खोटाङ– पेशागत मर्यादा विपरित काम गरेको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकको सरुवा गरेको छ। पेशागत मर्यादा नाघेकामा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित दुधकोसी प्राविका शिक्षक तिर्थ भुजेललाई हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित जलेश्वरी प्राविमा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित लक्ष्मी आधारभुत विद्यालयका वलबहादुर बिकलाई हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित लक्ष्मी प्राविमा सरुवा गरेको हो।
विद्यालयमा नियमित नजाने, मादक पदार्थ सेवन गरेर विद्यालय पुग्ने, हप्तामा एक÷दुई दिन विद्यालयमा पुगे पनि पठन–पाठन नगर्ने, हाजिर नगर्ने लगायतका क्रियाकलाप दोहोर्याइ रहेकामा शिक्षकलाई सरुवा गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए। शिक्षकलाई सजाय स्वरुप एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरिएको नगरपालिकाले जनाएको छ।
यस्तै, नगरपालिकाले छड्के अनुगमनकाक्रममा विद्यालयमा अनुपस्थित पाइएका ११ शिक्षकलाई स्पष्टीकरण सोधेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा तथा नगरका कर्मचारीले गरेको छड्के अनुगमनकाक्रममा विद्यालयमा अनुपस्थित देखिएका शिक्षकलाई लिखित स्पष्टीकरण माग गरेको हो। प्राप्त स्पष्टीकरणका आधारमा कारबाहीको प्रकृया अघि बढाइने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। शैक्षिक सत्र २०७६ लाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको नगरपालिका पदीय आचारण विपरित काम गर्ने शिक्षकलाई कारबाही गर्दै आएको छ।
पेशागत दायित्वबाट च्यूत भएको भन्दै नगरपालिकाले गत कात्तिकमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई अवकाश दिएको थियो।
प्रकाशित: ८ फाल्गुन २०७६ ०९:५७ बिहीबार