१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

न्यायपालिका अन्तिम आशा

काठमाडौं – न्यायपालिका जनताको अन्तिम आशा भएकाले न्यायाधीश, कानुन व्यवसायी सबैले न्याय दिलाउन लागिपर्नुपर्ने सरोकारवालाले बताएका छन्। सर्वाेच्च बार एसोसिएसनको ४७औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमका वक्ताहरूले कानुन व्यवसायीलाई आचार संहितामा बसेर काम गर्न आग्रह गरे।

कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाले जनतालाई न्याय परिलक्षित गरिरहेको बताए। आफूले नेतृत्व गरेको संस्थालाई बुद्धिले भ्याएसम्म स्वतन्त्र, सुदृढ बनाउन लागिपरेको उनको दाबी छ। ‘मैले नेतृत्व लिएको न्यायपालिका सुधार र परिमार्जन गर्न बुद्धिले भ्याएसम्म लागिपरेको छु’ उनले भने, ‘न्यायपालिकाको भूमिका स्वतन्त्र न्याय सम्पादन हो।’

सर्वोच्च बारको संस्थापक अध्यक्ष बरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ र वरिष्ठ अधिवक्ता बासुदेव ढुंगानाकोसमेत स्मृति दिवस मनाइएको थियो। प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई सक्षम, सुदृढ गराउन दुवैजनालाई सम्झँदै उनीहरूले खेलेको भूमिका सह्रानीय भएको बताए। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले न्यायाधीश, कानुन व्यवसायी दुवैलाई सोचेर काम गर्न आग्रह गरे। ‘समाज फौजदारीकरण हुँदैछ। कानुन व्यवसायी पेशामा बस्नुस्। न्यायलय जनताको अन्तिम आशा हो,’ उनले भने।

न्यायपालिका जनताको अन्तिम आशाको केन्द्र भएकाले यदि सर्वसाधारणले न्याय नपाए कमजोर मान्छे डिप्रेसनमा जाने र बलियो मान्छे पाखुरा सुर्केर आउने वरिष्ठ अधिवक्ता मैनालीले बताए। त्यसैले भविष्य सम्झेर काम गर्न न्यायाधीश र कानुन व्यवसायीलाई आग्रह गरे। त्यसैगरी वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले समाजमा जटिलता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले समाज बनाउन कानुन व्यवसायीको ठूलो भूमिका रहेको बताए।

नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीको आचरण सही ढंगले चलिरहेको छ कि छैन भन्ने प्रश्न गरे। कपितय कानुन व्यवसायीमाथि मुद्दा चलिरहेको भन्दै पारदर्शी ढंगबाट न्यायपालिकाको इज्जत राख्न सबैसँग आग्रह गरे।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App