coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चार हजार मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौं– धोबीखोला (रुद्रमती) सफाइ अभियानले ६ वर्ष अर्थात् तीन सय १२ हप्ता पूरा गरेको छ। २०७० फागुन ३ गतेबाट सुरु भएको सफाइ अभियानका क्रममा चार हजार ६ सय मेट्रिक टन फोहोर संकलन तथा व्यवस्थापन भएको अभियानकर्मीले जनाएका छन्। यस अवधिमा सफाइका लागि तीन सय ५० संस्थागत, एक लाख ५६ हजारभन्दा बढी व्यक्ति अभियानमा सहभागी भए।

धोबीखोला सफाइ अभियानले ६ वर्ष पूरा गरेको अवसरमा शनिबार काठमाडौंको सेतोपुलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा विशेष योगदान गर्ने संस्थाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ अभियानमा थप प्रतिबद्ध हुन स्थानीय तथा सरोकारवालालाई प्रेरित गरे। सफाइ अभियानमा रुद्रमती समन्वय समितिले पु-याएको योगदानको प्रशंसा गर्दै उनले नदीमा स्वच्छ पानी प्रवाह भएपछिमात्र सफाइ अभियानको परिणाम देखिने बताए। ‘नदीमा ढल मिसाइएको छ। नदीकिनारका सार्वजनिक जग्गा मिचिएका छन्,’ उनले भने, ‘यस्तो प्रवृत्तिले नदी र मानिस दुवैको सभ्यता गुम्छ। नदी र नागरिक दुवै जोगाउने दायित्व महानगरपालिकाको हो।’

महानगरलाई सफाइको काम गर मात्र भनेर नहुने, पूर्वाधार विकासको जिम्मेवारी नदिने हो भने यसले कहिले परिणाम नल्याउने महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताइन्। ‘हामीले सफा गरेको ठाउँमा अर्को आएर खाडल बनाइदिन्छ। त्यहाँ त्यत्तिकै फोहोर भइहाल्छ नि !,’ उनले भनिन्, ‘पूर्वाधार निर्माणको काम पनि महानगरमा आउने हो भने काम गर्न सजिलो हुन्छ।’ धोबीखोला समन्वय समितिका सहसंयोजक वासुदेव मरासिनीले ६ बर्से अभियानको उपलब्धि प्रस्तुत गर्दै नदी सफाइका अतिरिक्त नदीको सुन्दरता, हरियाली विकास र ट्राफिक व्यवस्थापन, धोबीखोला करिडोर निर्माणलगायत कार्यमा क्रमशः उपलब्धि देखिँदै गएको बताए।

आगामी २१ हप्ते महाअभियान
यसैबीच, धोबीखोला अर्थात् रुद्रमती नदी सफाइ अभियान ६ वर्ष पूरा भएसँगै मुहानदेखि दोभानसम्म लक्षित २१ हप्ते विशेष महाअभियान घोषणा गरिएको छ। जसमा नियमित सफाइका साथै धोबीखोलाको नदीकिनारका विद्यालयका विद्यार्थीको सहभागितामा धोबीखोलाबारे निबन्धलेखन प्रतियोगिता गर्ने, नदी किनारमा वृक्षरोपण र हरियाली प्रवद्र्धन गर्नेलगायत कार्यक्रम रहेको धोबीखोला आयोजनाका सहसंयोजक वासुदेव मरासिनीले बताए। कालोपुलदेखि रातोपुलसम्मको क्षेत्र र वडा ९ को रातोपुलदेखि सेतोपुलसम्मको क्षेत्रलाई स्रोतमा फोहर वर्गीकरण, विशेष सरसफाइ र सफाइमा आमनागरिकलाई जिम्मेवार बनाउने लक्ष्य पनि राखिएको मरासिनीको भनाइ छ। धोबीखोला करिडोरलाई सरसफाइका कोणबाट नमुना क्षेत्र बनाउने अभियानको लक्ष्य छ। नदी किनारको केही स्थानमा रुद्रमती स्मारक/पार्क निर्माण गरिने पनि अभियानकर्मीले जनाएका छन्।

प्रकाशित: ६ फाल्गुन २०७६ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App