२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश राजधानीमा ‘स्मार्ट शौचालय’

पिपल चौतारीमा निर्माण भएको स्मार्ट शौचालय उद्घाटन गर्दै नगर प्रमुख देवकुमार सुवेदीलगायत । तस्बिर: नगेन्द्र/नागरिक

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पिपल चौतारी सार्वजनिक सभा सम्मेलन हुने प्रमुख ठाउँ हो। पिपल चौतारी नजिकै दुई वटा विद्यालय पनि छन्। प्रायः दैनिक हुने सभा सम्मेलनमा सहभागी हुनेहरुका लागि नजिकै सार्वजनिक शौचालय भने थिएन। होटल, व्यक्तिका घर र सार्वजनिक ठाउँमा शौच गर्नुपर्ने बाध्यता थियो। त्यहीँ पिपल चौतारीमा शुक्रबारदेखि पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त शौचालय सञ्चालनमा आएको छ।

‘स्मार्ट शौचालय’ भित्र जाँदा स्वचालित उपकरणको सहायतामा बत्ती बल्छ र निस्कँदा निभ्छ। शौच सकिएपछि स्प्रे र पुछ्ने कागजको व्यवस्था गरिएको छ। हात धुन झोल साबुन र पानी आफैं खस्छ। हात सेकाइसकेर बाहिर निस्कँदा स्वचालित उपकरणले भुइँमा पानी झार्छ र फोहोर पखाल्छ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले कर्णाली प्रदेशमै पहिलो स्मार्ट शौचालय सञ्चालनमा ल्याइएको बताए। ‘प्रदेश राजधानीको सबैभन्दा व्यस्त ठाउँमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएका छौं,’ मेयर सुवेदीले भने, ‘अरु स्थानहरुमा पनि बनाउँदैछौं।’ उनले वीरेन्द्रनगरभित्र ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइने बताए। मेयर सुवेदीले सार्वजनिक स्थलमा अपाङ्ग र महिलामैत्री शौचालय नगरपालिकाको प्राथमिकतामा रहेको बताए।

एसएनभीको ३७ लाख र वीरेन्द्रनगर नगरपालिका वडा नम्वर–९ को पाँच लाख रुपैयाँको लागतमा स्मार्ट शौचालय सञ्चालनमा आएको हो। एसएनभीले तीन वर्षसम्म सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने छ। ‘पहिलो स्मार्ट शौचालय भएकाले यसको प्रयोगमा सुरुमा केही अप्ठ्यारो हुन्छ,’ एसएनभीका लेखविक्रम शाहले भने, ‘त्यसैले तीन वर्षसम्मका लागि दुई जना तालिम प्राप्त कर्मचारी पनि राखेका छौं।’

वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले पिसाव फेरेको पाँच रुपैयाँ र दिसा गरेको १० रुपैयाँ शुल्क लिइने छ। ‘यसरी उठेको रकमबाट शौचालयको अघाडी पार्क बनाउने योजना बनाएका छौं,’ उनले भने। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले महिला शौचालयमा सनेटेरी प्याडको पनि व्यवस्था गरिने बताए।

 

प्रकाशित: २४ माघ २०७६ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App