१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

क्वारेन्टाइनमै जन्मियो बच्चा

सुर्खेत - सुर्खेतको पञ्चपुरी नगरपालिकाले सञ्चालन गरिरहेको क्वारेन्टाइनमा रहेकी एक महिलाले छोरालाई जन्म दिएकी छन्। तीन दिनदेखि पञ्चपुरीको विद्यापुर क्याम्पसमा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोरालाई जन्म दिएकी हुन्।

‘सुत्केरी व्यथा लागेपछि हामीले सालकोट क्वारेन्टाइनबाट सालकोट स्वास्थ्य चौकी पु-याएका थियौं,’ पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले भने, ‘रातिनै कमलाले साढे तीन किलो तौलको छोरालाई जन्म दिइन्।’ अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ।

पञ्चपुरी नगरपालिका–६ छाप्रेकी कमला श्रीमानसँगै चितवनमा ठेलामा मःमः बनाएर विक्री गर्ने काम गर्थिन्। ‘लकडाउन लम्बिँदै गएकाले चितवनमा खानकै समस्या भयो,’ कमलाले भनिन्, ‘जोखिम मोलेरै प्रहरीको सहयोगमा काठमाडौंबाट आएको बस चढेर सुर्खेत पुगेका थियौं।’

चितवन हुँदै वीरेन्द्रनगरबाट आइतबार राति कमला र उनका श्रीमान पञ्चपुरी पुगेका थिए। नगरप्रमुख थापाले कमलालाई अव होम क्वारेन्टाइमा राखिने बताए। ‘सुत्केरीलाई क्वारेन्टाइमा राख्दा स्याहार गर्न समस्या हुने भएकाले होमक्वारेन्टाइमा राख्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘क्वारेन्टाइमा बच्चा जन्मिएकाले आमा र बच्चाको पोषणको जिम्मेवारी हामीले लिन्छौं।’

प्रकाशित: १६ वैशाख २०७७ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App