२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हराउँंदै भक्तपुरको भजन संस्कृति

भक्तपुरका बाराहीपीठमा भजन गर्दै एक टोली ।

भक्तपुर- कुनैबेला भक्तपुर नगरका सार्वजनिक पाटीहरुमा साँझबिहान जताततै परम्परागत भजन गाउने टोली भेटिन्थे। तर हिजोआज त्यसरी भजन गाइराहेको देख्न मुश्किल पर्न थालेको छ।

कलासंस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी झाले हालै गरेको ‘भक्तपुरका प्रचलित भजनहरु एक अध्ययन प्रतिवेदन (खण्ड क)’मा उल्लेख भए अनुसार कुनैबेला भक्तपुरमा दुई सय भन्दा बढी ठाउँंहरुमा दैनिक बिहान र बेलुकी भजन गाइन्थ्यो। तर अहिले त्यो ५० वटामा खुम्चिएको छ।

प्रतिवदेनमा भक्तपुर नगरका २९ वटा भजन टोलीहरुसँंग कुरा गरी तयार गरिएको उल्लेख छ। नगरका टौमढी, तचपाल, सूर्यमढी, चोंछे व्यासी, बाराहीपीठ, लाक्वलाछें, तालाक्व बोलाछें, त्वचा सूर्यमढी, भेलुखेल, बोलाछें, तेखोचा, महेश्वरीपीठ, सूर्यविनायक लगाएत विभिन्न स्थानहरुमा हाल चालू भजन टोलीहरुसँंग कुराकानी गरिएको उल्लेख छ।

अध्ययनकर्ता डा. केसी यही अवस्था रहिरहने हो भने अबको केही वर्षमा भक्तपुरको भजन संस्कृति इतिहास हुने बताउँंछन्। ‘जेनतेन चलिरहेको यो भजन संस्कृतिलाई अहिले नै विचार गरेर जोगाउन सक्नुपर्छ, उनको जोड छ, त्यसको लागि ठाउँंठाउँंमा भजन संस्कृति सिकाउने बन्दोवस्त मिलाउनुपर्छ।’

यसका गुरुहरु दुईचार जना मात्रै बाँंकी रहेकोले तिनीहरुलाई पारिश्रमिक दिएर परापूर्वकालदेखि चल्दै आएको जीवन्त संस्कृतिलाई जोगाइराख्नुपर्ने उनको जोड छ। पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति नारा दिएर पुराना परम्परागत मठमन्दिर, पाटीपौवा, गुम्वा, पोखरी, नाचगानलगायतका कुराहरुलाई जोगाइराख्न प्रयत्नरत भक्तपुर नगरपालिकाले यसमा विशेष ध्यान जानुपर्ने उनको भनाई छ। साथै पर्यटकहरु भित्राएर यहाँं आम्दानी गरिरहेको पर्यटन व्यवसायीहरुले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको जोड छ।

विभिन्न कारणहरुले परम्परादेखि चल्दै आएको यस्तो संस्कृति लोपोन्मुख रहेको बताइन्छ। जानकारहरुका अनुसार युवाहरुको यसप्रति आकर्षण घट्नु, यसलाई आयसँंग जोडन नसक्नुलगायतले यो संस्कृति लोपोन्मुख हुन पुगेको हो। साथै यसको महत्व युवापुस्तामा प्रस्ष्टाउन नसक्दा पनि यसप्रतिको आकर्षण बढ्न नसकेको बताइन्छ।  

एकजना दतात्रय नवबाजा भजन गुरु पञ्चलाल लाछिमस्यूका अनुसार पहिला भजन चलाउनकै लागि जग्गा हुन्थ्यो। त्यसबाट बाली बुझिन्थ्यो। यही कमाइबाट भजन चलिहरको थियो। तर अहिले ती सबै मासेकाले भजन चलाउन गाह्रो भएको हो।

प्रतिवेदनमा उल्लेख भए अनुसार भजन पनि विभिन्न प्रकारका हुन्छन्। ढल्चा भजन, रास भजन, दाफा भजनलगायतका विविध भजनहरु हुन्छन्। प्रतिवेदनमा उल्लेख भए अनुसार पहिला भजन गर्नकै लागि भजन घरलगायतका धेरै ठाउँं हुन्थे।

अहिले पनि साँंझ बिहान भक्तपुरका चोक, गली, देवघरलगायतका सार्वजनिक ठाउँंहरुमा बुढापाकाहरु मिलेर भजन गाउने जीवन्त चलन यहाँं बाँंकी छन्। तर यो क्रम दिन दुगुना रात चौगुण लोपोन्मुख भइरहेको छ।
 
 

प्रकाशित: ५ माघ २०७६ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App