नेकपा (एमाले) का नेता डा. भीम रावलले अनुदान वा ऋण जे भए पनि नेपालको हितमा हुनुपर्ने बताएका छन्।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता रावलले चिनियाँ परियोजना बीआरआईबारे विभिन्न बहस उठिरहँदा रावलले यस्तो बताएका हुन् । "ऋण वा अनुदान जे भए पनि त्यो नेपालको हितमा हुनुपर्छ। स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र आत्मनिर्णयको सार्वभौम अधिकारमा कुनै असर गर्नु हुँदैन," रावलले भनेका छन्।
विवादित अमेरिकी परियोजना एमसीसीको सन्दर्भ जोड्दै रावलले सरकारमा बसेकै मान्छेहरूले बहस अर्कैतिर मोड्न खोजेको आरोपसमेत लगाएका छन् । त्यो नेपालको संविधानविपरीत हुने उनले बताएका छन्।
'उक्त किसिमले सरकारमा रहनेहरूबाट भएगरेका कूटनीतिक/राजनीतिक काम-कुराहरू नेपालको संविधानको धारा ५१ विपरीत छन्,' उनले भनेका छन्। उनले यसलाई 'देशको हित प्रतिकूलको उल्टो कूटनीतिक बहस' भनेका छन्।
प्रकाशित: ११ मंसिर २०८१ १८:४२ मंगलबार