६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

वुहानबाट नेपाली विद्यार्थीको उद्धार फागुन पहिलो साताभित्र

काठमाडौं – चीनको वुहान सहरमा रहेका नेपाली विद्यार्थीलाई माघको पहिलो साताभित्र उद्धार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। गत साता नै ल्याउने निधो गरे पनि नेपालमा उद्धार गरेकाहरूका लागि क्वारेनटाइनस्थल प्रक्रिया तथा अन्य प्राविधिक तयारीका लागि ढिलाइ भएपछि नेपाल ल्याउन थप दुई सातभएको परराष्ट्र मामिला मन्त्री प्रदिप ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए। सरकारले चीन सरकारसित विभिन्न छात्रावासमा बन्द अवस्थामा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा बाहिर ल्याउन गरेको अनुरोधमा चीन तयार रहेको उनले बताए। ‘चीनले सुरक्षित रूपमा छात्रावासबाट निकाल्छौं भनेको छ। हाम्रो तयारी पूरा हुने बित्तिकै फागुनको पहिलो साता ल्याउँछौं,’ सचिव नेपालीले भने। अघिल्लो साता नै विद्यार्थीको उद्धार गर्ने घोषणा गरिए पनि नेपालले दुई साता ढिला गरी मात्र ल्याउने सम्भावना देखिएको छ।

अन्य देशहरूको हकमा संक्रमणमा आवश्यक क्वारेनटाइन पहिल्यै तयारी अवस्थामा रहेकाले आफ्ना नागरिक चीनबाट छिटो उद्धार गर्न सकेको र नेपालमा सबै तयारी गर्नुपर्ने प्रक्रियाले गर्दा ढिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा सरकारले क्वारेनटाइनस्थल, स्वास्थ्य, सुरक्षा निकाय, सैनिक सबैलाई उद्धार, एयरपोर्ट तयारी, हवाइजहाज तयारी, एम्बुलेन्स लगायत तयारीमा समय लागेको जनाएको छ। सोमबार मन्त्रालयले उद्धार गरिएका विद्यार्थीको स्वास्थ्य परीक्षणदेखि अन्य प्रक्रियाका लागि आवश्यक तालिम दिएको छ। उद्धार गरिएका विद्यार्थीलाई आवश्यक परेमा राख्नका लागि एक सय ४७ वटा आइसोलेसन शड्ढया तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। यसका लागि सिभिल अस्पताल, सैनिक अस्पताल, वीर, टिचिङ र पाटन अस्पताल हब अस्पतालका रूपमा छनोट गरिएका छन् भने अन्य ३६ वटा सेटलाइट अस्पतालको रूपमा रहेका छन्। त्यसैगरी पाँच वटा एम्बुलेन्स तयारी अबस्थामा राखिएको छ।

त्यसैगरी राजधानीका दुई स्थलहरूमा क्वारेनटाइन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता सागर दाहालले बताएका छन्। क्वारेनटाइनस्थलको व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।

आफ्ना छोराछोरीको उद्धारमा सरकारले ढिला गरेको भन्दै नेपाली विद्यार्थीका नेपालस्थित अभिभावकहरू तीन सातादेखि नै स्वास्थ्य मन्त्री, प्रधानमन्त्री र राष्ट्रिय मानवअधिकार आयोगका आयुक्तलाई भेटेर ज्ञापन–पत्र बुझाउने, धर्ना दिने गतिविधि गरिरहेको छन्। राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त अनुपराज शर्माले विद्यार्थीको नेपाल आउन पाउने मानवअधिकार हनन भइरहेको र यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका थिए।

हालसम्म चीनबाट नेपाल आएकामध्ये नोवल कोरोना संक्रमणको आशंकामा १८ जनामा परीक्षण गरिएकोमा एक जना विद्यार्थीमा मात्र पोजिटिभ र बाँकी सबैमा नेगेटिभ देखिएको छ। अस्पतालका प्रवक्ता डाक्टर अनुपरोज बास्तोलाका अनुसार शंकाको भरमा अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएकाको संख्या भने ९० जना पुगेको छ। नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य नाकाहरू केरुङ र रसुवामा हेल्थ–डेस्क राखेको छ।

प्रकाशित: २८ माघ २०७६ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App