बनेपा – काठमाडौं विश्वविद्यालय (केयु)अन्तर्गतको धुलिखेल अस्पतालले ‘मेडिको लिगल’ (कानुनी चिकित्सा) सेवा सञ्चालन गर्ने भएको छ। यसका लागि फरेन्सिक मेडिसिन एन्ड टक्सिकोलोजी विभागमा सबै तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ।
‘विगतमा शव परीक्षणलगायत मेडिको लिगल कार्य सरकारी अस्पतालमा गरिनु पर्ने व्यवस्था थियो। मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐनअन्तर्गत मेडिको लिगल सेवा सञ्चालन निर्देशिका, २०७५ अनुसार हामीहरूले पनि यो कार्य गर्ने स्वीकृति पाएका छौं,’ फरेन्सिक मेडिसिन विभागका प्रमुख एवं एसोसियट प्रोफेसर डा. राजकुमार कार्कीले जानकारी दिए।
काभ्रेमा सरकारी जिल्ला अस्पताल नभएकाले हालसम्म शव परीक्षणका कार्य शीर मेमोरियल अस्पतालमा हुँदै आएको छ। तर, शव परीक्षणमा फरेन्सिक डाक्टरको साटो प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सरकारी मेडिकल अधिकृत संलग्न हुँदै आएका थिए। ‘हामीसँग फरेन्सिक मेडिसिनमै एमडी गरेका ३ जना चिकित्सक र एक जना तालिमप्राप्त प्राविधिक जनशक्ति छ। शव परीक्षण सेवा २४ सैं घन्टा प्रदान गर्ने गरी पूर्वाधार र जनशक्ति तयार गरिसकेका छौं,’ कार्कीले थपे।
स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताललाई हालैमात्र शव परीक्षणको अनुमति दिएको हो। केएमसीले भक्तपुरको लागि र धुलिखेल अस्पतालले काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका लागि स्वीकृति पाएको हो।
‘हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसारको अटोप्सी ल्याब बनाएका छौं। शव परीक्षण (अटोप्सी) फरेन्सिक विज्ञले मात्रै गर्नुपर्ने कुरा उठेको धेरै समय भइसकेको थियो। यस ल्याबमा मेडिको लिगल अटोप्सीबाहेक क्लिनिकल अटोप्सीको समेत सेवा सुरु गर्ने योजनामा छौं,’ केयु, स्कुल अफ मेडिकल साइन्सेजका एसोसियट डिन डा. रमेश माकजुले भने।
एमबिबिएस अध्ययनरत विद्यार्थीले फरेन्सिक मेडिसिन विषय अनिवार्य रूपमै पढ्नु पर्ने भए पनि मेडिकल कलेजमा मेडिको लिगल काम गर्न विगतको कानुनले निषेध गरेको थियो। यही कारणले एउटा पनि प्राक्टिकल केस नहेरी विद्यार्थी एमबिबिएस उत्तीर्ण हुँदै आएका थिए। यिनै विद्यार्थीले लोकसेवा पास गरेर मेडिकल अधिकृत हुनेबित्तिकै मेडिकल लिगल सेवा दिनु पर्ने अवस्था विद्यमान थियो।
‘नयाँ कानुनबाट हामीले स्वीकृति पाएसँगै फरेन्सिक विभागमै एमबिबिएसका विद्यार्थीले इन्टर्नसिप गर्ने र मेडिको लिगलका बारेमा व्यवहारिक ज्ञान पाउने व्यवस्था मिलाइएको छ। अब ‘पासआउट’ हुने विद्यार्थीले सैद्धान्तिकमात्रै नभई मेडिको लिगलका बारेमा प्रणालीगत अनुभव हासिल गर्न सक्ने अवसर आएको छ। यसबाट मेडिको लिगलको क्षेत्रमा राज्यलाई समेत ठुलो सहयोग हुनेछ,’ माकजुले थपे।
काभ्रेका पुराना मानवअधिकारकर्मी भोजराज तिमल्सिनाका अनुसार मानव शरीरविरुद्ध हुने अपराधमा कानुनी चिकित्साविद्को प्रतिवेदन र प्रमाणले ठूलो महत्व राख्छ। उनी भन्छन्, ‘अदालतलाई सबुत प्रमाणको रूपमा चिकित्सकले जाँच गरी प्रतिवेदन दिनु पर्ने हुन्छ। तर, कानुनी चिकित्साबाहेकका अन्य विधाका मेडिकल अधिकृतले यस्तो प्रतिवेदन बनाउने क्रममा हुनसक्ने सामान्य त्रुटिले पनि पीडितले न्याय नपाउने अवस्था आउन सक्छ। त्यसैले पनि शव परीक्षणको काम फरेन्सिक डाक्टरले गर्नु सान्दर्भिक हुन्छ,’ तिमल्सिनाले थपे।
मेडिको लिगल सोसाइटी अफ नेपाल महासचिव एवं केएमसीको फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. जेनश आचार्यले पछिल्लो समय मुलुकमै मेडिको लिगल सेवा प्रदान गर्न सक्षम फरेन्सिक डाक्टरको बाहुल्य रहे पनि सरकारी मान्यता नपाउँदा सेवा दिनलाई कठिनाई भइरहेको दृष्टान्त दिए। उनले भने, ‘हामीले सबै पूर्वाधार र जनशक्ति भएर पनि सरकारी स्वीकृतिका लागि ६ वर्षसम्म कुर्नुप¥यो। केयुको आफ्नै मेडिकल कलेजले ४ वर्षमा बल्ल पाएको छ,’ उनले भने, ‘नेपालमा ५० भन्दा बढी फरेन्सिक मेडिसिन विज्ञ उपलब्ध रहेका र कुनै न कुनै मेडिकल कलेजमा कार्यरत छन्। सरकारले उनीहरूबाट मेडिको लिगल सेवा प्राप्त गर्ने बाटो खोलिदिएमा मेडिको लिगल रिर्पोट र विशेषज्ञ रायले न्याय सम्पादनमा निकै महत्व राख्ने थियो,’ आचार्यले थपे।
प्रकाशित: २८ माघ २०७६ ०३:५७ मंगलबार