१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसान सहर, व्यस्त गाउँ

लकडाउनमा गहुँ भित्र्याउने काममा जुटेका पिपल्ला गाउँको एक किसान परिवार । तस्बिरः अरूण/नागरिक

डोटी- सयौँ गाडीमोटर, हजारौँ हतारिदैं हिड्ने बटुवाहरु। व्यस्त पसले र तीव्र गतीको समयले बाँधिएका ग्राहकहरु ! तीन साताअघिसम्म यहि दृश्य दिपायलस्थित पिपला बजारको दैनिकी थियो। अहिले त्यो दैनिकी एकाएक गायब भएको छ। सडकमा आक्कल–झुक्कल मान्छे निस्कन्छन्। ती पनि एकैछिनमा हराईहाल्छन्। सडकमा एकाध प्रहरीहरु बुट बजार्दै हिड्छन्।

बजारको ठ्याक्कै बिपरित क्षेत्रमा फराकिला खेतहरुमा छन्। जहाँ किसानहरुलाई पाकेर पहेँलै भएको गहुँ भित्र्याउन हतार छ। ‘केही दिन ढिलो मात्रै भए गहुँ सबै खेतमै झर्छ,’ गहुँ काटिरहेकी किसान कुमारी वड भन्छिन्,‘लकडाउनका कारण आफै परिवार मात्रै मिलेर काम गरिरहेका छौ।’

किसानहरुका अनुसार कोभिड–१९ कै डरले परम्परादेिख चलिआएको अर्म–पर्म बन्देज छ।

विश्वव्यापी फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को त्रासले किसानहरुलाई पनि अछुतो भने राखेको छैन। ‘संसार डराईरहेको छ। हामीलाई किन नलाग्नु ?,’ दिपायलका नैन कठायत भन्छन्,‘प्रायः घरमा छ्याप्छ्याप्ती भारतबाट आएकाहरु छन्। उनीहरुबाट सबै सावधानी अपनाउदै गहुँ संकलन गरिरहेका छौ।’

किसानहरुका अनुसार कोभिड–१९ कै डरले परम्परादेखि चलिआएको अर्म–पर्म बन्देज छ। संक्रमणबाट जोगिन अन्य परिवारजनसंग सामाजिक दुरी कायम गर्ने उद्देश्यले अधिकांश किसानहरु तत्काललाई अर्मपर्म थाँती राखेर आफ्नो काम आफै गरिरहेका छन्। ‘जो सकिन्छ आफै परिवार मिलेर गरिहेका छौ। अरुलाई बोलाईरहेका छैनौ,’ पिपल्ला गाउँकी किसान वडले भनीन्।

जिल्लाका किसानहरुका यी प्रतिनिधिमूलक कथा हुन्। कोभिड–१९ महामारीमा विश्व बजार ठप्प भएका बेला किसानहरुलाई अवश्य असर गरेको छ। तर उनीहरुको दैनिकीमा भने धेरै फरक पारेको छैन। ‘हाम्रा लागि त यो, एकबाली भित्र्याउने र अर्को बाली लाउने सिजन हो,’ बोगटान फुड्सिल गाउँपालिका–७ का किसान भक्तबहादुर विष्टले भने,‘यतिबेला हामीले आफ्नो कर्म पूरा नगरे। कोरोनाले त खै ! तर भोकमरीले मर्छौ।’

अहिले जिल्लाका लगभग सबै ठाउँमा लगइएको हिउँदेबाली समेट्ने क्रम चलिरहेको छ। यसका साथसाथै जिल्लाका धेरैजसो ठाउँका किसानहरु धानको बीउँका व्याड समेत राख्न थालेका छन्। जेठमै रोपाईँ हुने खेतहरुमा चैत्रको तेस्रो सातादेखि यहाँ बीउँका ब्याड राख्ने प्रचलन छ।

सरकारले लकडाउनको आह्वान गर्दा आफूहरुले सक्दो सावधानी अपनाएर कार्यान्वयन गरिरहेको किसानहरुको तर्क छ। ‘हामी परिवारबाहेकको मान्छेको सम्पर्कमा नगएर वा आवश्यक सावधानी अपनाएर लकडाउनको पालना गरिरहेका छौ,’ बडीकेदार गाउँपालिका–५ का किसान दीपेन्द्र बोहराले भने,‘खेतीपातीका काम रोक्न त कसरी सकिन्छ?’

किसानहरुको कामलाई नरोक्न र किसानहरुलाई आवश्यक सावधानीसहित कामगर्न सुदूरपश्चिम कृषि निर्देशनालय दिपायलले आह्वान गरेको निर्देशक यज्ञराज जोशीले बताए। उनले भने,‘किसानहरुले नियमित काम गर्न पाउछन्/पाईरहेकै छन्। आवश्यक सावधानी भने अपनाउन आग्रह गर्दछु।’

उनका अनुसार प्रदेशका सबैजसो जिल्लाहरुमा अहिले हिउँदेबाली संकलनमा किसानहरु जोडतोडले लागेका छन्। हिउँदेबालीमा यस प्रदेशमा मुख्यगरी तीन बालीहरु गहुँ, तोरी र मसुरो बढी उत्पादन हुन्छ। ‘हिउँदेबाली संकलनको मुख्य समय नै यही हो,’ निर्देशक जोशीले भने,‘यसबाहेक पहाडका उच्च क्षेत्रमा धानखेती गर्ने किसानहरु जो जेठमा खेत रोपिसक्छन्। उनीहरुका लागि पनि यो समय निकै महत्वपूर्ण हुन्छ।’  

 

प्रकाशित: ६ वैशाख २०७७ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App