धादिङ- भूकम्पले घर ढले। अनुदानको तीनै किस्ता लिएर दुई कोठे घर निर्माण गरे। तर अनुदानको तीन लाख रुपैयाँले कस्तो घर बनाउने? ढुङगा र माटोले बल्ल ओत छेक्ने घर बनाए तर झ्याल, ढोका हाल्ल सकेनन्। बनाएको घरमा जस्ताको छेकबारले बस्ने बासको जोहो गरेका छन्। बिहान बेलुकाको छाक टार्न कठिन गजुरी गाउँपालिका वडा नम्बर ७ स्यामैडाँडाकी ३८ वर्षीया सीता परियारको परिवार कठिनताका साथ यहि घरमा दिनचर्या गुजारिरहेका छन्।
सीता सुगर, यूरिक एसिड, थाईराईड जस्ता रोगले थलिएकी छिन्। सामान्य हिड्डुल गर्न मात्र सक्छिन्। १० वर्ष अघिदेखि शरीर विस्तारै कमजोर हुँदै गएपछि उनी थला पर्न थालिन्। धामीझाँक्री लगाए तर निको भएन। सुरुमा गाउँकै स्थानीय स्वास्थ्य संस्थामा पुगिन्, औषधी खाइन् तर रोग निको भएन। उपचार खर्च जोहो गर्न उनलाई हम्मे परेको उनले सुनाइन्। ‘शरीर कमजोर भएका कारण काम गर्न सक्दिन, सक्दो उपचार गरियो तर अहिले खर्च नभएकोले घरमै थलिएर बसेकी छु’, उनले भनिन्, ‘पैसा भएको बेला उपचारका लागि अस्पताल जान्छु नभएको बेला रोग च्यापेर घरमै बस्छु।’
उनका श्रीमान कुमार परियार काठमाडौँको गार्मेन्टमा काम गर्छन्। महिनाभरी काम गरेर कमाएको पैसाले श्रीमतीको उपचार र घरव्यवहारमा खर्च गर्छन्। खेतीकिसान छैन, अन्नपात ६ महिनालाई समेत पुग्दैन। भनेको समयमा बालबच्चालाई खानेकुरा खुवाउन पनि नसकेको पीडा पोख्छिन्। पढ्दै गरेका छोराछोरीलाई कापी कलम पुर्याउन पनि धौँधौँ पर्ने गरेको उनले सुनाइन्।
खर्चको जोहो गर्न १० वर्षअघि काठमाडौमा रहेको एउटा फाइनासबाट ७० हजार रुपैयाँ ऋण लिए। घरजग्गा धितो राखी ऋण लिएको पैसा उपचारमा खर्चिए र घर फर्किए। केही समय बिसेक पनि भयो। अस्पतालले निरन्तर उपचारका लागि आइरहनुपर्ने बताएका थिए। तर निरन्तर उपचारका लागि जान खर्च थिएन। रोग बल्झदै गयो। अहिले घरमै थलिएर बसेकी छन्। फाइनान्सबाट लिएको ७० हजार रुपैयाँ ऋण तिर्न नसकेपछि उनको भएका जग्गाजमिन सबै लिलाम गरिदिएको उनले बताइन्। ‘ऋणले न आफ्नो रोग निको भयो, न घरबारी नै रह्यो’, उनले रुदै भनिन्, ‘गरिबलाई ऋणमाथि ऋणनै ऋण भनेको जस्तै भएको छ, अहिले सुकुम्बासी जस्तै भएको छु।’
घरमा खानेकुरा छैन, जग्गाजमिन लिलामी भयो, बसिरहेको घरपनि कतिबेला छोड्नुपर्ने हो पत्तो छैन। रोगले आजभन्दा भोलि भन्दै च्यापिरहेको छ, उपचार गराउन खर्च छैन। दुई साताअघि उनलाई रोगले च्याप्न थालेपछि काठमाडौँस्थित बीर अस्पतालमा पुगिन्। उपचारका लागि खर्च जुटाउन नसक्दा अस्पतालमा भर्ना भएकी उनी घर फर्कनुपरेको तीतो अनुभव सुनाउँछिन्। ‘उपचारका लागि खर्च छैन, ज्यान मर्नु न बाँच्नुको अवस्थामा छ’, आफ्नो पीडा सुनाउँदै उनले भनिन, ‘गाउँनजिक सरकार छ तर सरकारले मेरो व्यथा देख्दैनन्, सक्दो उपचार गरियो तर खर्च नहुदाँ घरमै थलिनु परेको छ।’
श्रीमतीको उपचारका लागि सक्दो रकम खर्च गरेको सीताका श्रीमान कुमार परियारले बताए। सुरुमा उपचारका लागि गाउँ घरकै अस्पतालमा लगियो तर त्यहाँको औषधिले काम नगरेपछि काठमाडौँको बिभिन्न अस्पतालमा पुगे तर रोग निको बनाउन भने सकेको छैन।
रोगले थलिदै जादा उनी काम गर्न नसक्ने अवस्थामा पुगेकी छन्। श्रीमानको कमाइले कतिदिन पुग्नु? सीता बिलौना गर्दै भन्छिन्, ‘धेरै बोल्न पनि सक्दिन, बेहोस भइहाल्छु, कतिबेला के हुने हो थाहा छैन।’ उपचारका लागि गलामा लगाएको तिलहरीसमेत बेचेका छन् । गाउँ नजिकैको स्कुलमा कक्षा ६ मा पढ्ने छोरी र कक्षा ९ मा पढ्ने छोरा घरको अवस्था देखेर पढाई पनि छाड्ने गरेका छन्।
उनलाई बिहानी परियोजनाले आर्य आर्जनमा सघाउ पुर्याउने उद्देश्यले निःशुल्क रुपमा दुई वटा बाख्रा सहयोग गरेको छ। बाख्रा पालनका लागि धेरै मेहनत पनि गर्न नपर्ने भएपछि केही सहयोग मिल्ने आशा लिएकी छन्। स्कुल बिदा भएको समयमा छोराछोरीले स्याहार गरिदिने उनले बताइन्। गरिवी र रोगले थलिएकी उनी बाँच्ने आशैआशामा बसेकी छन्।
प्रकाशित: १२ पुस २०७६ ०८:३९ शनिबार