१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सहिद सप्ताहमा सहिद श्रेष्ठ र चन्दको शालिक अनावरण

काठमाडौं- सहिद सप्ताहका अवसरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ। शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन्।

काठमाडौं महानगरपालिका वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ। शालिक निर्माणमा करिब १८ लाख रुपैयाँ खर्च भएको छ। शालिक महेश तुलाधरले निर्माण गरेका हुन्। सहिदहरुको शालिक अनावरण गर्दै मेयर शाक्यले उनीहरुले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पु¥याउन शालिक निर्माण गरिएको बताए।

हामी मरेर गए पनि सहिदहरुले राष्ट्रका लागि गरेको योगदान सबैले सम्झिने भएकाले महानगरपालिकाले सप्ताहको अवसरमा शालिक निर्माण गरेको उनले बताए। मेयर शाक्यले सहिद सप्ताहको अवसरमा सहिद गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोडको सम्झौता गरिएको पनि बताएका छन्। शाक्यले १६ गते धर्मभक्त माथेमाको सम्झनामा वडा नम्बर २३ मा धर्मभक्त स्मृति पार्कको उद्घाटन गरिने बताएका छन्।
बाइट...विद्यासुन्दर शाक्य मेयर, काठमाडौं महानगरपालिका

१९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई सोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराएका हुन्।

यसअघि वडा ७ सिफलमा सहिद धर्मभक्त माथेमाको र गएको वर्ष वडा १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको छ। यससँगै महानगरले १९९७ सालमा प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने ४ जनै सहिदको पूर्ण कदको शालिक प्रतिस्थापन गराइसकेको छ।

बैतडीमा जन्मिएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए। रामेछापको भंगेरीमा जन्मिएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए। 

प्रकाशित: १५ माघ २०७६ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App