जनकपुरधाम - लामो समयदेखि व्यापक भ्रष्टाचार भइरहेको आरोप लागेको जनकपुरस्थित विश्वप्रसिद्ध जानकी मन्दिरमा करोडौं रकम हिनामिना भएको मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताएका छन् । मन्दिरको आर्थिक कारोबार सम्हाल्दै आएका रामरोशन दास वैष्णवले विगत दुई वर्षदेखि स्थानीय तथा सरकारी निकायबाट करोडौं रकम मागेर हिनामिना गरेको उनले आरोप लगाएका हुन् ।
स्वघोषित उत्तराधिकारी महन्त बताउने रामरोशन दास वैष्णवले रामजानकी विवाह महोत्सव र जानकी (राम) नवमीमा जबरजस्ती करोडौं रकम मागेर हिनामिना गरेको मन्दिरका महन्त दासको आरोप छ । मंंगलबार एक रेडियोमा अन्तर्वार्ता दिने क्रममा मन्दिरमा करोडौं रकम हिनामिना भएको बताएपछि जनकपुरमा यो विषयले व्यापक चर्चा पाएको हो । महन्त दासका नातामा आफ्नै भान्जासमेत पर्ने रामरोशन दासलाई अनुमति लिएर मात्र कुनै काम गर्ने अधिकार दिए पनि धाकधम्की दिँदै जबरजस्ती उनले सरकारी तथा गैरसरकारी निकायबाट पैसा मागेको उनले नागरिकसँगको कुराकानीमा बताए ।
‘मलाई त उनले कोसँग कति पैसा लिन्छन्, त्यसको कुनै जानकारी नै छैन । हिसाबकिताब पनि दिन मानेका छैनन् । तर अब दिन लागेको पैसा रोक्का गर्न संस्कृति, पर्यटन मन्त्रालय, गुठी संस्थान, प्रदेश सरकार र बृहत्तर जनकपुर क्षेत्रलाई लिखित पत्र लेखेको छु,’ उनले भने, ‘यसअघि चार÷पाँच वर्ष पहिले पनि मलाई धम्की दिएपछि उनलाई स्थानीय अगुवा र प्रशासनले भारत भगाइदिएका थिए । तर फेरि यस्तो हर्कत दोह-याउँदै आएका छन् ।’
जानकी नवमी र विवाह पञ्चमीमा पैसा असुली गर्नकै लागि समिति बनाएर बैंकमा खाता सञ्चालन गरी संस्कृति, पर्यटन मन्त्रालय, गुठी संस्थान, प्रदेश सरकार र बृहत्तर जनकपुर क्षेत्र विकास परीक्षद्सँग करोडौं रूपैयाँ असुलेको महन्त दासको आरोप छ ।
‘करोडौं श्रद्धालुको आस्थाको केन्द्र र धर्मको मूलमै धर्मनाशीको प्रवेश भएको छ । पूजा बन्द गरेर केही दिनअघि गेट बन्द गरी केटी नचाइरहेका थिए । त्यसमा दुई तीन जना पत्रकारसमेत थिए,’ महन्त दासले थपे ।
रोशनले पैसाको लोभमा जानकी मन्दिरलाई राजनीतिको अखाडा बनाएको महन्त दासको भनाइ छ । महन्थ दासले विवाहपञ्चमीमा कुनै भिभिआइपीलाई बोलाउँदासमेत आफूलाई पूर्वजानकारी नरहेको बताए । महन्त दासका अनुसार २०७५ र २०७६ मा आयोजना भएको रामजानकी विवाह महोत्सवमा लागेको सबै खर्च जानकी मन्दिरप्रति विशेष आस्था राख्ने भारतका व्यवसायी पवन चौधरीले ब्यहोरेका थिए ।
अघिल्लो वर्ष तामझाम बढी रहेको हुँदा भारतीय रूपैयाँ एक करोड १० लाख र पछिल्लो वर्ष करिब एक करोड ब्यहोरेको कुरा व्यवसायी पवन चौधरीले फोनमा महन्तसँग स्वीकारेका छन् । महन्त र चौधरीको फोन वार्ताको भिडियोसमेत अहिले सार्वजनिक भइसकेको छ । विवाह महोत्सव भव्य बनाउन प्रदेश २ सरकारले पनि जानकी मन्दिरलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
प्रदेश सरकार गठनपछि पहिलोपटक आयोजित विवाह महोत्सव २०७५ र दोस्रोपटक २०७६ मा गरी डेढ करोड रूपैयाँ औपचारिक रूपमै जानकी मन्दिरका नाममा निकासा भएको थियो । तर प्रदेश सरकारबाट प्राप्त उक्त रकम वास्तवमा विवाह महोत्सवमा खर्च नभएको महन्त दासको दाबी छ । तर बारम्बार रकम हिनामिना भइरहेको कुरा बाहिरिए पनि महन्त दासले भागबन्डा नमिलेपछि मात्र बोल्न थालेको स्थानीयको भनाइ छ । यो विषयमा रोशन वैष्णवसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
गुठी संस्थान जनकपुर शाखाका प्रमुख वैकुण्ठ रेग्मीले जानकी मन्दिरले अहिलेसम्म हिसाबकिताबको प्रतिवेदन गुठीलाई नबुझाएको बताए । ‘दुई–तीन पटक प्रतिवेदन बुझाउन ताकेदा गरिसकें । पत्रसमेत लेखें तर अहिलेसम्म प्रतिवेदन पाएको छैन,’ उनले भने । उनका अनुसार मन्दिरले हरेक वर्षको आय–व्ययसम्बन्धी लेखापरीक्षण गरी गुठी संस्थानको कार्यालयमा एकप्रति बुझाउनुपर्ने भए पनि मन्दिरले हालसम्म यस्तो कुनै प्रतिवेदन बुझाएको छैन ।
प्रकाशित: २६ वैशाख २०७७ ०४:१५ शुक्रबार