३ असार २०८१ सोमबार
image/svg+xml
समाज

मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न अदालतको आदेश

जुम्ला- भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिने नागरिकलाई क्वारेन्टाइनमा राख्न मापदण्ड हुबहु लागू गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आदेश दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित जुम्लाको एक नगरपालिका, सात गाउँपालिका, सहायक प्रमुख जिल्ला अधिकारी, संयोजक, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समिति जुम्लालाई अदालतले मापदण्ड अनुसार नै क्वारेन्टाइनको व्यवस्थापन गर्न आदेश दिइएको हो । मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थित नभएको, उद्धार गरिएको नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा नराखिएको लगायतका विषयमा अदालतमा अधिवक्ता पदमबहादुर शाहीले रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइ गर्दै बरिष्ठ न्यायाधीश रत्नबहादुर बाक्चनले कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन स्थापना, सञ्चालन तथा व्यवसथापन गर्न बनेको मापदण्ड, २०७६ पूर्णरुपमा पालना हुनेगरी क्वारेन्टाइन स्थापना र व्यवस्था गर्नु भनि अन्तरिम आदेश दिएका हन । ‘मौजुदा लकडाउनको अवस्थामा देश तथा विदेशबाट जुम्ला जिल्लामा भित्रिएका नागरिकको स्पष्ट अभिलेख खडा गर्नुपर्ने, जिल्लामा भित्रिएका नागरिकहरु घर फर्किएपछि परिवार र समाजमा घुलमिल भएर रहेबसेको अवस्था भए, निजहरुको सम्पर्कमा आएका अन्य नागरिकहरुको समेत स्वास्थ्य परीक्षण गरी आवश्यकता र औचित्यका आधारमा क्वारेन्टाइन वा आइसोलेसनमा राखी प्रभावकारी अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने अदालतको आदेशमा भनिएको छ ।

क्वारेन्टाइनमा उपलब्ध गराइने सेवाको गुणस्तरका सम्बन्धमा मापदण्ड, २०७६ प्रति पूर्ण सचेतता, जवाफदेहिता र अनुगमन गर्नुपर्ने जिम्मेवारीको पूर्णरुपमा पालना गर्नु पर्ने आदेशमा उल्लेख गरिएको छ । साथै मौजुदा कोभिड १९ को संक्रमण महामारीको पृष्ठभूमिमा वितरण गरिने राहत, संचालन गरिने उद्धार कार्य तथा क्वारेन्टाइन स्थापना, सञ्चालन र व्यवस्थापनमा गरिने खर्च प्रणाली बारेको सूचनामा जनसाधारणको सहज पहुँच पुग्ने गरी पारदर्शिताको पद्धति अवलम्वन गर्न पनि अदालतले आदेश दिइएको हो ।

अदालतको आदेशमा भनिएको छ,‘निवेदनमा माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने कुनै कारण र आधार भए, सोको सबुद प्रमाणसमेत संलग्न राखी बाटाका म्याद बाहेक १५ दिनभित्र कानुन बमोजिम लिखित जवाफ पेश गर्नू भनी विपक्षको नाममा म्याद जारी भएको  छ ।’ जुम्लामा निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार नभएको, नियतिम स्वास्थ्यकर्मीको निगरानी नहुने गरेका र क्वारेन्टाइनमा बसेकाहरुलाइ अपहेलना गर्ने गरेको गुनासो स्थानीयको थियो ।

प्रकाशित: २४ वैशाख २०७७ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App