९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

खर्कका गोठहरू हराउँदै

घर नजिकैको गोठबाट आउँदै ७८ वर्षिय प्रताप गुरुङको दम्पती

गोरखा – अजिरकोट गाउँपालिका– २ अपुनका प्रताप गुरुङले कुनै समय दैनिक चार पाथी सम्म दुध दुहुन्थे। गोठमा गाईभैँसी १४/१५ वटा थियो। उनी मात्रै होइन छिमेकीहरूले पनि यसैगरी गाईबस्तु पाल्थे। चैतदेखि जेठ सम्मको गोठ गाउँबाट दुई घण्टा हिडेपछि पुगिथ्यो। अर्को गोठ पुग्न दिनभरी हिड्नुपथ्र्यो। केही वर्षयताको उनको अनुभव गाउँका नयाँ पुस्तालाई कथा जस्तो लाग्छ। 

९ वर्षदेखि गाईबस्तुसँगै गोठमा बसेका उनी उमेरले ७८ पुगे। खर्कमा गोठ गर्न नसकेपछि घर नजिकै आधा घण्टाको दुरीमा सारेका छन्। तर भैँसी पाल्न छाडेका छैनन्। पहिले जस्तो धेरै गाईभैंसी छैन्। अहिले एउटा दुहुनो भैँसी मात्र छ। 
‘बुढेसकाल लाग्यो, गोठमा बस्न सकिन्, छोरोछोरी सबै शहर तिर पसे, मैले जस्तो गाईभैंसी पाल्न मानेन्, उनीहरुलाई सहरै रमाइलो लाग्यो’, प्रतापले भने। गोठ सम्म आउजाउ गर्न नसक्ने भएपछि उनले बस्तुपाल्न कम गरे। उनलाई सकुन्जेल एउटा भैँसी पाल्ने रहर छ। श्रीमती वुद्धीमाया गुरुङ र उनी मात्र घरमा छन्। तीनछोरीको बिहेबारी भईसक्यो भने एउटा छोरा नोकरीका लागि बिदेश गएका छन्। 

‘मैल घ्यू खाएको जति अहिले को मान्छेले पानी पाएको छैन होला’ ओलाङका ७४ वर्षिय पुथ्वीमान गुरुङले केही वर्षअघिको दैनिकी सम्झँदै भने। ७४ वर्षका उनको जोस जाँगर अधबैँसे उमेरको जस्तो छ। १९ वटा सम्म भैँसी पालेर खर्क बसेका उनी अहिले गोठ छाडेर बसेका छन्। ‘दिनहुँ पाथीको पाथी दुध हुन्थ्यो, गोठमै मोथेर घ्यू बनाईन्थ्यो, खासै बिक्री नहुने भएपछि आफैँ खाईन्थ्यो,’ उनले भने। उमेर ढल्कँदै गएपछि चार भाई छोरालाई गोठमा रहेको भैँसी/बाख्रा भाग लगाईदिएर उनले गोठ छाडे। छोराहरुले बाबुले दिएको गाईवस्तु बिक्री गरेर शहर छिरे। उनीहरु पनि अहिले गोठ गर्दैनन् ।

यी एक दुई परिवार होईन अजिरकोट गाउँपालिकाको अपुन, ओलाङ, खिम्पु लगायत ठाउँमा बस्तीपच्छे ६० देखि ८० घरधुरी छ। अधिकाशंको घरको गोठ हुन्थ्यो। गाउँभन्दा माथि माडिमा आ–आफ्नो ठाउँ छुट्याएर गोठ बनाउने, खर्कमा बस्तु चराउने, तीन/चार महिनामा अन्नपानी सकिएपछि खर्च लिन/पुर्‍याउन आउजाउ गर्ने परम्परा थियो। 
‘अहिले एउटा बस्तीमा मुस्किलले दुई/चारवटा गोठ छ’ स्थानीय बलभद्र गुरुङले भने। 

भैँसी र भेडाबाख्राको गोठले खर्क र माडी छपक्कै ढाकिने एक समय थियो। वलाङमा १, खिम्पुमा २ र घ्याच्चोक तिर केही भेडिगोठ छ। भैँसी पाल्ने गोठ त अझै घटेको छ। गाउँगाउँले खर्क बाँडेर बस्तुभाउ चराउँथे। ओलाङको सोलघारी, कालोबादल, भोरमाडी भन्ने ठाउँमा गोठ बस्थ्यो। बलभद्रले अहिले पनि गोठ राखेका छन्। उनको ११ वटा भैँसी छ। १५ वर्षदेखि उनले भैँसी पाल्दै आएका छन्। 

गाउँमै दुई जनाको मात्रै गोठ भएको उनको भनाई छ। पहिले जस्तो चार पाँच सय भेडा पाल्ने गोठ अहिले छैन। 
‘मेरा  पनि छोराहरूको गोठमा गाइबस्तु पाल्ने छाँटकाँट छैन, मलाई पनि बुढेसकालले छोयो, अर्काे वर्षदेखि सक्दिन होला,’ बलभद्रले भने। अहिले उनलाई गोठमा एक्लै बस्न मुस्कल छ। पहिले घरबाट निस्किएको दुई÷तीन महिनामा खर्च पुर्‍याउन परिवार जान्थे। चाडपर्वमा स्थानीय आलोपालो गोठ कुर्थे। 

जनजातिको बाहुल्यता भएको ती बस्तीका युवाहरूको सानैदेखि ‘लाहुरे’ (सेना)मा भर्ती हुने सपना हुन्छ। उनीहरू पढ्न, शहर पस्छन्। नोकरी पनि शहरमै गर्छन्। बाबु–बाजेले गरेको कामलाई निरन्तरता दिने पुस्ता अहिले छैन्। 
‘गाउँमा बसेका शिक्षक, सरकारी जागिरेहरू पनि अवकासपछि चितवन, काठमाण्डौँ जान थाले’ गाउँपालिका अध्यक्ष फडिन्द्र धितालले भने ‘बसाँईसराईका कारण गाउँमा मानिस पातलो भएका छन्, घर रित्तिएको छ, खेतबारी बाँझो छ।’ 

गाउँपालिकाले गोठ सुधार कार्यक्रम ल्याएको छ, तर गोठ घट्दो छ। प्राङ्गारिक मल तयार गरेर  पालिका भित्र रसायनिक मल प्रयोगलाई निरुत्साहित गर्ने, प्राङ्गारिक मलमा अनुदान दिने, अर्गानिक उत्पादन र रैथाने बालीमा जोड दिने योजना रहेको अध्यक्ष धिताल बताउँछन्। पशुपालनमा नयाँ पुस्तालाई आकर्षित गर्न नसक्दा गाउँपालिकाको योजना अधुरो हुने खतरा छ। 

प्रकाशित: ८ चैत्र २०७६ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App