८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंबाट हिँडेरै रौतहट

रौतहट - रौतहटका बूढापाकाहरु भन्छन्, ‘हामी त हिँडेरै नेपाल पुगेका छौँ र हिँडेरै घरसम्म आएका पनि छौँ। जाँदा चार दिन र फर्किदा चार दिन लाग्थ्यो।’

देश लकडाउन भएपछि काठमाडौँमा अलपत्र परेका श्रमिकहरु दशकौं पुरानो युगमा झैं काठमाडौँबाट हिँडेरै रौतहट फकिएका छन्। एक हप्तामा सयौँ श्रमिकहरु यसरी विभिन्न बाटो भएर पैदलै आफ्नो घरसम्म आइपुगेका हुन्।

काभ्रेमा घर बनाउने ठाउँमा श्रमिकको काम गर्ने बाराको आदर्श कोतबालका केही श्रमिकहरु कठिन यात्रा गरेर घर फर्केका छन्। लकडाउनमा घर बनाउने काम बन्द भएर मूल ठेकेदार आफ्नो घर हिँडेपछि बर्दीबाससम्म एउटा गाडीमा आएर त्यहाँबाट तीन दिन पैदलै हिँडेर चन्द्रपुरसम्म आइपुगेका छन्। सातजनाको समूहमा रहेका श्रमिकहरुले बाटोमा मुख्य गरी चाउचाउ खाएर आफूलाई बचाएको बताउँछन्।

काठमाडाैंबाट हिँडेपछि कतै कुनै सबारी साधन पाइहाल्यो भने मागेजति भाडा तिर्ने अथवा जति सकिन्छ बाटो कटाउने बाहेक कुनै विकल्प हुँदैन। दैनिक ज्यालामा काम गर्ने श्रमिकहरुले काम नपाउनु र भाडाको एउटा कोठामा हप्तौँ बस्न सम्भव नभएकोले चार पाँच दिन दुःख गरेर हिँड्दा घरसम्म पुग्न सकिन्छ भन्ने आँटले सयौ मजदुर दिनहुँ काठमाडौँ, पोखरा, विराटनगरलगायतका सहरबाट गाउँतिर पलायन भइरहेका छन्। 

रौतहटको ईशनाथ नगरपालिका ७ का हरिन्द्र साह कानु, महमद थारु, शेख जुमनसहितको पाँचजनाको समूह काठमाडौँबाट हिँडेको चार दिन भइसक्यो। काठमाडौँमा श्रम गर्ने सातैजनालाई काम दिने ठेकेदार काम बन्द गरी हिँडेपछि अलपत्र भएर बस्न नसक्दा पैदलै घरतिर हिँडेका हुन्। चार दिनको पैदल मार्चपछि बुधबार अबेरसम्म भए पनि घर पुग्ने आशा सबैमा रहेको छ।

रौतहटकै फतुवा विजयपुरका चारजना श्रमिकहरु पनि बिराटनगरबाट पैदलै आइपुगेका छन् चौथो दिन। विराटनगरमा उनीहरुले काम गर्ने उद्योग बन्द भएपछि एउटा कोठाको डेरामा बसिरहन मुस्किल भएकोले विराटनगरबाट पैदलै घरतिर हिँडेका उनीहरु पहिलो दिन विराटनगरबाट इटहरीसम्म आउँदा त्यहाँ एउटा तरकारी बोक्ने गाडीले कोसी पुलसम्म पु-याइदिएको थियो। कोसी पुलबाट पैदलै हिँडेर तीन दिनमा चन्द्रपुर आइपुगेका चारैजनालाई बुधवार साँझसम्म घर पुग्न सकिने विश्वास छ।

बाटोमा चाउचाउ नै मुख्य भोजन हुने गरेको पैदलै हिँडेका श्रमिकहरु बताउँछन्। बाटोमा पानी पाइन्छ, बस्ने तथा सुत्ने ठाउँ पनि पाइने गरेको तर खानेकुराको अभावमा भने चाउचाउको भरमात्र रहेको पैदल यात्रामा रहेका श्रमिकहरुको भनाइ छ।

बाटोमा हिँडेपछि कहाँ सुत्ने र कहाँ बस्ने भन्ने कुनै ठेगान नहुने र आफूले बोकेको झोलालाई नै सिरानी बनाएर सुत्ने गरेको बाराका श्रमिकहरुले बताएका छन्।

प्रकाशित: १९ चैत्र २०७६ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App