coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विदेशमा ६५ शव अलपत्र, व्यवस्थापन गर्न कठिन

काठमाडौं - रोजगारीका लागि विदेश पुगेका ६५ नेपालीको शव विभिन्न स्थानमा अलपत्र परेका छन्। अधिकांश गन्तव्य मुलुक र नेपालमा समेत तीन सातादेखि जारी लकडाउनका कारण विदेशमा मृत्यु भएकाको शव ल्याउन कठिन भएको हो। वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको शव घरसम्म पुर्‍याउने काम वैदेशिक रोजगार बोर्डले गर्दै आएको छ। 

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले लकडाउनपछि र लकडाउन सुरु हुनु डेढ/दुई साता अघिसम्म मृत्यु भएका गरी विदेशबाट ६५ शव झिकाउन समस्या परेको बताए। ‘कतिपयको लकडाउनअघि मृत्यु भए पनि शव घर ल्याउने प्रक्रिया चल्दाचल्दै रोकिन पुगे,’ उनले भने, ‘लकडाउनपछि त सबैतिर समस्या नै भइहाल्यो।’ रोजगारीका लागि विदेशमा गएकाको उतै निधन भए पनि शव घरसम्म नपुगेपछि कतिपयले सरकारको आलोचना गर्न थालेका छन्। सरकारले चाहने हो भने हवाई जहाज चार्टर गरेर पनि शव घरसम्म पुग्ने भन्दै आलोचना गरिरहेका हुन्।एक महिनाअघि साउदी अरेबियामा ज्यान गुमाएका एक व्यक्तिका आफन्तले नाम सार्वजनिक नगर्ने सर्तमा सरकारको आवश्यकता यस्तै संकटका बेला पर्ने भए पनि अहिले नेपाल सरकारको भूमिका सन्तोषजनक नभएको गुनासो गरे।

संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्ने ४० वर्षीया एक महिलाबाहेक सबै कोरोनाबाट नभई अन्य कारणले निधन भएका हुन्।
 

‘पहिलो कुरा त फटाफट प्रक्रिया अघि बढाएको भए लकडाउनअघि नै दाइको शव घर आइपुग्ने थियो,’ उनले भने, ‘एकातिर समयमा काम नगर्ने र अर्कोतर्फ संकटमा सहयोगी भूमिका निर्वाह गर्ने व्यवहारमा अझै सुधार भएको देखिएन।’ बोर्डका अनुसार यस अवधिमा सबभन्दा बढी शव साउदीमा रोकिएका छन्। कोरोना भाइरसको त्रासका कारण साउदीमा २६ शव रोकिएका छन्। ‘साउदीबाट विगतदेखि नै शव ल्याउन ढिलाइ हुने गरेकाले यति धेरै संख्या पुगेको हो,’ श्रेष्ठले भने। धेरै शव रोकिएका अन्य मुलुकमा मलेसियामा १५, संयुक्त अरब इमिरेट्समा ११ तथा कतारमा आठ छन्। एक/दुई शव भने धेरै गन्तव्य मुलुकमा छन्। श्रेष्ठले सेसेल्स र दक्षिण कोरियामा निधन भएका एक/एक व्यक्तिको शव घरपरिवारको सहमति लिएर उतै अन्तिम संस्कार गरिएको बताए। अन्य मुलुकमा ज्यान गुमाएका व्यक्तिका शव पनि बोर्डले तिनै मुलुकमा नै अन्तिम संस्कार गर्ने योजना बनाएको उनको भनाइ छ।

‘अहिलेको परिस्थितिमा ठूलो संख्यामा रहेका शव झिकाउन सकिन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘त्यसैले कल सेन्टरमार्फत सम्बन्धित व्यक्तिको घरपरिवारसँग सम्पर्क गरी उतै अन्तिम संस्कार गर्ने सहमति मागेको छौं। अहिलेसम्म त्यस्तो सहमति प्राप्त गरिसकेका छैनौं।’ परिवारले गन्तव्य मुलुकमै दाहसंस्कार गर्ने सहमति दिए पनि कठिन हुने कतिपय सरकारी अधिकारी नै बताउँछन्। अधिकांश गन्तव्य मुलुकको ध्यान कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्नेमा केन्द्रित रहेकाले नेपालीको शव कसले व्यवस्थापन गरिदेला भन्ने आंशका रहेको उनीहरूको भनाइ छ। ती शवमध्ये संयुक्त अरब इमिरेट्सको दुबईमा ४० वर्षीया एक महिलाबाहेक सबै कोरोनाबाट नभई अन्य कारणले निधन भएका हुन्। दुबईमा काम गर्ने रुपन्देहीकी ती महिलाको कोरोना भाइरसका कारण निधन भएको हो। कोरोना भाइरसका कारण दुबईमा एकजना सहित अमेरिकामा पाँच र बेलायतमा आठ नेपालीको निधन भएको छ। 

बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाको मात्र शव घरसम्म पुर्‍याउने गर्छ। वैदेशिक रोजगारी सुरक्षित नहुँदा दैनिक दुईजना हाराहारीमा नेपालीले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाको निधन हुँदा बोर्डले परिवारलाई सात लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ। त्यस्तै म्यादी जीवन बिमा गरेका मृतकका परिवारले १५ लाख रुपैयाँसम्म बिमा कम्पनीबाट रकम पाउँछन्। वैदेशिक रोजगारीमा जानेको अनिवार्य रूपमा म्यादी जीवन बिमा गर्ने गरिन्छ। कोरोना भाइरसको संक्रमण फैलनुअघि हरेक महिना ४० देखि ५० हजार युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने गर्थे। यीमध्ये ९० प्रतिशतको गन्तव्य खाडी मुलुक मलेसिया हुने गरेको छ। कोरोना भाइरसको संक्रमणपछि खाडी मुलुक र मलेसिया लकडाउनमा छन्। जसले गर्दा लाखौं नेपालीसहित ठूलो संख्याका आप्रवासी समस्यामा छन्। 

प्रकाशित: ३ वैशाख २०७७ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App