६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दिउँसो पूजा, राति चोरी

चितवन –भरतपुर महानगरपालिका २, बेलटाँडीस्थित मञ्जु खाँडको घरमा गत शुक्रबार आश्चर्यजनक चोरी भएको छ। गत मंगलबार दिउँसो खाँडको घरमा पूजा लगाउन आएका पुरेत र उनको समूहले सोही घरमा गत शुक्रबार राति सुनचाँदीका गरगहना चोरी ग-यो। चोरीको घटना भएको २४ घण्टा नबित्दै चोरीमा संलग्नहरु पक्राउ परेका छन्।

चितवन प्रहरीले सुनचाँदीका गरगहना चोरीको आरोपमा भारत मोतीहारी जिल्ला जागापटक ग्रामपञ्चायत हरिसिद्धि थाना बस्ने १८ वर्षीय नेहाल तिवारी र भारतकै पूर्वी चम्पारण जिल्ला सङ्ग्रामपुर थाना हरियाणापुर पोस्ट बस्ने १९ वर्षीय राजनकुमार उपाध्यायलाई पक्राउ गरेको छ। पक्राउ परेका अन्यमा भारतको अरेराज अञ्चल दरियारपुर जिल्ला दक्षिण मजवनीका बिक्की भनिने २० वर्षीय सोनुकुमार पाण्डे, मोतीहारी जिल्लाको गोविन्दपुर थाना बस्ने बिपुल भनिने १९ वर्षीय रितिक रोशन, मोतीहारी जिल्लाको पहारपुर गाउँ भान्जाछापरका २० वर्षीय बिक्कीकुमार गुप्ता र बीरगन्ज १६ स्थित पलक ज्वेलर्सका सञ्चालक २५ वर्षीय राजकुमार गुप्ता छन्।

उनीहरुको साथबाट प्रहरीले सुनको औँठी १, नथिया १, बिन्दिया १, जिउटिया ३, मङ्गलसूत्र १, सानो नथुनी ८, फुली १ थानसमेत गरी २२ दशमलव ४ सय ५० ग्राम सुन बरामद गरेको छ। ४ सय ८७ ग्राम तौल भएको चाँदीको पाउजु ४ जोर, मोबाइल २ थानसमेत बरामद भएको चितवन प्रहरीले जनाएको छ। चोरीमा उनीहरुले हेक्सा ब्लेड, विभिन्न चक्कु, हथौडालगायत प्रयोग गरेको र ती सामानसमेत बरामद भएको प्रहरीले जनाएको छ। उक्त समूहले गरगहनासहित १४ लाख ८७ हजार पाँच सय रुपैयाँबराबरको चोरी गरेको जाहेरी प्रहरी कार्यालयमा परेको थियो।

यसरी भयो घटना
नेहाल तिवारीका बाबुले विभिन्न स्थानमा पुरेत्याइँ गर्दै आएका थिए। जाहेरवाला मञ्जु खाँडको अभियुक्त तिवारी र उनका बाबुसँग चिनजान थियो। प्रहरीका अनुसार मुख्य अभियुक्त तिवारीले आफूले समेत पुरेत्याइँ गर्दै आएको भनी खाँडलाई विश्वासमा लिएपछि फागुन २० गते तिवारीलाई बोलाई घरमा पूजा गर्न लगाइयो।

पूजा लगाउने क्रममा ‘स्वस्तिशान्ति गर्नुपर्छ’ भन्दै तिवारीले खाँडलाई विश्वासमा पारे। सोही क्रममा अभियुक्त तिवारीले घरमा सुनचाँदीको गरगहना राखिएको ठाउँबारे जानकारी लिए। फागुन २३ गते राति आठ बजेतिर घरका मानिस खाना खान भान्साकोठामा गएको मौका छोपी तिवारी र उनको समूह घरभित्र पसी गरगहना, नगद र मोबाइल चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

चोरीका अभियुक्तमध्ये बिक्कीकुमार गुप्ताले अन्यलाई मासिक तलब दिई चोरी गर्न लगाउने र चोरी गरेको धनमाल अन्यले बिक्कीकुमार गुप्तालाई बुझाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेर आवश्यक जानकारी लिएको प्रहरीले भोलिपल्ट फागुन २४ गते नेहाल तिवारी, राजनकुमार उपाध्याय, बिक्की भनिने सोनुकुमार पाण्डे, बिपुल भनिने रितिक रोशन र बिक्कीकुमार गुप्तालाई नारायणगढबाट पक्राउ गरेको थियो।

चोरीको सुन बिक्कीकुमार गुप्ताले वीरगन्जमा सुनचाँदी पसल गरी बस्ने राजकुमार गुप्तालाई बिक्री गरेका थिए। तत्कालै चितवन प्रहरी कार्यालयबाट प्रहरी टोली वीरगन्ज पुगी फागुन २५ गते पर्सा प्रहरीसँग समन्वय गरेर बिक्कीकुमार गुप्ता र राजकुमार गुप्तालाई पक्राउ ग-यो। गुप्ताले खरिद गरेकोमध्ये पसलमा भएका सुनचाँदीको गरगहना प्रहरीले बरामद ग¥यो। पक्राउ परेकाहरुले चितवनको अन्यत्र स्थानमा समेत धनमाल चोरी गरेको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरुमाथि डाँका चोरी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। चोरी कार्यमा संलग्न भएकालाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। चोरीको धनमाल खरिद गर्ने गुप्तालाई ५ वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App