खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडडाउन’का कारण ज्यालादारी काम गर्न नपाउँदा समस्यामा परेका १७ कामदारलाई नगरपालिकाले खाद्यान्न प्रदान गरेको हो।
दिक्तेलबजारमा मजदुरीका काम गरेर जीवन निर्वाह गरिरहेका मजदुरलाई आईतबार नगरपालिकाकातर्फबाट नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले जनही १० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ लिटर तेल प्रदान गरेका हुन्।
केही दिनअघि मात्र दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम गरिरहेका उदयपुर र पथरीका १९ कामदारलाई १५ दिन पुग्ने खाद्यान्न प्रदान गरेको नगरपालिकाले पुःन बजार क्षेत्रमा मजदुरी काम गरेर परिवार पालिरहेका कामदारलाई खाद्यान्न उपलव्ध गराएको हो। काम गर्न नपाउँदा जीवन निर्वाहमै समस्या पर्न थालेकाले ‘लोक कल्याणकारी नीति’ अनुसार ‘लकडाउन’को मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरिएको नगरपालिकाले जनाएको छ। ‘लकडाउन’का कारण काम गर्न नपाउँदा जिल्लाका ज्यालादारी मजदुरलाई बिहान बेलुकाको छाक टार्न समेत समस्या परिरहेको छ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तरुण दलको खाजा

दरुण दलका नेताले दिप्रुङ चुईचुम्मा गाउँपालिकाका बिभिन्न स्थानका हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सोमबार खाजा उपलव्ध गराएको छ।
तरुण दलका जिल्ला सचिव कविन राई र क्षेत्रीय सभापति सुरेश राईको नेतृत्वमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको राटामाटा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको रमाईलो र रेग्मीटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको बर्मीमा खटिएका स्वास्थ्यकर्मी र प्रहरीलाई खाजा स्वरुप चाउचाउ, बिस्कुट र ड्यू प्रदान गरिएको हो। उनीहरुले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्यचौकीमा निर्माण गरिएको क्वारेन्टीनमा बसिरहेका पाँच स्थानीयलाई पनि खाजा प्रदान गरेका छन्।
प्रकाशित: १७ चैत्र २०७६ ०७:१८ सोमबार





