१८ असार २०७७ बिहीबार
समाज

समस्यामा आधारित सिकाइमा जोड

काठमाडौं – ‘हामी कलेजमा प्रोजेक्ट वर्क त गर्छौं तर बढी नम्बर ल्याउन मात्रै। समाजमा रहेका समस्या पहिचान, अध्ययन र समाधानबारे न कहिल्यै सिक्यौं न सिकाइयो,’ शुक्रबार उपत्यकामा आयोजित समस्यामा आधारित सिकाइ सेमिनारमा ललितपुरस्थित सगरमाथा इन्जिनियरिङ कलेज इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन चौथो सेमेस्टरकी छात्रा सन्ध्या चौहानले भनिन्, ‘यस्तो प्रोजेक्ट वर्क हामीलाई कहिल्यै काम लाग्दैन। वर्षमा समस्यामा आधारित सिकाइ विधि अपनाएर एउटा मात्र प्रोजेक्ट वर्क ग-यौं भने त्यो जीवनभरिलाई काम लाग्छ।’ उनले २१औं शताब्दीमा पनि नेपालमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी शैक्षिक प्रमाणपत्रमा उच्च अंक प्राप्तिका लागि मात्रै गरेको देख्दा अच्चम लाग्ने गरेको सुनाइन्।

युग व्यावहारिक शिक्षामा आधारित हुँदै गए पनि नेपालका उच्च शिक्षाको पाठ्यक्रम भने व्यावहारिक ज्ञानभन्दा पनि विद्यार्थीले बढी नम्बर कसरी ल्याउनेतर्फ केन्द्रित भएको गुनासो बायोटेक्नोलोजीका विद्यार्थी पृथ्वीजंग थापाले गरे। उनले हालको पाठ्यक्रममा व्यावहारिक ज्ञान दिने विषयवस्तु नसमेटिएकाले विद्यार्थीका हातमा शैक्षिक योग्यताको प्रमाणमपत्र भए पनि बेरोजगार रहनुपरेको बताए। ‘प्रमाणपत्र हातमा भए पनि व्यावहारिक ज्ञान नभएपछि फिल्डमा गरिने काम चुनौतीपूर्ण भइदिन्छ,’ पृथ्वीले सेमिनारमा अनुभव सुनाए, ‘समस्यामा आधारित शिक्षण सिकाइले भने आफूले अध्ययन गरेको विषयमा समाजमै भएको समस्या पहिचान, त्यसको फराकिलो तरिकाले अध्ययन र समाधनको तरिका पत्ता लगाउन सिकाउने रहेछ भन्ने थाहा पाएँ।’

शुक्रबार राजधानीमा आयोजित एक दिने ‘प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा नेपाल, भारत, भुटान, नेदरल्यान्ड्स, लिथुआनिया र फिनल्यान्डका १० वटा विश्वविद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो। नेपालबाट काठमाडौं विश्वविद्यालय, सगरमाथा इन्जिनियरिङ कलेज, नेपाल इन्जिनिरिङ कलेज र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको सहभागिता रहेको सेमिनारमा भारतबाट मुम्बईको आइआइटी, बैंगलोरको आइआइसी, फिनल्यान्डको अल्टो युनिभर्सिटी, नेदरल्यान्डको टियु डेल्ट विश्वविद्यालय, लिथुआनियाको केटियु र भुटानको रोयल विश्वविद्यालयका विज्ञहरूको सहभागिता थियो।

प्रत्येक देशका विश्वविद्यालयका विज्ञहरूले आफ्नो देशको शिक्षण सिकाइ प्रविधिबारे अनुभव आदानप्रदान गर्दा नेपाली विज्ञहरूले समेत नयाँ विषयवस्तुहरूमा ज्ञान हासिल गरेको समगरमाथा इन्जिनियरिङ कलेजका प्रिन्सिपल रमेश श्रेष्ठले बताए। उनले यस्तो किसिमको सेमिनार नेपालमा बर्सेनि हुनुपर्नेसमेत सुझाए। ‘समस्याका आधारित शिक्षण सिकाइलाई नेपाली विश्वविद्यालयका पाठ्यक्रममा कसरी जोड्ने, शिक्षकले समस्यामा आधारित सिकाइ कक्षामा कसरी गराउनेबारे जानकारी प्राप्त भयो,’ उनले नागरिकसँग भने, ‘पाठ्यक्रमसँग समस्यामा आधारित सिकाइ जोड्दा विद्यार्थीले व्यावहारिक ज्ञान पाउँछन्।’ विद्यार्थीले किताबी ज्ञानभन्दा पनि वास्तविक समस्यामा आधारित ‘प्रोजेक्ट वर्क’ गर्दा राज्यलाई समेत सहयोग मिल्ने उनको भनाइ थियो।

शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले सेमिनारले विद्यार्थीलाई प्राज्ञिक प्रशिक्षणको चुनौतीलाई वास्तविकतासँग जोड्न सकिने बताए। उनले विद्यार्थीले समस्यामै आधारित भएर कार्ययोजना सम्पन्न गरे आलोचनात्मक र व्यवस्थित विचार विकास गर्ने र जसबाट उनीहरू स्थलगत कार्यपद्धति बनाउन सक्ने सक्षम हुन्छन्। ‘सेमिनारबाट हाम्रा शिक्षकहरूले समस्यामा आधारित भएर नयाँ पद्धतिबाट शिक्षण सिकाइ कसरी गर्नेबारे जान्ने अवसर पाएँ,’ सहसचिव शर्मा भन्छन्, ‘विद्यार्थी, शिक्षक तथा सरोकारावालाहरूलाई समेत सेमिनारले उच्च शिक्षामा नयाँ अन्न्वेषणबारे सिकाउँछ।’ सेमिनारमा सहभागी सबै देशका विश्वविद्यालयका विज्ञहरूले समस्यामा आधारित शिक्षण सिकाइबारे प्रस्तुति गरेका थिए।

प्रकाशित: १२ पुस २०७६ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App