७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेमको प्रतीक रानीमहल !

तस्वीर:प्रेमको प्रतिक रानीमहल। मुक्ति/नागरिक

पाल्पा - पाल्पा र स्याङ्जाको सिमानामा पर्ने रानीमहल दरबारमा पछिल्ले समय निक्कै चहलपहल बढेको छ। खड्ग शमशेरले युयानी शैलीमा बनाएको दरबारमा प्रेम साटासाट गर्ने युगल जोडीहरुको भीड थपिँदो छ। तानसेन नगरपालिका–१३, मा रहेको रानीमहलमा युवायुवतीहरु एक हप्ता अगाडिदेखि नै ‘भ्यालेन्टाइन विक’ मनाउँदै छन्। जसको साक्षी बनेर उभिएको छ, कालीगण्डकीको किनारमा रहेको रानीमहल। फेब्रुअरी ७ दिनसम्म मनाइने प्रेम दिवसका अवसरमा युवा युवतीहरु यता आउने क्रम बढ्दो छ।

आजको (फेब्रुअरी १४) दिन यहाँ युवायुवतीहरु रानीमहललाई साक्षी राखेर जीवनका बाचाहरु गर्दैछन्। भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि महत्वपूर्ण दिन हो। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुले प्रणय दिवसलाई निकै महत्वका साथ लिन्छन्। प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेले मायाका भावहरु भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसमा अभिव्यक्त गर्छन्। प्रेम आफैँमा एउटा अनुभूति हो। प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग उत्पन्न गराउने गरेको छ।

भ्यालेटाइन डे ! धेरै मनबीचको पर्खाल भत्काउँने दिनका रुपमा लिने युवायुवतीहरु छन्। जहाँ प्रेममा अवरोध हुन्छ, त्यसलाई चिरेर मनभित्र मन मिलाउने अवसरकार रुपमा यसलाई लिन्छन्। वर्ष दिनको सबैैभन्दा रोमान्टिक दिनका रूपमा मानिने ’भ्यालेन्टाइन डे’ का लागि मान्छेहरू मायाँ र प्रेम बाँड्न आतुर हुन्छन्।  आ–आफ्नै तरिकाले फूल, कार्ड, चकलेट, उपहार, किनमेल गरेर आकर्षक ठाउँमा पुगेर। त्यो आकर्षणको स्थान बनेको छ, रानीमहल।

प्रणय दिवसको दिन यहाँ सयौं जोडीहरुले प्रेम साटासाट गर्ने गर्छन्। सच्चा प्रेमको प्रतिक ठानिने रानिमहलमा यो दिवसमा दिन प्रेम जोडीहरुको प्रमुख गन्तव्य बन्ने गरेको छ। १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। तानसेन नगरपालिकाको बौघागुम्हा र वगनाशकाली गाउँपालिकाको खानीगाउँ गाउँको बिचमा अवस्थित छ, रानीमहल युवापुस्ताको पहिलो रोजाईमा पर्ने गरेको छ।

‘भ्यालेन्टाईन वीक’ मनाउन रानीमहल आइपुगेका युवायुवतीहरुले आफूहरुले फरक अनुभूति पाएको बताए। रानीमहलका होटल व्यवसायी युवा शुसील कुँवरले हजारौंको संख्यामा रानीमहलमा युवायुवतिहरु थपिँदै गरेको बताए। उनी भन्छन्, ‘अब स्थानीय सरकारले यसलाई बृहत्तर योजना बनाएर अगाडि बढाउनुपर्छ।’ रानीमहल छेउमा होटल गर्दै आएका कृष्ण पाण्डेले रानीमहलमा भ्यालेन्टाईन वीक मनाउनेहरु बढ्दै गएको तर यसको उचित व्यवस्थापन गर्न नसकिएको बताए। उनी भन्छन्, स्थानीय तहमा रानीमहल आएको छ। यसको बृहत योजना बनाएर एउटा नेपालकै नमूना प्रेम साटासाट गर्ने गन्तव्य बनाउन सकिन्छ। जुन कालीगण्डकी किनारमा अवस्थित छ।’

१९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाइएको छ नेपालको ताजमहल। यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ।

१९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग-यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए। चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथी आफ्नो हातमा लिए। आफूमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए। त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ। तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ। प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ। दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास छ। त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ।

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई युवायुवतीमात्र होईन सच्चा प्रेमको प्रतिक बन्ने गरेको छ। धार्मिक र प्रर्यटकीय रुपले अति महत्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App