१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालीनाली जोगाउन जाग्राम

महेन्द्रनगर- मध्यरातमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको एक हात्तीले उनको घरमाथिका टाइल तहसनहस गरेको छ। वृद्धा पार्वती खड्कालाई मंगलबार रातभरी निन्द्राले छोएन। घरको आगनमैं जंगली हात्ती आएपछि उनको निन्द्रा भङ्ग भएको हो।

यो पार्वतीको पीडा मात्र होइन। ‘म पल्लो घरमा सुतेको थिए। राती हात्ती कराएको आवाज सुने।’ भीमदत्त नगरपालिका १६ परखेडी निवासी वृद्धा पार्वतीले दुखेसो पोख्दै भनिन्, ‘धन्न बुहारी नातिनीलाई केही भएन। हात्ती कराएको आवाज सुनेपाछि गाउँलेले पटाका पटकाएपछि, हात्ती भाग्यो।’

हात्तीले उनको घर छेउमैं रहेको घटाल बाबा थानमा पनि नोक्सानी गरेको राप्रपाका वडा अध्यक्ष तथा स्थानीय मुकुन्दराज अवस्थीले बताए। ‘मध्यरातमा गाउँ पसेको हात्तीले वृद्धा खड्काको घर, घटाल बाबा थान र केही किसानको गहुँबाली समेत नोक्सान गरेको छ।’ उनले भने।

मध्यवर्ती क्षेत्रको यो वडा मात्रै नभई छिमेकी १४ नम्बर वडा र १३ मा पनि केही दिनअघि हात्तीले गाउँ पसेर आतंक मच्चाएको थियो। शुक्लाफाँटाको पश्चिम दक्षिणमा केही समयअघि विद्युतीय तारबार जोडिएको भएपनि सफल नभएको उनको भनाई छ। ‘तारमा टाढाबाट विद्युत सप्लाई हुन्छ। त्यसको केही भर हुन्न। गाउँलेसंग भएका पटाका पनि सकिएका छन्।’ अवस्थीले थपे।

खड्काको घर छेउमै बस्ने धनबहादुर बोहरा पनि मंगलबार राति हात्तीको चपेटाबाट बाँचेको बताउँछन्। ‘हल्ला सुनेर दैलोबाहिर निस्केको थिए। झण्डै हात्तीलेमैमाथि आक्रमण गरि सकेको थियो।’ उनले रातिको घटनाबारे सुनाए। किसानको सपना बालीनाली राम्ररी घर भित्र्याउन पाउने। जसले वर्षभरी खान र लाउन पुगोस्। तर, मध्यवर्ती क्षेत्रका किसानको हकमा यो भने हुन सकेको छैन।

चर्को घाम र पानी, हिउँदमा चिसोको बेवास्ता गरी खेतमा उब्जाएको अन्नबाली एकै रातमा वन्यजन्तुले सखाप पार्दै आएको आर्का पीडित चन्द्रबहादुर साउँद बताउँछन्। वर्षौदेखि यहाँका किसान र वन्यजन्तुबीच यस्तै संघर्ष चलिरहेको छ। कष्टगरी उब्जाएको अन्नबाली सधैं नोक्सान गरि जान्छन्।’ यहाँका किसानले खेतमा अन्न छरे र रोपेदेखि घरभित्र नथुपार्दासम्म दिनरात त्यसको निगरानी गर्नुपर्ने बाध्यता छ। जसको कारण वन्यजन्तु नै प्रमुख हुन्।

हात्ती मात्रै नभएर यहाँका किसानको बालीनाली चित्तल, बदेल, बाँदर लगायतका वन्यजन्तुले नोक्सान गर्ने गरेको भीमदत्त नगरपालिका–१६ परखेडीका भुवन साउँदले भने।

पछिल्लो समयमा स्थानीयलाई  बाँदरले पनि धेरै हैरान पारेको छ। घर आगनमै पसेर बाँदरले अन्नबालीसंगै सागसब्जी र फलफूल खाएर जाने गरेको स्थानीयले बताए। निकुञ्जले प्रवेशद्वारदेखि केहि दुरीसम्म कंक्रिट पर्खाल र त्यसपछि तारबार निर्र्माण र मर्मत सम्भार गरेपनि जंगली जनावरको आतंक भने स्थानीयका लागि टाउको दुखाई नै बनेको छ। क्षतिपूर्तिका निम्ति निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनमा निवेदन दिए पनि उचित क्षतिपूर्ति नपाईने तथा लामो समयसम्म सुनुवाई समेत नहुने भइरहेको स्थानीयको गुनासो छ।

प्रकाशित: १ फाल्गुन २०७६ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App