coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संक्रमणले त्रास, संक्रमित १२ को अवस्था सामान्य

विराटनगर - प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ संक्रमितको स्वास्थ्य अवस्था शनिबार साँझसम्म सामान्य छ । तर यो संक्रमणले तनावको आकार भने बढाएको छ। 

प्रदेश १ मा लामो समयदेखि बसिरहेका ११  भारतीयसहित १२ जनामा शुक्रबार संक्रमण पुष्टि भएपछि तनावको पारो उच्च भएको छ। १२ जनामा एक नेपाली छन्। उदयपुरको मस्जिदमा बसेका ती १२ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ मात्र होइन, प्रदेशका अन्य १३ जिल्लामा पनि त्रास फैलिएको छ। प्रदेश सरकारले भने संक्रमितको उपचार प्रबन्ध र परीक्षणमा कुनै कसर नराख्ने भन्दै नआत्तिन सबैलाई अपिल गरेको छ। 

 प्रदेश सरकारले  परीक्षण दर उच्च बनाउने, सीमा क्षेत्रमा सुरक्षा कसिलो पार्ने र अस्पतालहरुलाई उच्च तयारी अवस्थामा राख्ने योजना बनाएर तत्काल कार्यान्वयन गरिने जनाएको छ। ‘यी सबै काम तत्कालै तीव्र रुपमा हुनेछ’, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रवक्ता हिक्मत कार्कीले भने, ‘संक्रमितको उपचार र सम्भावित जोखिममा रहेकाको परीक्षणमा कुनै कसर बाँकी राखिने छैन।’ 

अघिल्लो दिनसम्म ‘सरकारको सतर्कताले कोरोना संक्रमण छेकेको’ दाबी गरिरहेको प्रदेश १ सरकारका लागि शुक्रबारको खबर अनपेक्षित मात्र नभई  अलि अत्याउने खालको भयो। उदयपुर त्रियुगा नगरपालिका– ३ स्थित झुल्के मस्जिदमा बसिरहेका ११ भारतीयससहित १२ जनामा एकैपटक कोरोना संक्रमण देखिएपछि त्यसले प्रदेशसँगै  संघीय सरकार तनावको पारो बढायो।

संक्रमितहरु विराटनगर, सुनसरी, सप्तरीलगायतका क्षेत्रमा चक्कर लगाउँदै र केही साता बिताउँदै उदयपुर पुगेका थिए। ‘एकैपटक धेरैजनामा संक्रमण देखिनु हाम्रा लागि अनपेक्षित थियो’, आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले भने, ‘तर त्यति अत्याउने खालको होइन। किनकी हामी उपचारका लागि तयारी अवस्थामा थियौं, छौं। तयारी र सतर्कता चुस्त र उच्च् छ।’ 

संक्रमित भारतीयका कारण  अरुमा पनिसंक्रमण फैलिएको हुनसक्ने शंकाले सरकार, स्वास्थ्यकर्मी सबैको तनाव बढाएको छ। शंका निवारण गर्न शनिबार उदयपुरको भुल्के क्षेत्र सिल गरेर स्थानीयको नमुना संकलन सुरु गर्न थालिएको छ। नमुना संकलन र परीक्षण तीव्र बनाउने योजना सरकारको छ। 

प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ जनाको कोरोना परीक्षण भएको छ। दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पिसिआर विधिबाट यो संख्यामा परीक्षण भएको हो।  सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ जनाको नमूना परीक्षण भएको छ। यो विधिबाट परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको छ। शनिबार सुनसरीको हरिनगरामा परीक्षण गर्दा एक  पुरुषमा पोजेटिभ आएको हो। बाँकी दुईजनाको पिसिआर विधिबाट गरिने परीक्षणमा नेगेटिभ देखिइसकेको छ। पिसिआर विधिबाट गरिएका ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ। 

 ‘अब परीक्षण दरलाई उच्च बनाउने तयारीमा हामी लागेका छौं’, मन्त्री कार्कीले भने, ‘यसबाहेक अस्पतालहरुमा बेड थप्ने, अन्य अस्पताल तयार गर्ने काम पनि थालिनेछ।’ उनका अनुसार अहिले संक्रमितलाई विराटनगरमा निर्मित कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ। तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेड तयार पारिनेछ।

संक्रमित अरु थप भए मेची अस्पताल तथा अन्य अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भएको मन्त्री कार्कीले बताए। 
प्रदेश १ जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार विराटनगरमा आइसोलेसन कक्षमा राखिएका १२ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

‘उहाँहरुमा कुनै पनि समस्या वा लक्षण देखिएको छैन’, मेहताले भने, ‘८० प्रतिशतमा नदेखिन पनि सक्छ। तर उहाँहरुबाट अरुमा सरेको छ कि भन्ने चिन्ता अहिलेका लागि मुख्य हो। हामीले उदयपुरलगायत स्थानमा नमुना संकलन र परीक्षणलाई तीव्रता दिएका छौं।’ 

 

प्रकाशित: ७ वैशाख २०७७ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App