४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली प्रतिष्ठानको चिकित्सक टोली हुम्लामा

जुम्ला- हुम्लामा कोरोना भाइरसको शंका उत्पन्न भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोेली हुम्ला पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा चिकित्सक टोली हुम्ला पुगेको हो। जुम्लाबाट गएको टोलीले हुम्लाको समग्र स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोरोना भाइरसबारे सचेतना फैलाउनेछ।

हुम्ला चीसँग जोडिएको जिल्ला हो। हुम्लामा चीनको सिमाना नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्ने सूचना प्राप्त भएपछि चिकित्सकीय टोली हुम्लामा पठाइएको अस्पताल निर्देशक मंगल रावत बताउँछन्। कर्णाली प्रतिष्ठानका डा. अशोक गौतमसहित तीन जनाको टोली हुम्ला पुगेको हो। हुम्लामा पुगेर टोलीले कोरोना भाइरस र समग्र हुम्लाको स्वास्थ्य अवस्था बारे जानकारी लिइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।

चीनमा रहेका एक नेपाली कोरोनाकोे त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट गाउँपालिका ३ लिमाटाङ्का एक जना व्यक्तिलाई कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरी राखिएको छ। त्यो खबर प्राप्त हुने वित्तिकै चिकित्सकको टोली हुम्ला पठाएका हौँ, निर्देशक रावल भन्छन्,‘आवश्यकता अनुसारका चिकित्सक पठाउने तयारी समेत भइराखेको छ।’

यसैगरी, जिल्ला प्रशासन कार्यालय जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र सामाजिक विकास कार्यालयले कोरोना रोकथामका लागि सचेतना कार्यक्रम थालिरहेका छन्।   कोराना भाइरस, यसका लक्षण र रोगथामका उपायका बारेमा सहजीकरण भइरहेको प्रतिष्ठानका विशेषज्ञ डा.धिरज गुरुङले जानकारी दिए। कोराना भाइरस संक्रमणको हल्लाले सिंगो कर्णालीबासी नै त्रसित छन्।

कर्णाली प्रदेश सरकारले कोरोना रोगथाम डेक्स राख्न निर्देशन दिएको छ। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान पुगेर कोरोना भाइरस रोगथाम नै महत्वपूर्ण भएकाले छुट्टै सहायता डेक्स राखेर अनुसन्धान थाल्न निर्देशन दिएका हुन्। उनले भने,‘कोराना भाइरस कर्णालीमा प्रवेश भइसकेपछि अपनाउनु पर्ने सबै विकल्पका बारेमा तयार रहनुस। यो रोग लाग्न नदिने उपायका बारेमा जानकारी दिनुस। यो नै अहिलेको उत्तम उपाय हो।’

कर्णालीमा स्वास्थ्यमा केही समस्या आईलागे प्रतिष्ठानको आशा ठूलो हुने भएकाले जनचेतना, व्यवस्थापन र रोगथाममा जोड दिन निर्देशन दिएका हुन्। उनले प्रतिष्ठानको उद्देश्य उपचार र उच्च शिक्षा मात्रै नभई अनुसन्धान पाटोलाई जोड दिन आवश्यक रहेको बताए। कोरोनाको बारेमा सबै जिल्ला स्वास्थ्यकर्मी र सरोकारवालाको उपस्थिति गराई ठोस योजनामा अघि बढ्न आग्रह गरे।

प्रकाशित: २२ फाल्गुन २०७६ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App