६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन  पठनपाठनको सुअवसर पनि पाएका छन्।

कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्छिन्। सन्तानविहीन उनले ती बालबालिकालाई  आफ्नै छोराछोरी मानेर माया गर्छिन्। उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उनको दिनचर्याले उनीहरूप्रतिको उनको ममता छचल्किन्छ।

आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उनले बताइन्। ‘पहिले म बालबालिकासँगै धेरै रमाउँथे’, उनले भनिन्, ‘उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु।’

तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताइन्। सुरुमा आफैँले लगानी गरेर सञ्चालन गरेको उक्त संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन्।

‘मेरा छोराछोरी छैनन्’, उनले भनिन्, ‘तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु।’ उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक  राखेको उनले बताइन्।

गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएकी उनले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आएकी छिन्। उनकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन्।

स्यानीका सङ्घर्ष

थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला छिन् स्यानी।  पढाइ जीवनका उनका सङ्घर्ष पनि कम छैनन्। उनको घर पहिले तुलसीपुर–१३ फूलबारी हो। तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन। त्यसैले उनी पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो। उरहरी आउँदा वर्षात्को बबईको भेल तर्नुपथ्र्यो। कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो। यदि डुङ्गा नभएको अवस्थामा उनी आफैँले पौडी खेलेर वारपार गर्थिन्।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो। त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिइन्। ‘केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे’, उनले भनिन्।

थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो। ती कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गरेकी छन्। पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाहरूका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आएकी छिन्। रासस

प्रकाशित: २० आश्विन २०८१ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App