८ वैशाख २०८१ शनिबार
समाज

वर्षमा एक दिन मात्रै फुल्ने सुनाखरीः यसपटक पनि फुल्यो तर हेर्न कोही आएनन्

सलहेश फूलवारीमा फुलेको माला आकृत सुनाखरी फूल। तस्विरःमिथिलेश यादव/नागरिक

लहान – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फक्रिने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। कौतुहलताका साथ साताअघि नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट हजारौ आगन्तुक आउने त्यो फूल यस वर्ष पनि फुलेको छ। तर, हेर्न अगन्तुक आएका छैनन्। सुनसान फूलबारीमा फूल आगन्तुक टोलाउँदै फक्रिरहेको छ। 

यस वर्ष कोरोनाको महामारीका कारण नेपाल तथा छिमेकी मुलुक भारतमा लकडाउन छ।जसका कारण फूल हेर्न र मेला भर्न कोही आउने छैनन्। जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगर प्रमुखलाई बोलाएर यसपाली सलहेश फूलवारी मेला रोक्न लिखित निर्णय गरेको छ।
 नयाँ वर्षको दिन सलहेश फूलवारीमा लाग्ने फूलवारी मेला, बैशाख २ गत्ते लक्ष्मीपुर पत्तारी गाउँपालकामा लाग्ने पतारी मेला, पकडीया गढ मेला, बालासुन्दरी मेला रोक्न सम्बन्धित पालिकाका प्रमुखहरुले लिखित निर्णय गरेको छ। 

सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा प्राण त्यागी फूल बनेकी थिइन्। छैटौँ–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फक्रिनु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय हो। 

सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने हारमको रुख कसरी यतिका दिनसम्म बाँचिरहेका छन्। यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ। 

लहान नरपालिका ११ पडरियादेखि दक्षिणमा रहको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फक्रिने गर्दछन्। मालिनीको मन्दिर टाँसिएकै दक्षिणमा रहेको हारमको विशाल रुखको बीच भागमा पलाउने फूल वैशाख १ बिहान फक्रिने र साँझपख स्वतः मौलाएर जाने घटना आश्चर्य र कौतुहलको विषय बनेको छ। 

लोकगाथाका नायक सलहेशको बिवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो। आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन्।

 

सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रुखमा देखापर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन्। फूलवारीमा फुल्ने मालाआकृत फूल जसलाई हेर्न देश र छिमेकि मुलुकबाट हजारौ दर्शनार्थी आउने गर्दछन्। यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ। भनिन्छ, सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे। 

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएको छ। यस फूलबारीभित्र रहेको हारमको रुखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ। भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रुखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष यो फूलबारीमा विवाह हुँदै आएको पुजारी जितेन्द्र धामीले बताए। 

धामीकाअनुसार यस वर्ष पहिलो पटक मेला रोकिएको हो। हामी पुजारीहरु पुजा गर्छौ उनले भने,‘परिस्थितीवस श्रधालुहरु आउन पाउदैनन्।’

पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा सलहेश फूलबारीलाई समावेश गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सलहेश फूलवारी पनि परेको छ।

 

प्रकाशित: २९ चैत्र २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App