१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमापारि अलपत्र नेपालीको उद्वार

सीमापारि रहेका नेपालीहरुलाई झुलाघाटबाट स्वदेश फर्कदै । तस्बिरः बिरा/नागरिक

बैतडी- एक महिनादेखि भारत भुलाघाटको क्वारेन्टाइनमा बस्दै आएका पुर्चौडी नगरपालिका–३ का भरत पार्की घर फर्कन पाउँदा खुसीको सीमा नै थिएन । बिसु पर्व घरपरिवारसँग मनाउने इच्छाले घर आउँदै गर्दा लकडाउनले सीमामै अलपत्र परेका थिए । उनी मात्र होइन झुलाघाट पिथौरागढका विभिन्न ठाउँमा करिब दुई हजार भन्दा बढी नेपाली थिए ।

भारतका विभिन्न ठाउँमा मजदुरी गर्दे आएका उनीहरु सीमानाका बन्द भएपछि सीमामै रोकिएका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढन थालेपछि सीमानाका बन्द हुँदा मजदुरीको लागि भारत पसेका धेरै नेपाली अलपत्र परेका हुन् ।

बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उद्धार सुरु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु लामो समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाई भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले उद्धार गर्ने निर्णय गरेको थियो । ‘गृहमन्त्रालयबाट पनि मौखिक निर्देशन प्राप्त भएको छ,’ प्रजिअ पौडेलले भने, ‘भारतीय प्रशासन र हामीबीच पनि अनौपचारिक सहमति भएर मजदुरहरुलाई स्वदेश फर्काएका हौं । एकदिनका लागि मात्रै सीमामा फसेका मजदुरहरुलाई स्वदेश फर्काउन खुला गरिएको हो ।’

भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट एक हजार १४ जना नेपाली भित्रिएका छन् । बैतडीका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने गरी पठाइनेछ भने डडेल्धुरा र बझाङका नागरिकलाई पनि सम्बन्धित जिल्लामा पठाइनेछ । अन्य जिल्लाका नागरिकहरुलाई बैतडीमै क्वारेन्टाइनमा राखिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

सीमा नाका समान्य ज्वरो चेक गरेर नागरिकहरुलाई स्वदेश फर्काइएको हो । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि आरडीटी गरेर रिपोट नेगेटिभ आएमात्रै घर पठाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

घर फर्कने आसमा लामो समयदेखि भारतीय क्वारेन्टाइनमा बसेकाहरुले स्वदेश फर्कन बारम्बार आग्रह गरिरहेका थिए । छिटो उद्धार गर्न माग गर्दै जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा दबाव दिँदै आएका थिए । क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो । केही दिन पहिलेदेखि बैतडी र बझाङका स्थानीय तहका जनप्रतिनिधिहरु नै आफ्ना नागरिकहरुको उद्धार गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै दबाब दिइरहेका थिए ।

आफूहरुलाई विदेशी भूमिमा धेरै समस्या भएको र स्वदेश फर्काउने निर्णयले खुसी तुल्याएको बझाङको बुङ्गल नगरपालिका–११ का  विरेन्द्र बोहराले बताए । गाउँमा खेतीपातीको समय समेत सुरु भइसकेकाले आफूहरुलाई घर फर्काउने निर्णयले साह्रै खुसी तुल्याएको डिलासैनी गाउँपालिका–३ का रमेशराम वडले बताए । सीमापारि अलपत्र परेका बैतडी, दार्चुला, बझाङ, बाजुरा, डडेल्धुरा लगायत जिल्लाका रहेका छन् ।


                                             

 

प्रकाशित: १८ वैशाख २०७७ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App