन्नता छ। विद्यालय शिक्षाले रोजगारी, आयआर्जन, परिवार पालन, आर्थिक सम्प्रभुताजस्ता विषयलाई लक्षित गरेको हुन्छ भने मानवीय ज्ञानले मानवीय मूल्य, मान्यता, संस्कार, आचरण, आचार, व्यवहारलाई लक्ष्य गरेको हुन्छ।

भौतिक जगतकालागि विद्यालय शिक्षाबाट पाइने उपलब्धि धेरै नै महत्वपूर्ण हुन्छ तरपनि समग्र मानवत्वको विकासमा मानवीय ज्ञानको भूमिका बढी ओजिलो हुन्छ। ‘ज्ञानीले गरेर देखाउने कुरालाई विद्यार्थीले शिक्षाको माध्यमबाट ग्रहण गर्छ’ भन्ने अरिस्टोटलको भनाइले पनि ज्ञानको गहिराइलाई विद्यालय शिक्षाको सतही ज्वारभाटाले भेट्टाउन सक्तैन भन्ने स्पष्ट पार्छ। यद्यपि ज्ञान र विद्या एकअर्कामा आबद्ध हुन्छन्। ज्ञान वा शिक्षाआर्जनको अर्को पाटो माध्यम पनि हो। श्रुति परम्परामा गुरुले उच्चारण गरेका शब्द, लय, ध्वनिहरू विद्यार्थीले लिन सक्नुपथ्र्यो। ह्रस्व वा दीर्घ उच्चारण गरेर अर्थ फरक पर्ने विषयलाई राम्ररी बुझ्नुपथ्र्यो। त्यो पद्धति नै पछि चित्रलेखन, संकेत प्रणालीका रूपमा विकसित भए। ताल, स्वर, हातमुख गोडाको संकेतका माध्यमबाट शिक्षा दिने र लिने हुन थाल्यो। पछि त्यो प्रणाली पनि भित्ते लेखन, थामवाद लिनमा लेख्ने हुँदै ब्ल्याकबोर्ड, ह्वाइट बोर्ड आदिमा अवतरित भयो।

त्यसैका विकसित रूप रंगीन कलम र रंगीन चित्र हुँदै मल्टी कलरका रूपमा फैलियो। त्यसपछि कम्प्युटर युग आयो। चिप्स्,पावर प्वाइन्ट, एक्सेल, फोटो अदिका माध्यमबाट विद्याको विनिमय हुनथाल्यो। विद्यादानको ठाउँ ‘कमाउँ र फाइदालिउँ’ ले ओगट्यो। विद्यार्थीकेन्द्रित पद्धतिको अवलम्बनले जरो गाडेपछि अध्यापन पद्धतिमा पनि पृथकता अनुभव हुन थाल्यो। विद्यार्थीलाई पढाउनु भन्दा गराउनु, देखाउनु, लगाउनु, जिम्मेवार बनाउनुतिर पाठन प्रणाली केन्द्रित हुनथाल्यो। सिर्जनात्मक सिकाइ, श्रव्यदृश्य, बौद्धिक कसरत, अतिरिक्त कक्षा र कक्षाबाहिरका सिकाइ, भूमिका, खेल पढाइमा उत्प्रेरणाको वातावरणजस्ता शिक्षण विधिहरू विकसित हुन थाले। ती विधिपनि सहभागिता, प्रदर्शन, रिसाइटेसन, स्मरण वा यिनीहरूकै एक अर्काबीचको समायोजन जस्ता तरिकाबाट प्रयोगमा ल्याउन थालियो। 

जे भएपनि विद्यार्थीले सिक्ने र शिक्षकले सिकाउने कुरामा द्विविधा छैन। तर सिक्ने र सिकाउने प्रणालीमा भने श्रुति परम्पराको युगदेखि कम्प्युटर युगसम्म आइपुग्दा निकै नै भिन्नता महसुस भइसकेको छ। फलतः गुरुकेन्द्रित सिकाइ र विद्यार्थी केन्द्रित सिकाइका पक्षविपक्षहरू सतहमा छर्लङ्ग छन्। गुरुकेन्द्रित अवस्थाको अनुशासन, नैतिकता, मर्यादा, विश्वासलाई विद्यार्थी केन्द्रित प्रणालीबाट भोग्नुपरेका अविश्वास, हत्या, कुण्ठा, अनुशासन हीनताले आत्मसात गरेका विषयलाई भने ज्ञान र शिक्षाका विज्ञहरूले जरैदेखि बुझेर उचित कदम चालिहाल्नु आवश्यक भएको छ। 

प्रकाशित: २६ वैशाख २०७७ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App