coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजधानीमा मासिक सयकाे हाराहारीमा सवारी दुर्घटना

आइतबार काठमाडौंको कोटेश्वरमा लेन सुधारका बारेमा जानकारी गराउँदै ट्राफिक प्रहरी। तस्बिर; कविराज/नागरिक

काठमाडौं – काठमाडौंका सडकमा सवारी चालकहरूले लेनको सही प्रयोग नगर्दा र लेन परिवर्तन गर्दा लापरबाही गरेकाले दुर्घटना हुनेगरेको एक तथ्यांकले देखाएको छ। ८ लेन सडकमा लेन नियम अनुशासन पालना नहुँदा मासिक ८० भन्दा बढी दुर्घटना हुने तथ्यांकमा उल्लेख गरिएको छ।

सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गर्दा सवारी दुर्घटना हुने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए। ‘ट्राफिक प्रहरीको आँखा छलेर सवारी चलाउँदा र नियमको पालना नगर्दा दैनिक दुर्घटना हुने गरेको छ। सवारी चलाउँदा जथाभावी सडक वारपार गर्ने, सही लेनको प्रयोग नगर्ने चालकले बढी दुर्घटना निम्त्याउँने गरेका छन्,’ उनले भने, ‘लुकिंग ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेकले दुर्घटनाको जोखिम बढ्दै गएको छ।’

सडक खण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिएको प्रवक्ता श्रेष्ठले बताए। ‘तोकिएकोभन्दा तीव्र गतिमा सवारी चलाउने, सावधानी पूर्वक सवारी नचलाउँदा पनि दुर्घटना हुने गरेको छ। सडकमा गुड्ने सवारी र सडकको अवस्थाअनुसार सुरक्षित ढंगले लेनबाट मात्रै सवारी चलाए दुर्घटना न्यूनीकरण देखिन्छ।’

ट्राफिकले नियम बनाएको तर सवारी चालक, यात्रुले नियम कार्यान्वयन नगर्दा दुर्घटना बढ्दै गएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताए। यसमा शिक्षा, जरिवानाले मुख्य भूमिका निर्वाह गर्छ, ‘उनले भने, ‘सवारी चालकले ट्राफिक नियम पालना नगर्दा उनीहरूलाई नै जोखिममा पार्दै आएको हुन्छ। हतारमा सवारी चलाउँदा आफैँलाई जोखिम राख्ने गरेकाले सचेत हुनुपर्ने आवश्यकता देखिन्छ।’

अनुशासन पूर्वक सवारी चालाउँदा सहज रूपमा आवागमन गर्न सकिने, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भिमप्रसाद ढकालले बताए। ‘उपत्यकामा अत्यधिक सवारी चापका कारण सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको उनको भनाइ थियो।

दुर्घटना न्यूनीकरण गरेर यहाँका सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको उनले जनाए। सार्वजनिक यातायातलाई भरपर्दो र सुविधायुक्त बनाएर निजी सवारीको आवश्यकता कम गर्न नसकेसम्म निजी यातायातका साधनको संख्या बढ्दै जाने उनको भनाइ थियो। उपत्यकामा करिब १२ लाख सवारी साधन गुड्ने गरेको महानगरीय ट्राफिक महाशाखाको भनाइ छ।

लेन प्रयोगमा नयाँ नियम
आइतबार उपत्यकाको सवारी आवगमनमा सहजता ल्याउन तथा दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले नयाँ लेन नियम सुरु भएको छ। दुर्घटना बढ्दै गएपछि कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा लेन प्रयोगमा नयाँ नियमको सुरुवात गरिएको हो। यात्रुवाहक तथा मालवाहक सवारी साधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन सधैँ दायाँ लेनबाट मात्र चलाउने व्यवस्थाको सुरुवात गरिएको एसएसपी ढकालले जानकारी दिए।

उनका अनुसार ट्राफिक नियमको पालन गराउनका लागि नयाँ व्यवस्थाको सुरुवात गरिएको हो। प्रभावकारी कार्यान्वयन गर्नका लागी सम्बन्धीत सरोकारवाला निकाय र संघसंस्था, यातायात सञ्चालक र व्यवसायीलगयातसँग छलफल गरेको महाशाखाले जनाएको छ। ‘नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरेर सबै निकायको प्रतिनिधित्व हुने गरेर अनुगमन समिति समेत गठन गरिएको छ।

सचेतना कक्षा र हार्डिङ बोर्ड
नागरिकलाई लेन प्रयोग सम्बन्धी जानकारी दिन महाशाखाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। होर्डिङ बोर्ड तथा सचेतना कक्षा सञ्चालन गरेर लेन प्रयोगका बारेमा जानकारी दिँदै आएको उनले बताए।

‘सडक सुरक्षा र त्यसको प्रयोगमा सम्बन्धमा स्थानीय तहलगायत अन्य सरोकारवाला निकायलाई जिम्मेवार बनाएर नियमलाई कार्यान्वनयका लागि ट्राफिक प्रहरी परिचालन गरेका छौँ’ उनले भने, यसले गर्दा दुर्घटनाका कमी हुने अपेक्षा गरिएको छ।’ पहिलो चरणमा जानकारी गराउने र पटक पटक लेन प्रयोग सम्बन्धि नयाँ नियम कार्यान्वयन नगरेमा कारबाही गरिने बताइएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App