५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

७४ जनालाई अदालतले बोलायो

काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा भ्रष्टाचार मुद्दामा संलग्न रहेका ७४ जनालाई विशेष अदालतले उपस्थित हुन म्याद जारी गरेको छ। पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वमन्त्री, पूर्वसचिवलगायतलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको हो। विशेष अदालतकाअनुसार बुधबारसम्ममा ७४ जनाको नाममा म्याद गएको छ, भने बाँकीको पठाउने तयारीमा रहेको बताइएको छ। एउटै मुद्दामा एक सय ७५ जना प्रतिवादी भएकाले क्रमशः म्याद जारी गरिएको विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए। म्याद तामेल भएको १५ दिनभित्र सम्बन्धीत व्यक्ति अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ।

तर, प्रतिवादीले १५ दिन थप लिनपाउने व्यवस्था भएकाले जारी भएको एक महिनाभित्र अदालतमा उपस्थित हुनुपर्नेछ। सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा उच्च पदस्थ व्यक्तिसमेत तानिएको भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ मा आरोपपत्र दर्ता गरेको थियो। अदालतले पूर्वउपप्रधानमन्त्री गच्छदार, पूर्वमन्त्री डम्मर श्रेष्ठ, पूर्वसचिव छविराज पन्त, भूमिसुधार व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यलगायतलाई अदालतमा उपस्थित हुन म्याद दिएको हो।

अख्तियारले तीनजना पूर्वमन्त्री, तीनजना पूर्वसचिव, जग्गा बकस लिने, जग्गाधनी, कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दामा विपक्षी बनाएको छ। अख्तियारले सरकारी जग्गा हिनामिनामा संलग्न एक सय १० जनालाई सजायसहित मागदाबी गरेको छ। त्यसमध्ये ६५ जनालाई जग्गा जफतको मागदाबीसहित मुद्दा दर्ता गरेको हो। २९९ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा बनाएर खान विभिन्न निकायका तलदेखि उपल्लो तहसम्मका सरकारी कर्मचारी, पदाधिकारीले पदको दुरुपयोग गर्दै मिलेमतोमा सरकारी अड्डाको दुरुपयोग गरेको पुष्टि भएको अख्तियारले दाबी छ। मालपोत कार्यालय डिल्लीबजार काठमाडौंका कर्मचारीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्ति विशेषलाई जग्गाधनी र मोही कायम गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App