१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाली सेनाले सैनिकका टुहुरा बालबालिकाहरुलाई निःशुल्क पढाउने

काठमाडौं- नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ।

दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्य अध्ययन गराउने कार्यक्रम अघि बढेको बताए। शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान तथा श्रीमती दुबैको मृत्यु भई टुहुरा भएका बालबालिकाहरुका लागि उक्त अवसर प्रदान गरिने उनले बताए।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रीमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितनातहसम्म यहि वर्षबाट विस्तार गरिएको बताए। नेपाली सेनाले सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ।

बजार मूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ। नेपाली सेनाले लमजुङको बेसिसहरमा स्थापना गरेको नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य छोटो अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरेको थापाले बताए।

नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ। नेपाल इन्भेष्टमेण्ट बैंकसंग सहकार्य गरी सेनाले बढीमा १५ लाखसम्म कर्जा लिन मिल्ने व्यवस्था गरेको हो। भूतपूर्व सैनिक श्रीमती, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।

भूपू सैनिक नन्दबहादुर चन्दले सम्मेलनलाई पुराना सहपाटीहरुसँगको भेटघाट गर्ने थलोका रुपमा लिएका छन्। सैनिक कार्यकारी बोर्डले भूपूहरुलाई सहयोग गरेको र सम्मेलनबाट लघुवित्त देखि औषधि उपचारसम्मको सहयोग प्राप्त भएको उनले बताए। चन्दले नेपाली सेनामा २९ वर्ष सेवा गरेका थिए।

भूपू सैनिकका श्रीमती धनिसरा बारबराईले नयाँ घर बनाउन र व्यवसाय सञ्चालनका लागि ऋण माग्न सम्मेलनमा सहभागी भएको बताइन्। ऋण लिने प्रकृया, कति ब्याजदरमा ऋण पाइन्छ भन्ने आफूलाई कुनै जानकारी नभएको तर छोराहरुले ऋण माग्न भनेपछि सम्मेलनमा आएको उनले बताइन्।

प्रधान सेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट सुरु भएको हो। सम्मेलनका क्रममा स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमण भत्ता, लघुवित्त कार्यक्रमका ऋणिहरुर्लाइ चेक हस्तान्तरण, उत्कृष्ठ व्यवसायिलाई पुरस्कार तथा जेष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको छ।

प्रकाशित: १४ माघ २०७६ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App