१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नदी कटानले सीमास्तम्भ जोखिममा

नदी कटान। तस्विरः योगेश रावल

टीकापुर - यतिबेला नदीले तिब्र कटानी गरिहेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तिब्र कटानी गरिरहेको छ। 

टीकापुर नगरपालिका–८ श्रीलंकामा तिब्र कटानी भैरहेको छ। नदी कटानले सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरु समेत जोखिममा छन। ७०१÷१ नम्बरको सहायक सीमास्तम्भ नदीमा बग्न थोरै मात्र बाँकी छ। सीमा स्तम्भ रहेको ठाउँबाट झण्डै दुई मिटरको दूरीमा नदी पुगिसकेको छ। 

‘यो सीमास्तम्भ कुनैपनि बेला नदीले बगाउने निश्चित छ’ टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले भने–‘हामीले चाहेर पनि जोगाउने अवस्था नै छैन।’

नेपालतर्फको थुप्रै भुभाग नदीले बगाइसकेको छ। अहिले नदी बगिरहेको ठाउँमा कुनैबेला मानव बस्ती थियो।

यो नदी कुनैबेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो। स्थानीयका अनुसार २०४० सालमा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको थियो। सोही वर्ष कैलालीका थुप्रै गाउँ नदीले बगायो। तिनै गाउँहरु अहिले बगर बनेका छन्। 

अहिलेसम्म टीकापुर नगरपालिका भित्रका ४ मुख्य र १० सहायक सीमास्तम्भ नदीले बगाएको छ। ती मध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको हो। सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टका अनुसार नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी छ। 

नगरपालिका भित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ बेपत्ता छन। त्यस्तै सहायक सीमास्तम्भहरु ७०२/२ देखी ७०२÷७ सम्म, ७०४/३, ७०४/४, ७०४/६ र ७०५/३  समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ। ती मध्ये धेरैजसो सीमास्तम्भ पुर्ननिर्माणको समस्या भैरहेको छ। ‘सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ’ सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भने–‘कुन ठाउँमा पुर्ननिर्माण गर्ने भन्ने नै अन्यौल छ।’

सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता तथा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने डा. रणबहादुर रावल लगायतको टोलीले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको अवस्थाका बारेमा जानकारी लिएको छ। नदी कटानले थुप्रै सीमास्तम्भ गुमाउनु परेको डा. रावलले बताए। उनले यस बारेमा सम्बन्धित ठाउँमा कुरा पु-याउने प्रतिवद्धता व्यक्त गरे। 

‘हाम्रो मात्रै पहलले सम्भव छैन। यो दुई देशको समस्या हो’ उनले भने–‘यस बारेमा सम्बन्धित ठाउँमा कुरा पु-याउछु।’

कैलालीका मुख्य गरी टीकापुर र धनगढीका दुई ठाउँमा सीमा विवाद देखिएको छ। कैलालीमा जम्मा २८२ सीमास्तम्भ छन। ती मध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं. ४ का टीम लिडर सुदर्शन धामीले जानकारी दिए। उनका अनुसार ती मध्ये कतिपय सीमास्तम्भहरु नदी कटानका कारण बेपत्ता छन।

प्रकाशित: २३ वैशाख २०७७ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App