२ असार २०८१ आइतबार
image/svg+xml
समाज

खुला नालाले फैलिँदै दुर्गन्ध

वीरेन्द्रनगर – वीरेन्द्रनगरस्थित नेताचोकमा व्यवसाय गर्दै आएका पदमबहादुर सुनार पसल आउँदै थिए। नाला क्रस गर्न नसक्दा पसलैअगाडिको नालामा उनी लडे। उनको दायाँ खुट्टामा चोट लाग्यो। उपचारपछि झन्डै एक महिनासम्म पसल जान सकेनन्। उनी मात्र होइन, कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरका मुख्य बजारमा नाला व्यवस्थित नहुँदा जोखिम बढेको छ। नाला खुला हुँदा दुर्गन्ध फैलिनुका साथै घटनाको जोखिम बढेको छ।

वीरेन्द्रनगरको मुख्य चोक वीरेन्द्र चोक, एरी चोक, बुद्धपथ, घण्टाघर लाइन, जिप्रका रोडलगायत ठाउँमा नाला खुला छन्। नाला क्रस गर्न वृद्ध, बालबालिका र अशक्तलाई झन् समस्या हुने गरेको छ। नाला नढाकिँदा पसल आउने ग्राहक घुमेर पसलमा आउने गरेको वीरेन्द्रनगरका व्यवसायी मंगल गिरीले बताए। ‘पसलअगाडि नाला खुला छ,’ उनले भने, ‘मेरो पसलमा आउने ग्राहक अलि परबाट घुमेर आउनुहुन्छ।’ जताततै नाला खुला भएको भन्दै उनले भने, ‘रातबिरात हिँड्ने मान्छेलाई झन् समस्या छ।’ दीर्घकालीन सोच नबनाएर पहिला नाला बनाएकाले अहिले व्यवस्थित नभएको उनको भनाइ छ।

नाला साँघुरा र व्यवस्थित नभएको वीरेन्द्रनगरकी ताराकुमारी गिरीले बताइन्। ‘नाला साना छन्,’ उनले भनिन्, ‘वर्षामा सानो झरी परे पनि नाला भरिएर पानी बाहिर आउँछ।’ खुला नालाले दुर्गन्ध फैलिँदै गएको उनले बताइन्। कतिपय स्थानमा नालाबाट दुर्गन्ध फैलिँदा कतिपय स्थानमा नाक थुन्नुपर्ने अवस्था छ।

नालाबाट दुर्गन्ध फैलिँदा वीरेन्द्रनगरको स्वच्छता हराउँदै गएको स्थानीयको भनाइ छ। नगरभित्रका नाला सफा नहुँदा नगरलाई स्वच्छता र सुन्दर बनाउन नसकिएको यहाँका बासिन्दाको भनाइ छ। ‘कतिपय नाला थुनिएका छन्। त्यहाँ पानी बग्दैन,’ उनले भनिन्, ‘नालाको दुर्गन्धले लामखुट्टे बढेर आउँछन्।’ नाला बढाउने र व्यवस्थित गर्नुपर्ने भन्दै स्थानीयले माग गरेका छन्।

प्रकाशित: ६ चैत्र २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App