१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ज्वरो र उदयपुरदेखि डराउँदै निजी अस्पताल

तस्बिरः चुमन/नागरिक

मोरङ- नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गर्दा सबै क्षेत्रमा त्यसको ठूलो असर परेको छ । लकडाउनका कारण आर्थिक क्षेत्रमा ठूलै क्षति भए पनि मानवीय कुरा औषधिको हो, त्यस क्षेत्र झन् ठूलो समस्या सिर्जना हुन थालेको छ ।

नेपालको सबैभन्दा बढी संक्रमित भेटिएको जिल्ला प्रदेश १ को उदयपुर हो । प्रदेशको राजधानी विराटनगर र अर्को ठूलो अस्पतालको रूपमा रहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । तर, विडम्बना उदयपुरमा कोरोना भाइरसको बिरामी भेटिएसँगै विराटनगर र धरानका सबै अस्पतालका डाक्टर त्यहाँको नाम सुन्ने बित्तिकै डराउन थालेका छन् । त्यस कारण पछिल्लो समय बिरामी उदयपुरबाट आएको सुन्नासाथ विभिन्न अस्पतालले बिरामी उपचार गर्ने कार्यमा लापारबाही गर्नुका साथै भर्ना लिन छाडेका छन् । कोरोना भाइरसका लागि उदयपुरको भुल्के केन्द्र बिन्दु देखापरेसँगै उदयपुरवासीलाई उपचार गर्न सकस हुन थालेको छ ।

विराटनगरका अस्पतालमा ज्वरो आएर जचाउन जाने र उदयपुरबाट विभिन्न समस्या परेका आएका बिरामीलाई कोरोनाको शंका गर्दै डाक्टरले नहेर्दा बिरामीको मृत्युसमेत भएको छ ।

बिहीरबार साँझमा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सुनसरी देवानगञ्ज–१ का २७ वर्षीय रविन्द्र यादवको उपचार हुन नसक्दा मृत्यु भयो । आइतबार विष सेवन गरेपछि विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा बुधबकार साँझ आइसियुसहित भेन्टिलेटर राख्नुपर्ने  र यहाँ नभएपछि रेफर ग¥यो । उसलाई एक सय डिग्री ज्वरो आएकैले गर्दा नोबेल टिचिङ अस्पतालले भर्ना लिएन ।

पुनः कोसी अस्पताल लगे पनि भर्ना लिन मानेनन् र घर लगे । रविन्द्रका बुवा जोगीलाल यादवले पुनः बिहीबार विराटनगरको ग्रीनक्रस अस्पताल, न्यूरो अस्पताल, लाइफगार्ड र गोल्डेन अस्पतालहरूले पनि १ सय डिग्रीमाथि ज्वरो भएकाले भर्ना नलिएको बताए । केही नभएपछि धरान लगे पनि सुरुमा भर्ना लिएन र अन्तिम अवस्था भर्ना लिए पनि समयमा उपचार हुन नसक्दा मृत्यु भयो ।

त्यस्तै उदयपुर बेलका नगरपालिका–४ की ५२ वर्षीया रत्नमाया तिम्सिना वैशाख १४ गते पुट दुखेर विराटनगरस्थित विराटनगर अस्पताल प्रालि (विराट नर्सिङ होम) उपचार गर्न आइन् । तर, तिम्सिनालाई आकस्मिक कक्षका  चिकित्सले भना नलिइ गेटबाटै फर्काइदिए । ‘उदयपुरबाट ल्याएको भनेपछि करिब १ घन्टा बाहिरी गेटमा रोक्यो,’ छोरा उमेशले भने, ‘त्यसपछि बल्ल आकस्मिक कक्षको गेटमा पुग्यौं, त्यहाँका चिकित्सकले पहिला कोसी अस्पतालबाट कोरोना भए नभएको रिपोर्ट लिएर आएपछि मात्रै भर्ना गर्ने भन्दै फर्काइ दिए ।’ उनीहरूले त्यसपछि कोसी अस्पताल लगेर उपचार गराए ।  

त्यसैगरी उदयपुरको बेलका नगरपालिका–५ की १६ वर्षीया समीक्षा मगर पनि यस्तै नियतीको भागिदार हुँदै दृष्टी गुमाएकी छिन् । वैशाख १२ गते खेतमा सिमल तरुल खन्ने क्रममा दाहिने आँखामा चोट लाग्यो । चोट लागेको राति खासै दुःख दिएन । भोलीपल्ट मगरको आँखामा समस्या भएपछि बुबा दलबहादुरले नजिकै रामपुर ठोक्सिला स्वास्थ्य चौकीमा लगे । त्यहाँ चिकित्सकले आँखाको नानीमा चोट भएकाले धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान भने । आँखामा दुखाइ बढ्दै जाँदा शरीरमा तापक्रम बढ्यो । आँखाको उपचार गर्न बिपी पुगेको बिरामीलाई चिकित्सकहरूले कोरोनाको शंकास्दपमा तीन दिन आइसोलेसनमा राख्यो ।

आइसोलेसनमा बस्दा सीमित औषधि प्रयोग गर्दा आँखाको राम्रो र समयमा उपचार हुन सकेन । ३ दिन आइसोलेसनमा बसेपछि समीक्षाको कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यसपछि बिपीले आँखाको नानीमा समस्या जनाउँदै विराटनगरस्थित विराटनगर आँखा अस्पताल लैजान भन्यो । बिपीले १८ गते डिस्चार्ज दियो । थप उपचारका लागि विराटनगर आए पनि आँखामा नराम्ररी चोट लागेको कारण दृष्टि गुमिसकेको अस्पतालले जनाएको छ ।

त्यस्तै विराटनगरको नोबेल टिचिङ अस्पतालले पनि बुधबार प्रसुतिका लागि अप्रेशन गर्न तयारी गर्दै गर्दा चिकित्सकले उदयपुरको ठेगाना देख्नसाथ उपचार नगरी रेफर गरेका छन् । अस्पतालले बिरामीको पुर्जीमा ‘रेफर टु कोसी जोन हस्पिटल बिकाउज पेसेन्ट फ्रम उदयपुर’ लेखेर कोसी अस्पताल पठायो । मंगलबार प्रसुतिका लागि अस्पतालमा भर्ना भएकी उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटकी २९ वर्षीया सरस्वती रौनियारलाई शल्यक्रियाका क्रममा थिएटरबाट निकालिएको पीडितका भाइ मनोहरप्रसाद रौनियारले बताए ।

उनले भने, ‘नोबेलले उदयपुरबाट आएकै कारण अन्तिम समयमा उपचार नै नगरी फर्काइदियो ।’ नोबेलमा उपचार गर्न नमानेपछि उनलाई कोसी अस्पतालमा लगियो र त्यहाँ उनले दोस्रो सन्तानका रूपमा छोरोलाई जन्मदिइन् । मनोहरले भने, ‘यसरी हामीलाई अप्रेसन कक्षबाट निकालिएको विषयमा मानव अधिकार आयोग र मोरङका सिडियोलाई भनेका छौं ।’ नोबेल अस्पतालले मातृ शिशु कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । यसरी अहिले निजी अस्पतालले बहाना देखाउँदै बिरामीलाई उपचारबाट बञ्चित गरेको देखिएको छ ।

 

प्रकाशित: १९ वैशाख २०७७ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App