३ आश्विन २०७७ शनिबार
समाज

डर के हो र किन आवश्यक छ ?

काठमाडौं-कोरोनाबाट एकजना संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि मंगलबारदेखि सरकारले एक सातालामो लकडाउनको घोषणा गरिसकेको छ र यो रोगको महामारी रोक्न सर्वसाधारणलाई घर भित्रै बस्न र सुरक्षित रहन अनुरोध गरेको छ। बुधबार अर्का संक्रमितको पहिचान भएपछि डर पनि उत्तिकै थपिएको छ।

सोमबार, मंगलबार र बुधबारका यी घटनाक्रमले सर्वसाधारण चिन्तित र अन्योलग्रस्त छन्। आगामी दिनमा भाइरसको सम्भावित फैलावट आमप्रयासका कारण नियन्त्रणको घेराभित्रै सीमित रहला अथवा महामारी तर्फ उन्मुख होला, सवैको चासो र डर यसैमा छ।

विकासवादी जीवशास्त्री, समाज विज्ञानका विज्ञ तथा धार्मिक अभियन्ताहरू मानव जाति र वन्यजन्तुमा डर प्राकृतिक तथा स्वाभाविक विषय रहेको र जीवहरूको जीवन यापन तथा विकासक्रममा यसले महत्वपूर्ण भूमिका खैल्दै आएको तर्क गर्छन्।

के हामीमा आनुवांशिक रूपमा डराउने गुण अन्तर्निहित छ अथवा यो पछि हामी हुर्कंदै गर्दा सिर्जना हुने विषयहो? अथवा यो दुवै हो? यसको उत्तर त्यति सजिलो छैन। विभिन्न विषयगत विधासँग यस विषयमा आआफ्नै तर्क र उत्तरहरू छन्।

न्युरो मोलुकुलर बायोलोजीमा विशेषज्ञता हासिल गरेका त्रिभुवन विश्वविद्यालयका जीवशास्त्री प्राध्यापक कुमार सापकोटा डरलाई जीव विज्ञानले प्राकृतिक एवं जन्मजात हुने विषय र जीवहरूको आनीबानीको अभिन्न अंग रहेको तर्क गर्छन्। ‘डरले हाम्रो सुरक्षा गरेको हुन्छ’, उनी थप्छन्, ‘यसले मानिस र वन्यजन्तुमा विषम परिस्थिति सामना गर्न, लड्न, प्रतिरोधी क्षमता विकास गर्न अथवा हार स्वीकार गरेर सुरक्षित भाग्न सहयोग गर्छ। 'फाइट और फ्लाइट’ अर्थात् 'लड या भाग' भने कै जीवहरूको स्वाभाविक व्यवहार हो।’ तर अत्यधिक रूपमा डर मान्नु र आत्तिनु हानिकारक हुने उनी बताउँछन्। ‘त्यस्तो हुँदा हाम्रो प्रतिरक्षात्मक क्षमताले काम गर्दैन’, उनी भन्छन्। जीवशास्त्रीहरूका अनुसार अधिकांश जीव आफू विरुद्धका सिकारीसँग डराउन आनुवांशिकरूपमै प्रोग्राम्ड (नियोजित) हुन्छन्। जस्तै मुसा बिरालोसँग डराउँछ र माछाहरू चरासँग।

‘यस्ता डरका लागि सिकाइ आवश्यक छैन। यी त जन्मजात गुण हुन् र प्राकृतिक छनोटको सिद्धान्त अनुसार विगतदेखि प्राप्त इनाम पनि हुन्’,अमेरिकास्थित सिटी युनिभर्सिटी अफ न्युयोर्क अन्तर्गतको जोन जे कलेजका मोलुकुलर बायोलोजी विषयका प्राध्यापक नाथलएच लेन्ट्सले साइकोलोजी टुडेमा हालै प्रकाशित एक लेखमा भनेका छन्।

जीवशास्त्रीले तर्क गरेझैं समाज विज्ञानका विज्ञहरू डरलाई विश्वव्यापी सामाजिक विषय ठान्छन्। ‘मानिस सामाजिक प्राणी हो र सामाजिक सम्बन्ध हाम्रो व्यक्तिगत जीवनका लागि अपरिहार्य विषय हो,’ समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र तर्क गर्छन्, ‘हरेक मानिसलाई आफ्नो परिवारजनले दुःख पाउला अथवा मृत्यु होला भन्ने डर हुन्छ।’ जीवशास्त्री रिचार्ड डकिन्सको सन् १९७६ मा प्रकाशित पुस्तक ‘सेल्फिस जिन’अर्थात् स्वार्थी वंशाणुमा भनेझैं जीवहरू वंशाणुको तहदेखि नै आफ्ना लागि स्वार्थी हुने मिश्र बताउँछन्। पौराणिक कालदेखि नै संकट पर्दा राहु उत्पन्न भयो भन्ने गरिएको र कोरोना भाइरस वर्तमानको राहु भएको धारणा मिश्रको छ। ‘यसपटक विश्वव्यापीकरणका कारण राहुको प्रभाव अत्यन्त द्रुत गतिमा फैलियो’, उनी थप्छन्।

सामाजिक सम्बन्धको दायरामा राजनी तिर अर्थतन्त्रको विषय पनि जोडिएको बताउँदै मिश्र थप्छन्, ‘सत्ता र राजनीतिमा भएकालाई पनि जनस्वास्थ्यको यत्रो ठूलो संकट सामना गर्ने विषयमा लगातार दबाब र डरको वातावरण रहने गर्छ र उनीहरूलाई कार्यान्वयनमा जानै पर्ने बाध्यता हुन्छ।’ कोभिड १९ संकटले नेपालका आर्थिक, सामाजिक र राजनीतिक जीवनमा ठूलो प्रभाव पार्ने निश्चित रहेको उनको विश्लेषण छ।

उता धार्मिक नेताहरू कोभिड १९ को डरको सन्दर्भमा आत्मअनुशासन, प्रकृतिसँगको अन्योन्याश्रित सम्बन्ध र भगवान प्रतिको विश्वासमा जोड दिन्छन्। इटाली सरकारले आफ्ना नागरिकलाई आत्म अनुशासनमा रहन र सार्वजनिक भेटघाट बन्द गर्न अनुरोध गरे पनि सुरुका केही दिनमा अटेर गरेकाले अहिले को दुर्दशा बेहोर्नु परेको तर्क राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष तथा हिन्दु धर्मका अभियन्ता डा. माधव भट्टराईको छ। ‘रोगका कीटाणु अरूलाई सार्नु भनेको पाप हो। जानीजानी यसो गर्नु त झन् महापाप हो,’उनी भन्छन्, ‘आफू बाँच र अरूलाई पनि बाँच्न देऊ भन्ने हिन्दु धर्मको मूल मर्म हो।’ ‘आत्मरक्षां स्वयं कृत्वातत् शान्ति समाचरित्’ अर्थात् आत्मरक्षा गरेर जीवनलाई सुरक्षित गरी शान्तिको अनुष्ठान गर्दा महामारी शान्त हुने उनको भनाइ छ।

धर्मोदय सभाका उपाध्यक्ष तथा बुद्ध धर्मका अभियन्ता इन्द्र बहादुर गुरुङ प्रकृतिसँगको अन्योन्याश्रित सम्बन्धलाई तोड्न नहुने बताउँछन्। चीनमा बन्यजन्तुको मासु सेवनबाट रोग भित्रिएको भन्ने समाचारतर्फ संकेत गर्दै उनी भन्छन्, ‘हामी प्रकृतिको नियममा बस्नुपर्छ। जब नियम भंग हुन्छन्, संकट निम्तिन्छ।’

कोभिड १९ ले नेपालका आगामी दिनहरूलाई कसरी निर्देशित गर्ला, अहिले तत्काल भन्न सकिने स्थिति नभए पनि अधिकांशले सरकारले पछिल्ला दिनमा चालेका कदम र आमनागरिकमा बढ्दो चेतनाले यो रोग नियन्त्रणमा आउन सक्ने आशा व्यक्त गर्छन्। ‘हरेक एक दुइ दशक अवधिमा विश्वमा डरलाग्दा भाइरसको प्रकोप हुने गरेको छ,’त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजी विषयका प्राध्यापक प्रकाश घिमिरे भन्छन्, ‘हामी यसबाट डरमान्ने होइन, सावधान हुने हो। हामीले यो खतरनाक भाइरसलाई परास्त गर्न उपयुक्त रणनीति बनाएर युद्धस्तरमा काम गर्नु पर्छ। यसमा सबैको हातेमालो आवश्यक छ।’

प्रकाशित: १३ चैत्र २०७६ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App