४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मस्यौदा पास भए २६ थरीका वन्यजन्तु पाल्न सकिने

काठमाडौं – संरक्षित क्षेत्र तथा राष्ट्रिय निकुञ्जहरूमा देखिने कस्तूरी मृगसहित संरक्षित वन्यजन्तु अव व्यावसायिक रूपमै घरमा पालन गर्न सकिने भएको छ। व्यक्तिले चाहेमा वन्यजन्तुको व्यावसायिक पालन तथा प्रजननका लागि अनुमति पाउन सक्ने गरी वन तथा वातावरण मन्त्रालयले कार्यविधिको मस्यौदा बनाएको छ।

सो मस्यौदा पास भएमा २६ थरीका वन्यजन्तु पालनको अनुमति पाइनेछ। साथै आफूले पालेका वन्यजन्तुको व्यावसायिक प्रयोजनका लागि बेचबिखन पनि गर्न पाइनेछ। वन्यजन्तु पालकले बिउ प्राणी (निकुञ्जबाट ल्याइएको वन्यजन्तु) भने बिक्री गर्न पाउनेछैन। बिउ प्राणीबाट उत्पादित वन्यजन्तु विक्रीवितरणका लागि उसलाई छुट हुनेछ। वन मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाले व्यावसायिक प्रयोजनका लागि वन्यजन्तु पालन तथा प्रजननसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताउँदै सो मस्यौदा पास भएमा सर्वसाधारणले व्यावसायिक रूपमा वन्यजन्तु पालन तथा प्रजनन गर्नसक्ने बताए।

२०७६ मंसिरमा गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) मा गरिएको संशोधनको धारा ३६ (ख)मा वन्यजन्तुको व्यावसायिक रूपमा पालन तथा प्रजनन गर्न चाहने व्यक्ति वा संस्थाले विस्तृत कार्ययोजना तयार गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसमक्ष निवेदन दिनुपर्ने र सो कार्ययोजनाका सम्बन्धमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्यांकन गर्ने व्यवस्था गरिएको छ। साथै सो दफामा प्राविधिक समितिको सिफारिसको आधारमा विभागले त्यस्तो व्यक्ति वा संस्थालाई वन्यजन्तु पालन तथा प्रजननका लागि अनुमति दिने/दिनसक्ने व्यवस्था गरिएको छ।

नियमावलीमा व्यवस्था गरिएअनुसार पालन तथा प्रजननको अनुमति पाउने वन्यजन्तुमा संरक्षित वन्यजन्तुतर्फ कस्तूरी मृगलाई अनुमति छ। कस्तूरी मृग पालन तथा प्रयोजनका लागि अनुमति लिन एक लाख रुपैयाँ राजस्व बुझाउनु पर्छ। साथै निकुञ्जबाट बिउ प्राणी खरिद गर्न प्रतिगोटा ७५ हजार राजस्व शुल्क लाग्ने व्यवस्था गरिएको छ। यसैगरी व्यावसायिक प्रयोजनका लागि पालन गर्न पाउने अन्य वन्यजन्तुमा जरायो (पालन अनुमतिका लागि राजस्व ७५ हजार रुपैयाँ तथा बिउ प्राणी खरिद गर्न प्रतिगोटा ६० हजार), चित्तल (पालन अनुमतिका लागि राजस्व शुल्क ५० हजार तथा बीउ प्राणी खरिदका लागि प्रतिगोटा ५० हजार), लगुन (पालन अनुमतिका लागि राजस्व शुल्क ५० हजार तथा बिउ प्राणी खरिदका लागि ५० हजार), रतुवा (पालन अनुमतिका लागि राजस्व शुल्क ५० हजार तथा बिउ प्राणी खरिदका लागि प्रतिगोटा ४० हजार), नीलगाई (पालन अनुमतिका लागि राजस्व शुल्क ७५ हजार बिउ प्राणी खरिदका लागि प्रतिगोटा ६० हजार), खरायो (पालन अनुमतिका लागि राजस्व शुल्क १० हजार तथा बिउ प्राणी खरिदका लागि प्रतिगोटा १ हजार), दुम्सी (पालन अनुमतिका लागि १५ हजार राजस्व शुल्क तथा बिउ प्राणी खरिदका लागि प्रतिगोटा २ हजार) तथा बँदेल (पालन अनुमतिका लागि १० हजार राजस्व शुल्क तथा बिउ प्राणी खरिदका लागि प्रतिगोटा १ हजार) पालनका लागि अनुमति दिइनेछ।

यसैगरी व्यावसायिक प्रयोजनका लागि प्रजनन तथा अनुमति पाउन सकिने अन्य वन्यजन्तुमा सरिसृप प्रजाति मध्ये अजिंगरबाहेकका प्रजातिलाई अनुमति दिइनेछ। यसमा पालनका लागि ५० हजार राजस्व शुल्क तथा बिउ प्राणीका लागि ५ हजार प्रतिगोटामा खरिद गर्न पाउने व्यवस्था गरिएको छ। यसैगरी भ्यागुता पालन अनुमतिका लागि १० हजार राजस्व शुल्क तथा बिउ प्राणीका लागि प्रतिगोटा १ सय रुपैयाँ बुझाउनुपर्छ। त्यस्तै कछुवा पालन गर्न चाहे अनुमतिका लागि १० हजार राजस्व शुल्क तथा बिउ प्राणीका लागि प्रतिगोटा एक हजार रुपैयाँ संकलन गर्ने कार्यालयमा बुझाउनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ।

यसैगरी पक्षीतर्फ मयुर, कालिज, लुइँचे, वन कुखुरा, लटाई, च्याखुरा, तित्रा, पिउरा, ढुकुर, मैना, सुगा तथा लखानको व्यावसायिक पालना तथा प्रजनन गर्न पाउने व्यवस्था गरिएको छ। यसका लागि पालन अनुमतिका लागि राजस्व शुक्ल र बिउ प्राणीका लागि प्रतिगोटा खरिदका लागि खरिद शुल्कको पनि व्यवस्था गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु श्रेष्ठले वन्यजन्तुको व्यावसायिक पालन तथा प्रजनन अनुमतिका लागि भौतिक पूर्वाधार तथा जनशक्तिसम्बन्धी मापदण्डको मस्यौदा तयार गरिएको जनाए। सो मापदण्ड मन्त्रालयबाट पास भए वन्यजन्तुको व्यावसायिक पालन गर्न सकिने उनले बताए।

व्यक्तिले विक्रीवितरण, अध्ययन अनुसन्धान तथा औषधि उपचारका लागि वन्यजन्तु पालन तथा प्रजनन गर्न पाउने कार्यविधि मस्यौदामा उल्लेख गरिएको छ। साथै निश्चित प्रक्रिया र मापदण्ड पूरा गरी उसले आफूले पालन गरेका वन्यजन्तु विदेशमा पनि विक्री गर्न पाउनेछ तर वन्यजन्तुको औषधि उपचार तथा जैविक सुरक्षासम्बन्धी सरकारी निकायले अनुगमन गर्ने व्यवस्था मस्यौदामा छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App