५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँदर आतंक : खोरमा थुन्न माग

तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले तारजालीको खोरमा बाँदरलाई थुन्ने व्यवस्थाको माग गरेका छन्। बाँदरको बढ्दो संख्याका कारण अन्नबाली जोगाउन मुस्किल परेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानका किसानले बाँदरलाई नियन्त्रणमा लिएर तारजालीको खोरमा थुनेर राख्ने र त्यही दानापानी दिने व्यवस्थाका लागि स्थानीय सरकारलाई गुहारेका हुन्।

गत फागुन १९ गतेका दिन दिक्तेलमा भएको भेलाको निर्णय अनुसार आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुगेर बाँदरलाई खोरमा थुनेर राख्ने व्यवस्थाको माग राखिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै किसानले बाँदरलाई खोरमा थुनेर राख्नका लागि आवश्यक बजेट माग गरेका छन्। नगरपालिकामै भारतीय शिकारी प्रयोग गरेर बाँदर समातेको केही समयपछि स्थानीय किसान पुनः बाँदर समातेर खोरमा थुन्नुपर्ने विकल्प लिएर नगरपालिका पुगेका हुन्। बाँदर पीडित किसानले गत मंसिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रणका लागि नगरपालिकालाई गुहारेका थियो।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपनि हालसम्म बाँदर नियन्त्रणको भरपर्दो विधि फेला नपरेको अध्यक्ष घिमिरेले बताए। ‘बाँदरको संख्या एकदमै बढेर गयो। अन्नपात जोगाउन सकिएन। किसानले सार्‍है दुःख पाए,’ अध्यक्ष घिमिरेले भने, ‘बाँदर मार्न पाइन्दैन भने खोरमा थुनेर राख्ने व्यवस्था गरियोस्, त्यही दानापानी दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो।’

गत २०७५ साल फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पु¥याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो। यद्यपी, निकुञ्जमा लैजान अगावै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो। बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरलाई खोरमा थुन्ने र परिवार नियोजन गर्नुपर्ने आवाज उठाएका हुन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङबाट गत फागुन ७ गतेदेखि ‘बाँदर समाउ’ अभियान थालिएको हो। किसानको मागपछि उसबेला बाँदर समात्न आर्थिक सहयोग गरेको नगरपालिका यसपल्ट भने झट्ट सहयोग गर्न सक्ने अवस्थामा नदेखिएको बताइएको छ।

हलो जुवा बोकेर र्‍याली
बाँदरको समस्य हल गर्न माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले हलो, जुवा, दाँते र कोदालोसहित र्‍याली प्रदर्शन गरेका छन्। बाँदरबाट पिडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपायको खोजीमा दिक्तेल बजारमा आईतबार कृषिका घरेलु सामग्रीसहित र्‍याली निकालेका हुन्। दिक्तेलको हुलाकडाँडाबाट सुरु भएको र्‍याली त्रिबेणीचोक हुँदै नगरपालिकाको कार्यालय पुगेको थियो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ लगायतका किसानले ‘सबै किसान एक हौं, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारा लगाएका थिए। र्‍यालीमा सहभागी करिब सय किसानले नगरपालिका अगाडि पनि नारा लगाएका थिए।

 

प्रकाशित: २ चैत्र २०७६ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App