९ असार २०८१ आइतबार
image/svg+xml
समाज

धिमे बाजाले गुन्जियो भक्तपुर

भक्तपुर - शनिबार भक्तपुरमा कुनै चाडपर्व थिएन। न त जात्रा, न त कतै ठूलो भोजभतेर अनि सभासमारोह नै। तर, यस्तै चाडपर्व, जात्रापर्व, भोजभतेर अनि सभासमारोहमा बजाइने धिमे बाजाले शनिबार बिहानदेखि दिनभर भक्तपुर नगर गुन्जायमान बन्यो।

भक्तपुर नगरपालिकाको आयोजनामा जिल्लास्तरीय धिमे बाजा प्रतियोगिताको क्रममा प्रतिस्पर्धी सबै बाजा टोलीलाई बाजा बजाएर बजार परिक्रमा गराउन लगाएपछि धिमे बाजाले पुरै नगर गुन्जायमान हुन पुगेको हो। प्रतिस्पर्धी प्रत्येक धिमे टोलीलाई भक्तपुर नगरपश्चिममा रहेको इनागबाट बाजा बजाएर नगर परिक्रमा गर्न लगाइएको थियो। त्यहाँबाट भार्बाचो, टेखापुखु, वंशगोपाल, नासमना, बुल्चा, टौमढी, क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो हुँदै नगरको पूर्वमा रहेको दतात्रयसम्मको रुट छुट्याइएको थियो।

प्रतिस्पर्धी टोलीलाई ३० देखि ५० मिटरको फरकमा राखेर नगर परिक्रमा गराइएको थियो। यति फरकमा दिनभर लहर रहेपछि धिमे बाजाले नगर गुन्जायमान बन्यो। आयोजकका अनुसार प्रतिस्पर्धामा ७७ वटा टोली सहभागी भएका छन्। एकै दिन प्रतियोगिता सम्पन्न गराउने योजना रहेको थियो। तर, सोचेभन्दा बढी प्रतिस्पर्धी सहभागी हुन आएपछि एकै दिन सबैलाई नगर परिक्रमा गराउन नभ्याउने भएकाले प्रतियोगिता शनिबार र आइतबार दुई दिन हुने गरी लम्ब्याउनु परेको आयोजकले जनाएको छ। प्रतिस्पर्धीमध्ये पहिलो दिन शनिबार ४० वटा प्रतिस्पर्धी टोलीलाई बाजासहित बजार परिक्रमा गराइएको र बाँकीलाई आइतबार बजार परिक्रमा गराउने योजना रहेको छ।

प्रतियोगीमध्ये उत्कृष्टलाई आइतबार साँझ पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ। यसका लागि एक सय पूर्णांकमा टोलीहरूको मूल्यांकनको व्यवस्था गरिएको छ। ८० पूर्णांक स्थलगत मूल्यांकनमा छुट्याइएको छ। त्यसका लागि प्रत्येक टोलीले बजार परिक्रमाको अन्तिम स्थल दतात्रयमा बाजा बजाएर देखाउने छन्। यहाँ गरिने ८० पूर्णांक ६ भागमा विभाजन गरिएको छ। बोल, ताल र लयकारीमा ३०, समयको परिपालनमा पाँच, अनुशासनमा पाँच, हाउभाउमा १०, वेशभूषामा १० र प्रस्टतामा २० पूर्णांक राखिको छ। उता बजार परिक्रमाको क्रममा राखिएको २० पूर्णांक पनि चार भागमा छुट्याइएको छ। २० पूर्णांकमा बोल, ताल र लयकारीमा पाँच, संख्यामा पाँच, अनुशासनमा पाँच र आकर्षणमा पाँच पूर्णांक छुट्याइएको छ। मूल्यांकनका लागि ठाउँठाउँमा मूल्यांकन टोली व्यवस्था गरिएको छ।

आयोजक भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला, संस्कृतिलाई जोगाइ राख्न प्रतियोगिता आयोजना गरेको बताए। भक्तपुर महोत्सवको सिलसिलाको रूपमा सो प्रतियोगिता गराइएको उनले बताए। भक्तपुर महोत्सव चैत ४ देखि ८ गतेसम्म हुँदै छ।

प्रकाशित: २६ माघ २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App