२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी करिब ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका एक पुरुषको मृत्यु भएको छ।

दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याइएकोमा दिउँसो उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। पछाडि सवार मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया तथा नेपालगञ्ज पठाइएको छ।

शनिबार दिउँसो करिब १:४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी महम्मदपुरबाट प्रहरी सहायक निरीक्षक मोहन चन्दको कमाण्डमा ट्राफिकसहित ९ जनाको टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्दीप बेलबासेको कमाण्डमा थप ७ जनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका दुवै सवारीसाधन चल्न नसक्ने अवस्थामा घटनास्थलमै रहे पनि सडक अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २८ कार्तिक २०८३ १६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App