११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

भीमेश्वरको शिलामा पसिना

बिहीबार मन्दिरको शिलामा पसिना आएपछि पुछिएको कपास सर्वसाधारणलाई बाँडिदै। तस्बिर: रमेश/नागरिक

दोलखा – प्राचीन सहर दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा बिहीबार पसिना आएको छ। भीमेश्वरको शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वास भएकाले राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने र सरकारका तर्फबाट बलि पूजा पठाउने चलन छ।

बिहीबार बिहान ६ः२५ देखि ८ः३० सम्म दुई घण्टा मन्दिरको शिलामा पसिना आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बिहान मन्दिरभित्र पूजा गर्न पसेका मुल पुजारी काशीनारायण श्रेष्ठले भीमेश्वरको शिला एक्कासी कालो र चम्किलो बनेर दायाँ र बायाँ भागबाट मानिसकै जसरी पसिना चुहिन थालेको देखेपछि वडाध्यक्ष विराजमान श्रेष्ठसहित स्थानीय र गुठियारहरूलाई खबर गरेका थिए। मन्दिर भीमेश्वर नगरपालिका–२ मा अवस्थित छ।

प्रत्यक्षदर्शीका अनुसार भीमेश्वरको कालो शिलाबाट पसिना आउँदा चम्किलो भएको थियो र पसिना तप–तप खसेको थियो। सुरुमा शिलाको दायाँ र बायाँपट्टिको माथिल्लो भागबाट पसिना खसेको वडाध्यक्ष श्रेष्ठले बताए। ‘खबर भएपछि हामी पुग्दा सुरुमा दायाँ र बायाँबाट पसिना बग्न सुरु गरेको थियो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछि बायाँ भागबाट मात्र २ घण्टा सम्म रोकिदै आउदै गरिरह्यो’।

पसिना आए लगत्तै मन्दिर पुगेका स्थानीय भरतनारायण प्रधानका अनुसार गुठियारहरू समेत बसेर चम्मर, मंयुरको प्वांख लगायतले सिलालाई हम्कीने गरेका थिए। पसिना आउन्जेल मन्दिरका घण्टा लगातार बजाईएको थियो। पसिना आएको अवधीभर ब्राम्हणहरूले एकाहोती रुद्री र चण्डी समेत पाठ गरेका थिए।

पसिना आएको खबर लगतै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा सहितका सुरक्षा अधिकारीहरू मन्दिर पुगेका थिए। जिल्लाका विभिन्न भागबाट ठुलो संख्यामा दर्शनार्थीहरू मन्दिरमा जम्मा भएका थिए। शिलामा आएको पसिना कपासले पुछ्ने चलन छ। पसिना पुछिएको कपास घरमा राख्दा मनले चिताएको कुरा पुग्ने जनविश्वास छ। पसिना पुछिएको कपास महाप्रसादका रूपमा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई पठाईने र सर्वसाधारणलाई बाडिने चलन छ।

राष्ट्रपतिले क्षमा पुजा पठाउने
मंगलबार पसिना आए लगतै स्थानीय प्रशासनले राष्ट्रपतिको कार्यालय र सरकारलाई जानकारी गराएको छ। सोहीअनुसार जिल्ला प्रशासनको तर्फबाट महाप्रसादका रूपमा पसिना पुछिएको कपास बोकेर सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको नेतृत्वमा स्थानीय वडाध्यक्ष विराजमान श्रेष्ठ, मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका पदाधिकारीहरू सहितको टोली शुक्रबार राष्ट्रपति कार्यालय जाने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महाप्रसाद पु-याएपछि राष्ट्रपति कार्यालयले सोही टोलीलाई मन्दिरमा क्षमा पूजा पठाउने चलन छ। सरकारका तर्फबाट गृह मन्त्रालयले समेत मन्दिरमा बलि पूजा पठाउने तयारी गरेको छ। यसअघि राजसंस्था हुँदा राजदरबारबाट राजाले क्षमा पूजा पठाउने चलन थियो।

दोलखा सहरको इतिहासका अध्येता तीर्थनारायण जोशीले मुलुकमा अनिष्ट हुनुअघि भीमेश्वरको शिलामा पसिना आउने गरेको बताए। ‘मुलुकमा भएका हरेक अनिष्ट र परिवर्तनअघि पसिना आएको रेकर्डमा भेटिन्छ,’ उनले भने। जोशीका अनुसार मन्दिरमा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालादेखि पसिना आएको रेकर्ड छ।

यसअघि, २०७४ असोज १० गते फूलपातीको अघिल्लो दिन दिउँसो २ः५५ बजे देखी ५ः१५ सम्म शिलामा पसिना आएको थियो। २०७२ वैशाख १२ को भूकम्पअघि २०७१ मंसिर ३०, फागुन १, २ र १५ गते गरेर चारपटक मन्दिरको शिलामा पसिना आएको थियो। एक सय ५० जनाभन्दा बढीको मृत्यु भएको जुरे पहिरो जानुअगाडि २०७१ जेठमा समेत भीमेश्वरको शिलामा पसिना आएको मन्दिरको रेकर्डमा उल्लेख छ।

यस्तै, राजतन्त्रको अन्त्य हुनुअघि २०६४, जनआन्दोलन सुरु हुनुअघि २०६१ र २०६२ मा पटक–पटक, राजदरबार हत्याकाण्डअघि २०५७ मा पटक–पटक, २०४६ सालको परिवर्तनअघि २०४५ मा, २०३६ सालमा पसिना आएको थियो। राजा महेन्द्रको मृत्यु हुनुपूर्व २०२८ साल, राजा त्रिभुवनको मृत्यु हुनुअघि २०११, राणा शासनको अन्त्य २००७, चार सहिदलाई मृत्युदण्ड १९९७ र महाभूकम्प १९९० सहित मुलुकमा विभिन्न घटनाक्रम हुनुअघि विभिन्न समयमा भीमेश्वरको शिलामा पसिना आएको मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App