coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्राकृतिक सुन्दरताभित्र पहिलोपल्ट सवारी

वारेकोट पुगेका गाडीहरू । तस्बिर : नागरिक

जाजरकोट, - जाजरकोट जिल्लामा सबैभन्दा बढी प्राकृतिक स्रोत–साधन, सुन्दरता र सम्पदा भएको वारेकोट गाउँपालिकामा गाडी पुगेको छ । जिल्लाका सात स्थानीय तहमध्ये सबैभन्दा पछि सडक सञ्जालसँग जोडिएको वारेकोट विकास र समृद्धिका लागि निकै सम्भावना भएको गाउँपालिका हो । 

चैत ११ गते खाद्यान्न, औषधिलगायत सामग्रीसहित एउटा ट्र्याक्टर र यात्रु बोकेका दुईवटा जिप वारेकोटको केन्द्र लिम्सामा पुगेपछि वारेकाट सडक यातायात सञ्जालसँग औपचारिक रूपमा जोडिएको हो ।

त्यसअघि सदरमुकाम  खलंगाबाट तीन दिन हिँडेर पुग्नुपर्ने वारेकोटमा मंगलबार जिल्लाका जनप्रतिनिधि, पत्रकार तथा स्थानीय सरोकारवालाहरू गाडी चढेर कोरोना संक्रमण रोक्न वारेकोट गाउँपालिकाले गरेको तयारीबारे अनुगमन गर्न लिम्सा पुगेपछि स्थानीय रमाए । सदरमुकाम जाँदासमेत हिँड्नुको विकल्प नभएका वारेकोटवासी अब भने नियमित गाडी चढ्न पाउने आशाले दंग परेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताए । 

जिल्लाको सबैभन्दा सुन्दर अनि रमणीय क्षेत्र मानिने वारेकोट गाउँपालिकाको केन्द्र लिम्सासम्म गाडी पुगेपछि जाजरकोटका सबै स्थानीय तह सडक सञ्जालसँग जोडिएका हुन् । भौगोलिक विकटता, गरिबी र निरन्तर खाद्य संकट बेहोरिरहेको वारेकोट गाउँपालिकामा सडक पहुँच हुनु विकास र समृद्धिमा एउटा अवसर भएको स्थानीयको प्रतिक्रिया छ । 

२०६४ साल असोज ३० गते सरदरमुकाम खलंगामा गाडी पुगेको थियो । त्यसको १३ वर्षपछि सुन्दर वारेकोटमा पनि गाडी पुगेको छ । जैविक विविधताको विशिष्ट उपस्थिति रहेको वारेकोट हरियाली सुन्दरता र हिमालहरूका कारणले मात्र नभई विभिन्न बहुमूल्य खानी, सामाजिक तथा सांस्कृतिक विविधता, दुर्लभ जन्तु अनि चराहरूको वासस्थान भएका कारण महत्वपूर्ण छ । 

सदरमुकाम खलंगाबाट उत्तर ७५ किलोमिटरको दुरीमा रहेको वारेकोट गाउँपालिका सडक सञ्जालसँग जोडिएपछि यहाँको समग्र विकास र समृद्धिका लागि अवसरको ढोका खुलेको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए । वारेकोटी जनताको निकै लामो पर्खाइ, त्याग र संघर्षका कारण सडकको पहुँच पुगेको भन्दै प्रमुख रावलले अब सडकको पहुँचलाई वारेकोटको विकास र समृद्धिका लागि सदुपयोग गर्न आवश्यक रहेको बताए । 

वारेकोटमा सवारीसाधन पुगेको खुसी अस्थायी हुन नहुने वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखवहादुर सिंहले बताए । उनले वारेकोटको पर्यटन, विद्युत्, स्वास्थ्य सेवा, व्यापार क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पुग्नुका साथै महँगी नियन्त्रणमा सडक पहुँचले सहयोग गर्ने अपेक्षा रहेको बताए । 

वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले वारेकोटमा सडक पु-याउन हालसम्म साढे चार करोडभन्दा बढी रकम खर्च भएको बताए । उनले वारेकोट जिल्लाको मात्र नभई देशकै महत्वपूर्ण क्षेत्र भएकोले सडकको पहुँचले विकास र समृद्धिका केही अवसर र सम्भावनाहरूलाई सतहमा ल्याउन सहयोग गर्ने बताए । 

वारेकोटमा पाइने दुर्लभ रेडपान्डा, बहुमूल्य जडीबुटी, फलाम खानी, दुर्लभ चिरकालिज, सुन गिद्ध, सेतो गिद्धलगायत चराहरूको संरक्षण तथा पर्यटकीय उद्देश्यले प्रचार–प्रसार गर्ने गाउँपालिकाको योजना छ ।

तीन दिनको पैदल यात्रा केही घण्टामा छोट्टिएपछि वारेकोट सेरोफेरोका पर्यटकीयस्थल साइक्वारी, ठाकुरजी, च्याखुरे पाटन, सिर्पाचौर उपत्यकामा पर्यटकीय गतिविधि बढ्ने र त्यसले वारेकोटमा समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App