२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाह्य मुलुकबाट नेपाल आउनेको संख्या घट्दै

काठमाडौं – विभिन्न देशमा फैलिएको कोरोना भाइरसको त्रासले नेपाल भित्रिने बाह्य मुलुकका यात्रुको संख्या ५० प्रतिशत कमी आएको अध्यागमन हेल्थ डेस्कले जनाएको छ। ‘हिजो (आइतबार)देखि नै ५० प्रतिशतभन्दा कम बाह्य देशबाट यात्रु आएका छन्,’ अन्तर्राष्ट्रिय विमानास्थल हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेले भने। सोमबार कुनै पनि शंकास्पद बिरामी नभेटेपछि विदेशबाट आएका सबैको स्वास्थ्य विवरण लिएर पठाइएको उनले बताए। विदेशबाट आउने यात्रु घट्दै गएको अन्तर्राष्ट्रिय विमानास्थल अध्यागमन विभाग प्रमुख ईश्वरराज पौडेलले बताए।

अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कको अवस्थाबारे आइतबार प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, रक्षामन्त्रालयका प्रतिनिधिहरूले अनुगमन गरेका छन्। अनुगमनको क्रममा विमानास्थल हेल्थ डेस्क अपेक्षाअनुसार सञ्चालन भइरहेको पाइएको बताइएको छ। अन्तर्राष्ट्रिय विमानास्थलमा अपनाइएका स्वास्थ्य परिक्षण तथा जनचेतना कार्यक्रम विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको हेल्थ डेस्क प्रमुख पाण्डेले बताए। पछिल्लो तथ्याकं अनुसार विश्वभर एक लाख ५५ हजार ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने तीन हजार ६ सय ५६ जनाको मत्यु भइसकेको छ।

भारतीय सबै नाकामा हेल्थ डेस्क
विभिन्न देशमा फैलिरहेको कोरोना भाइरस भारतमा पनि देखिएको छ। भारतमा कोरोनाको संक्रमण देखिएपनि नेपालमा सर्न सक्ने भन्दै नेपालको भारतसँगका सबै सीमानामा हेल्थ डेस्क तथा निगरानी कडा बनाइएको राष्ट्रिय इपिडियोमालोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखा प्रमुख डाक्टर वासुदेव पाण्डेका अनुसार भारतसँग सीमा जोडिएको प्रत्येक नाकामा स्वास्थ्यटोली खटाइएको छ भने प्रदेश सरकारले पनि व्यवस्थापन गरिरहेको छ। कोरोना भाइरस संक्रमण फैलिएको अवस्थामा गरिने व्यवस्थापन पनि तीन चरणमा तयारी गरिसकेको महाशाखाले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App