१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

एसइईको नमूना परिक्षा लिँदै पञ्च मावि

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले एसइईको पूर्वतयारीमा नमूना परिक्षा सुरु गरेको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्दै एसइईमा हुने कठिनाई समाधानका लागि पञ्च माबिले नमूना परिक्षा सुरु गरेको हो।

शैक्षिकसत्र २०६९/०७० यता जिल्लामै सन्तोषजनक नजिता देखाइरहेको विद्यालयले पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा लिएको छ। काठमाडौंमा प्रश्नपत्र तयार पारेर केन्द्राध्यक्ष तथा निरीक्षक नै व्यवस्था गरेर एसइईको मोडल परिक्षा सञ्चालन गरिएको प्रअ भवकृष्ण ढकालले बताए। विद्यार्थीलाई एसइई परिक्षामा सामेल हुन मानसिकरुपमा तयार पार्नका लागि नमूना परिक्षा सञ्चालन गरिएको हो।

‘नमूना परीक्षालाई मर्यादित ढंगबाट सञ्चालन गर्नका लागि काठ्माण्डौंमा प्रश्नपत्र बनाएर ल्याएका छौँ,’ प्रअ ढकाल भने, ‘एसइईको परिक्षा जसरी सञ्चालन गरिन्छ त्यसरी नै केन्द्राध्यक्ष तथा निरीक्षक खटाएर परीक्षा सुरु गरेका छौँ। म कति लेख्न सक्ने रहेछु भन्ने विद्यार्थीको क्षमता मापन गर्नका लागि नमुना परीक्षा फलदायी हुने अपेक्षा गरिएको छ।’

२०२४ सालमा स्थापना गरिएको विद्यालयका ५७ जना विद्यार्थीले एसइईको नमुना परीक्षा दिइरहेका छन्। एसइईको परिक्षा सञ्चालनका क्रममा अपनाइने सबै मापदण्ड अनुशरण गरेर सिम्बोल नम्बरको आधारमा परिक्षा सञ्चालन गराइ रहेको विद्यालयले जनाएको छ। विज्ञ झिकाएर कोडिङमार्फत परीक्षण उत्तरपुस्तिका जाँच गराएर नतिजा प्रकाशन गरिने प्रअ ढकालले बताए।

कुनै वर्ष एसएलसी (एसइई) मा सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट माविका रुपमा दर्ज हुँदै आएको पञ्च माविले कुनै वर्ष जिल्लामै उत्कृष्ट अंक ल्याएर एसएलसी (एसइई) उत्तिर्ण गर्ने छात्र/छात्रा जन्माउँदै आएको छ। शैक्षिकसत्र २०७१/०७२ को एसएलसीमा ८५ प्रतिशत परीक्षार्थी उत्तिर्ण गराएर खोटाङमै उत्कृष्ट विद्यालय बनेको पञ्च माविले एसइईमा उत्कृष्ट नतिजा ल्याएको आधारमा गत वर्ष १ नम्बर प्रदेशबाट जिल्लाकै उत्कृष्ट विद्यालयको पुरस्कार थापेको थियो।

राष्ट्रिय शैक्षिक गुणस्तर मापन केन्द्रको सूचक पूरा गरेका आधारमा उत्कृष्ट ठहरिएका माविलाई सामाजिक विकास मन्त्रालय तथा क्षेत्रीय शिक्षा कार्यालय धनकुटाले २९ औं शिक्षा दिवसको अवसरमा २०७५ साल भदौ २३ गते ५ लाख अनुदान प्रदान गरेको थियो भने सामाजिक विकास मन्त्रालयले ३० औं शिक्षा दिवसको अवसरमा २०७६ साल भदौ २३ गते २ लाख अनुदान प्रदान गरेको थियो। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि गत असार १८ गते नगर दिवशका अवसरमा ५० हजार राशीको उत्कृष्ट प्रोत्साहन  पुरस्कार प्रदान गरेको थियो।

शैक्षिकसत्र २०६९/०७० मा पञ्च माविका छात्र बोलराज आचार्य र शैक्षिकसत्र २०७१/०७२ मा विनोद आचार्य जिल्लामै सबैभन्दा बढि अंक ल्याएर एसएलसी उत्तिर्ण गर्ने छात्र बने भने शैक्षिकसत्र २०७२/०७३ मा सविता राउतले ‘ए’ प्लस, शैक्षिकसत्र २०७३/०७४ मा सचिन पोखरेलले ‘ए’ ग्रेड र शैक्षिकसत्र २०७४/०७५ मा विवश ढकाल र रियन आचार्यले ए’ ग्रेड ल्याएर एसइई उत्तिर्ण गरेको विद्यालयले जनाएको छ।

 

प्रकाशित: २६ माघ २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App