२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरीलाई बाहिर निस्कन बन्देज

सुर्खेत – विश्वव्यापी रूपमा फैलिरहेका कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम नेपालमा पनि बढिरहेका बेला सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। त्यहाँका प्रहरीलाई बाहिर निस्कन बन्देज लगाइएको हो। उनीहरूले तालिमदेखि अन्य कार्यालीय काम भित्रै गर्ने गरेका छन्। गणले तालिममा रहेका एक सय ९० जना र गणमा कार्यरक्त अन्य प्रहरीका लागि ‘लक इन’ गरिएको त्यहाँका सई रतन शर्माले बताए।

बाहिरबाट आउनेका लागि गेटमा साबुनपानीले हात धुने र मास्क अनिवार्य लगाउनुपर्ने बनाइएको सई शर्माले बताए। ‘भित्रै बसेर सबैलाई सुरक्षित साथ काम गर्न भनेका छौं,’ उनले भने, ‘गेटमा कडाइ गरेका छौं।’ कर्णाली प्रदेश छिर्ने प्रमुख नाका बबई र दैलेखको गुराँसे र राकम कर्णालीमा स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच भइरहेको छ। त्यस्तै दैलेख जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी कार्यालय बाहिर साबुनपानीले हात धुनुपर्ने नियम लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले बताए। प्रहरी युनिटमार्फत जिल्लाभर जनचेतनाका कार्यक्रम भइरहेको उनको भनाइ छ।

प्रकाशित: ८ चैत्र २०७६ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App