७ वैशाख २०८१ शुक्रबार
समाज

विदेशका नेपालीमा कोरोना संक्रमण बढ्दै

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नेपालीमा कोरोना संक्रमण हुने क्रम बढेको छ। स्थानीय बासिन्दाको तुलनामा नेपालीहरू कम संक्रमित भए पनि केही दिनयता संख्या बढ्दो क्रममा रहेको विभिन्न मुलुकमा रहेका नेपाली राजदूताबासहरूले जनाएका छन्। हालसम्म कोरोना भाइरसबाट अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्समा एक नेपालीको निधन भएको छ। सोमबार रुपन्देही, देवहकी ४० वर्षीया एक महिनाको दुबईमा निधन भएको हो। 

युएईस्थित नेपाली राजदूतावासका अनुसार कोरोना भाइरसबाट संक्रमित नेपाली श्रमिकको संख्या ११ पुगेको छ। जसमध्ये दुईजना निको भएर अस्पतालबाट फर्किसकेको र अन्यको उपचार भइरहेको छ। कोरोनाबाट मृत्यु भएकी ४० वर्षीया महिला १० वर्षदेखि युएईमा घरेलु कामदारको रूपमा रहेको बताइएको छ। कोरोनाले महामारीको रूप लिएपछि धेरै नेपाली श्रमिक रहेका लगायत विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको  छ। उता, बहराइनमा बुधबारसम्ममा १२ नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित भएका छन्। 

श्रमस्वीकृति जारी भएको आधारमा रोजगारीका लागि सबभन्दा बढी रहेको मुलुक मलेसियामा रहेका नेपाली पनि कोरोनाको उच्च जोखिममा रहेको त्यहाँ काम गर्नेहरूले बताएका छन्। मलेसियामा हाल साढे चार लाख हाराहारी नेपाली रहेको बताइन्छ।‘मलेसियाका काम गर्ने नेपालीहरू पनि उच्च जोखिममा छन्,’ रोजगारीका लागि डेढ वर्षदेखि मलेसियामा रहेका रुकुम, खाराका महेशकुमार ओलीले भने। मलेसियामा अहिलेसम्म नेपाली संक्रमित भएको जानकारी नभएको उनले बताए।पछिल्लो तथ्यांक अनुसार मलेसिया र खाडी मुलुकको तुलनामा अमेरिका र युरोपमा रहेका नेपाली कोरोना भाइरसबाट बढी संक्रमित छन्। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विदेशमा रहेका नेपालीलाई समस्या परे राजदूतावासको सहयोग लिन आग्रह गरे। ‘ठूलो संख्यामा नेपाली रहेका मुलुकमा भयानक तरिकाले नेपाली प्रभावित भएका छैनन्,’ उनले भने, ‘अधिकांश गन्तव्य मुलुकले श्रमिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको खबर छ।’ लकडाउनको बेला अधिकांश रोजगारदाताले श्रमिकलाई नियमित रूपमा पारिश्रमिक र बस्ने, खानेको व्यवस्था मिलाइरहेको बताइएको छ। युएईका युवराज शेख मोहम्मद विन जायेद अल नायन नेपालीलाई युएईका नागरिकसरह व्यवहार र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन कुराकानीका क्रममा युवराजले प्रतिबद्धतता जनाएको ट्विटमार्फत जानकारी दिएका छन्। 

कोरोनाले हालसम्म युएईमा ११ जनाको मृत्यु भएको छ भने दुई हजार बढी संक्रमित छन्। रोजगारीका लागि युएईमा करिब तीन लाख ५२ हजार नेपाली रहेको अनुमान छ।

प्रकाशित: २७ चैत्र २०७६ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App